जापानले टोकियो ओलम्पिकको मेडल मोबाइल र विजुली उपकरणबाट बनाउने


सन् २०२० को गृस्मकालिन ओलम्पिक जापानको टोकियो शहरमा आयोजना हुँदैछ। ५१ वर्षपछि पुनः टोकियोमा आयोजना हुन लागेको ओलम्पिकलाई अविस्मरणीय बनाउन जापानी सरकार अहिलेदेखि नै व्यस्त छ।

यस ओलम्पिकमा कल्पनाभन्दा बाहिरको प्रयोगलाई अन्तिम रुप दिने प्रयास भइरहेको छ। यसैअन्तर्गत जापानी सरकारले टोकियो ओलम्पिकको मेडल पुरानो मोबाइल फोन र विजुली उपकरणमा पाइने धातुहरुबाट बनाउने घोषणा गरेको छ।

यसका लागि सरकारले आफ्ना जनताहरुलाई पुरानो फोन वा विजुली उपकरणहरु दानमा दिन अपीलसमेत गरिसकेको छ। अहिले जापानको विभिन्न ठाउँ र अफिस अगाडि एउटा बक्सा राखिएको छ, जसमा स्थानीय व्यक्तिले आफ्नो पुरानो मोबाइल र उपकरणहरु दानमा दिन सक्छन्।

यही उपकरणबाट स्वर्ण, रजत र कास्य गरी कूल ५ हजार पदक निमार्ण गर्ने बताइएको छ। जापानी सरकारले यसबाट खर्च कटौती गर्न मद्धत पुग्ने र पर्यावरण सुरक्षामा नयाँ आयाम थपिने दावी गरेको छ।

यसअघि ओलम्पिकको मेडल निमार्ण गर्न खनिजको काम गर्ने कम्पनीहरुबाट धातुको व्यवस्था गर्ने गरिन्थ्यो। जापानको अर्थब्यवस्था अहिले अमेरिका र चीनपछि तेस्रो मानिन्छ। यो देशले १९६४ मा पहिलो पल्ट ओलम्पिक आयोजना गरेको थियो। नेपालले यही अाेलम्पिकमार्फत भाग  लिएकाे  थियाे।

आधा सताब्दीपछि पुनः ओलम्पिक आयोजना गर्न लागेको जापानले कल्पनै नगरेको सुविधा आउँदो ओलम्पिकमा उपलब्ध गराउन लागेको छ।

यसका लागि सरकारले आइटी क्षेत्रलाई सबैभन्दा बढि परिचालन गर्न थालेको छ। ओलम्पिक अवलोकन गर्न आउने विदेशी पाहुनालाई कुनै किसिमको भाषागत समस्या नहोस भनेर सरकारले ठाउँ ठाउँमा भाषा अनुवाद गर्ने रोबट राख्ने तयारी गरेको छ।

यस्तै, हिडडुल गर्न कुनै समस्या नहोस भनेर तुरुन्त ट्याक्सी ड्राइभरहरुलाई बोलाउन मोबाइल एप्सको विकाश गर्दैछ। ओलम्पिक खेल कुनै पनि ठाउँबाट हेर्न सहज होस भनेर शहरभरी ठूलो एलइडी स्क्रिन फिट गर्ने व्यवस्था गरिरहेको छ। बुलेट ट्रेनको २४ घण्टे व्यवस्था, स्मार्ट कार्डबाट सहजरुपमा विश्वस्तरीय सुविधा लिन सक्ने व्यवस्था गर्दैछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.