१३ औं सागमा पोखरामा पाँच खेल हुने


नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग)का पाँच खेल पोखरामा हुने भएको छ। १३ औं साग तयारीमा पोखरा आएको पूर्वाधार निर्माण समितिले पोखरामा पाँच खेल हुने जानकारी दिएको हो।

१३ औं साग खेलकुद पुर्वाधार निर्माण समितिका सचिव रिम बहादुर रानाभाटले पोखरामा प्रस्ताव गरिएका पाँच खेलहरुमा भलिवल, ह्याण्डवल, महिला फुटबल, आर्चरी र ट्रायथोलन खेलहरु प्रस्तावित गरिएको बताए।

उनले प्रस्ताव गरिएका खेलहरू पोखराका लागि उपयुक्त रहेको र पुर्वाधारका हिसावले समेत आयोजना सक्षम रहेको बताएका थिए।

कास्कीका विभिन्न खेल पदाधिकारीसँगको अन्तक्रियामा स्थानीय पदाधिकारीले भने अझै पनि काठमाडौंको केन्द्रीत मानसिकता हावी रहेको भन्दै असुन्तुष्टी पोखेका थिए। उनीहरुले पोखरामा १३ औं सागको उद्घाटन वा समापन कार्यक्रममध्ये एक आयोजना गर्नुपर्नेमा जोड दिँदै पोखरामा कम्तिमा पनि १० खेल आयोजना गर्न सकिने बताएका थिए।

नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम् नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरूङ्गले पोखरामा जनस्तरबाटै खेलप्रतीको चासो रहेको र प्रस्तावित पाँच खेलमा अझै थप्न आग्रह गरे। उनले पोखरा १३ औं सागका लागि सक्षम र उपयुक्त थलोसमेत रहेको बताउँदै टिम गेम बाहेक अन्य खेल समेत समावेश गर्न आग्रह गरे।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरूङले पोखराले कुनै पनि खेल सञ्चालन र समापन गर्न सक्ने भनाई राख्दै यथासिघ्र पुर्वाधार निर्माण सुरु गर्न आग्रह गरे। ‘अब पनि पुर्वाधार निर्माण गर्न ढिलाई गर्ने हो भने प्रतियोगिता सञ्चालनमा बाधा पुग्न सक्छ र फेरि पनि त्यही बहानामा सवै खेल राजधानी केन्द्रित हुन सक्छन,’ उनले भने।

सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरूङ, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुली, पश्चिमाञ्चल प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले पोखरामा धेरै भन्दा धेरै खेलहरु आयोजना गर्न सुझाएका थिए।

१३ औं सागको तयारीका लागि पोखरा आएको टोलीले पोखरामा निर्माणाधिन पूर्वाधारहरुको निरीक्षणसमेत गरेको थियो ।

१३ औं दक्षिण एशियाली खेलकुदमा नेपालमा २५ खेलका लागि प्रस्तावित गरिएको छ र सन् २०१९ मार्च ९ देखि १८ सम्म हुँदैछ। नेपालमा पहिलो दक्षिण एशियाली खेलकुद १९८४ मा भएको थियो। नेपालका लागि भने १३ औं साग आयोजनाका हिसाबले तेस्रो हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.