नेपाली खेल इतिहासमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता मानिएको एसियन युथ तथा जुनियर भारत्तोलन प्रतियोगितामा मंगलबार पहिलोपल्ट भाग लिँदा नेपालगन्जकी सञ्जु चौधरी ‘नर्भस’ देखिन्थिन्।
त्यसका धेरै कारण थिए।
छ महिनाअघि पूर्वाञ्चलमा सातौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा उनी ४८ केजी तौल समूहमा सामेल थिइन्। त्यतिबेला ‘स्न्याच’ मा ५१ केजी तौल उठाएकी सञ्जु कीर्तिमानका लागि ‘क्लिन’ र ‘जर्क’ मा ५४ केजी उठाउने प्रयास गर्दा असफल भएकी थिइन्।
यसले अलि दबिएको आत्मविश्वासका साथ एसियन च्याम्पियनसिपमा ओर्लिएकी सञ्जुको तयारी पनि बलियो थिएन। यो प्रतियोगितामा ३३ देशका सयभन्दा बढी बलिया प्रतियोगी छन्। सञ्जु भने गत जेठमा कक्षा १२ को परीक्षा दिनुपरेकाले करिब एक महिना अभ्यासबाट बाहिरै रहिन्।
यस्तो अवस्थामा आफूभन्दा बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्दा १७ वर्षीया किशोरीको मनोविज्ञानले कसरी काम गर्यो होला?
खेल स्थलमा उनको हाउभाउले नै मनस्थिति बयान गरिरहेको थियो। नेपाली महिला भारत्तोलनमा निकै आशा गरिएकी यी किशोरीको प्रदर्शनलाई लिएर उनका अग्रज तथा गुरुहरू पनि केही चिन्तित देखिन्थे।
सञ्जुले पदक त ल्याइनन्, तर आफ्ना गुरुहरूको विश्वास पनि तोडिनन्।
उज्वेकिस्तान, चीन, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, उत्तर कोरियाजस्ता शक्तिराष्ट्रबीच उनले पदक नजित्नु अस्वाभाविक थिएन। तर, आफ्ना अग्रज देवी चौधरीको पुरानो राष्ट्रिय कीर्तिमान भंग गर्दै ५३ केजी तौल समूहमा कुल १ सय ४० केजीको नयाँ कीर्तिमान कायम गर्नु सञ्जुको निम्ति महत्वपूर्ण फड्को हो।
सातौं राष्ट्रिय खेलकुदमा देवीले १ सय ३८ केजीको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्, जसमा सञ्जु ‘वास आउट’ भएकी थिइन्। मंगलबार उनै देवीको कीर्तिमान तोड्दा सपनाझैं लागेको सञ्जु बताउँछिन्।
‘पहिले ‘वास आउट’ भएर होला, म निकै आत्तिएकी थिएँ। देवी दिदीको कीर्तिमान भंग हुँदा मलाई पत्यार लागिरहेको थिएन,’ सञ्जुले सेतोपाटीसँग भनिन्।
सञ्जुलाई चिन्नेहरू हिजोआज उनको खेल जीवन देखेर लोभिने गरेका छन्। उनी एक वर्षअघिसम्म क्रिकेटमा आफ्नो भाग्य खोजिरहेकी थिइन्। २०६८ सालदेखि महिला क्रिकेटमा नेपालगञ्जबाट प्रतिनिधित्व गर्दै आएकी सञ्जुको खेल देखेर भेरी अञ्चल अस्पताल वरिपरिका सबै छिमेकी उनको परिवारलाई भन्थे, ‘छोरीले क्रिकेटमा केही गर्छे।’
गत वर्ष उनी हङकङमा आयोजना भएको आइसिसी महिला विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा पनि उपस्थित थिइन्। तर, उनको नाम अन्तिम २० को सूचीबाट काटियो। त्यसपछि उनलाई लाग्यो, ‘टिम गेम’ मेरो लागि होइन। अब जे गर्छु, एक्लै गर्छु।
धेरैलाई थाहा नहुन सक्छ, सञ्जु राम्रो ‘स्प्रिन्टर’ पनि हुन्। वास्तवमा उनको खेल जीवन नै दौडबाट सुरु भएको थियो। २०६७ सालमा ७ कक्षा पढ्दादेखि नै उनी दौडिन नेपालगन्जको रंगशाला जान्थिन्। उनी खेलमा संलग्न भएको लामो समय उनकै परिवारलाई समेत थाहा थिएन।
भेरी अञ्चल अस्पतालमा कार्यरत उनको बुवा छोरीको खेल गतिविधिबाट त्यति खुसी थिएनन्। त्यसैले उनले परिवारलाई जानकारी नै नदिई केही समय तालिम लिएकी थिइन्। उनको खेलप्रतिको लगाव र सुधार दुवै देखेपछि स्थानीय एक स्कुलले उनलाई स्कलरसिप दिएको थियो।
त्यसै वर्ष उनले काठमाडौंमा आयोजना भएको राष्ट्रपति रनिङ सिल्डमा भाग लिएकी थिइन्। र, एक सय र दुई सय मिटर दौड तथा लङजम्पमा रजत पदक जित्न सफल भइन्। अर्को वर्ष उनले २ सय मिटरमा स्वर्ण जितिन्। उनले २०७० सालमा एसएलसी परीक्षा नदिँदासम्म लगातार ३ वर्ष एथलेटिक्सतर्फ राष्ट्रपति रनिङ शिल्डमा भाग लिइन्।
उनको फिटनेस र खेलप्रतिको समर्पण देखेपछि नेपालगन्जमा सबै खेलका प्रशिक्षकले आफ्नो खेलतर्फ उनलाई तान्ने प्रयास नगरेका होइनन्। तर, महिला क्रिकेटमा नेरी थापाले कमाएको नामबाट लोभिएकी सञ्जु क्रिकेटतर्फ आकर्षित भइन्।
‘सबैको इन्डिभिजुअल क्षमता हुन्छ। हङकङको छनोटको बेला म फिट पनि थिएँ। राम्रो खेलिरहेकी पनि थिएँ। तर पनि टिमबाट बाहिरिँदा मलाई नमज्जा लागेको थियो,’ क्रिकेटबाट भारत्तोलनको यात्रा सुरु गर्न लाग्दाको आफ्नो अनुभव सुनाउँदै सञ्जुले भनिन्, ‘मलाई लाग्यो, टिम गेमका लागि म फिट छुइन। जे गर्छु, एक्लै गर्छु।’
घरमा बुवाको समर्थन आज पनि त्यति छैन। तर, आमा आफ्नो छोरीको निर्णयमा चट्टानझैं अडिग भएर उभिन्छिन्। छोरीको विषयमा कुरा लगाउन आउनेहरूलाई आमाको उत्तर नै हुने गर्छ, ‘सञ्जु मेरो छोरी होइन, छोरा हो।’
सञ्जुलाई पुरुषहरूको खेल भनेर चिनिने भारत्तोलनजस्तो अत्यधिक परिश्रम लाग्ने खेल खेल्न सजिलो भएको कारण पनि यही हो।
क्रिकेटमा निराश भएपछि सञ्जु फेरि दौडमा फर्किन नेपालगन्ज रंगशाला पुगेकी थिइन्। त्यहाँ उनको प्रतिभाबाट पहिलेदेखि प्रभावित भारत्तोलन गुरु सकिल अहमदले प्रेरित गरेछन्, ‘कुनै पनि खेल खेल्न फिटनेस चाहिन्छ। तिम्रो फिटनेस गजब छ। तिमीमा असाधारण प्रतिभा लुकेको छ। किन भारत्तोलन सुरु गर्दिनौ?’
सकिल गुरुकै आग्रहपछि उनी गत वर्ष भारत्तोलनमा प्रवेश गरिन्। त्यसको केही महिनापछि नै काठमाडौंमा आयोजना भएको ग्रान्ड प्रिक्स प्रतियोगिताअन्तर्गत ५३ केजी तौलमा स्न्याचतर्फ ४५, क्लिन र जर्कमा ५५ केजी तौल उठाउँदै सबैलाई आश्चर्यमा पारिन्। उनी अनुभवी खेलाडी देवी चौधरीपछि आफ्नो समूहमा दोस्रो भइन्।
भारत्तोलनमा प्रवेश गरेको छोटो समयमै उनले हासिल गरेको उपलब्धिप्रति पूर्व मुख्य प्रशिक्षक पार्थसारथी सेन गुप्ता पनि हौसिएका छन्। भन्छन्, ‘उनले राम्रो अवसर पाइन् भने अन्तर्राष्ट्रियस्तरमा पदक जित्न सक्छिन्।’ सीमित श्रोत र साधन तथा अपुरो तयारीका बीच पनि उनले यस प्रतियोगितामा ३० केजी तौल बढी उठाएकी थिइन्।
आफ्नै देशमा आयोजना भएको एसियन युथ तथा जुनियर भारत्तोलन च्याम्पियनसिपमा ३३ देशका बलिया प्रतिस्पर्धीसँग नजिकै बस्ने अवसर पाएपछि सञ्जुको आत्मविश्वास फेरि चुलिएको छ। पदक जित्ने कुरा भने धेरै परिस्थितिले निर्धारण गर्ने उनी बताउँछिन्।
‘नेपालमा अन्तर्राष्ट्रिय पदक भित्र्याउन मैले अझै धेरै मेहनत गर्न बाँकी छ,’ उनी भन्छिन्, ‘यसका लागि मलाई नियमित अभ्यास र सबैको सहयोग तथा सद्भाव जरुरी छ।’