मोइनको ह्याट्रिकपछि अफ्रिकाले गुमायो तेस्रो टेस्ट


इङ्लिस स्पिनर मोइन अलीले ह्याट्रिक गरेपछि इङ्ल्यान्डले तेस्रो टेस्टमा २ सय ३९ रनले दक्षिण अफ्रिकालाई पराजित गरेको छ।

अलीले ७६ ओभरको पाँचौ बलमा डिन एल्गरलाई क्लिन बोल्ड गरेका थिए। एल्गर १ सय ३६ रन बनाएर उत्कृष्ट खेलिरहेका थिए। यही ओभरको छैटौं बलमा उनले कासिगो रबादालाई खाता खोल्न नदिई पवेलियन फर्किएका थिए। रबादाको क्याच बेन स्टोक्सले लिएका थिए। मोइनले तेस्रो विकेट ७८ ओभरको पहिलो बलमा लिए। उनले मोर्ने मोर्केललाई पनि शुन्यमा एलबिडब्लुको धरापमा पारेका थिए।

तेस्रो टेस्टको जितसँगै इङ्ल्यान्डले शृंखलामा २–१ ले अग्रता लिएको छ। इङ्ल्यान्डले पहिलो इनिङमा बेन स्टोक्सको सतकको सहयोगले ३ सय ५३ रन बनाएको थियो। प्रत्युत्तरमा अफ्रिका १ सय ७५ रनमा अल आउट भयो। इङ्ल्यान्डका डेब्यु बलर रोलान्ड जोन्सले पहिलो इनिङमा ५ विकेट लिएका थिए।

दोस्रो इनिङमा इङ्ल्यान्डले ८ विकेटको क्षतिमा ३ सय १३ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो। दोस्रो इनिङमा अफ्रिका २ सय ५२ रन बनाएर अलआउट भयो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.