विराटको कप्तानीमा भारतलाई वेष्ट इन्डिजमा पहिलो एकदिवसीय शृंखला

विराटको कप्तानीमा भारतलाई वेष्ट इन्डिजमा पहिलो एकदिवसीय शृंखला


विराट कोहलीको कप्तानीमा भारतले वेष्ट इन्डिजमा पहिलो एकदिवसीय शृंखला जितेको छ। विहिबार राती जमैकामा भएको पाँचौ तथा अन्तिम एकदिवसीय ८ विकेटले जितेपछि भारतले ३–१ ले शृंखला कब्जा गरेको हो।

भारतले वेष्ट इन्डिजमा चौथो पल्ट एकदिवसीय शृंखला जितेको हो। भारतले वेष्ट इन्डिजमा हालसम्म ८ वटा एकदिवसीय शृंखला खेलेको छ। यसअघि सौरव गांगुलीको कप्तानीमा २००२, महेन्द्रसिंह धोनीको कप्तानीमा २००९ र सुरेश रैनाको कप्तानीमा २०११ मा शृंखलामा कब्जा जमाएको थियो। सन् २००० सम्म भारतले कुनै पनि शृंखला वेष्ट इन्डिजमा जित्न सकेको थिएन।

विराटको नेतृत्वमा रहेको भारतीय टिमले यसपालि वेष्ट इन्डिजलाई उसैको घरमा सबै खेलमा हराएर ‘क्लिन स्विप’ गर्ने आशा गरिएको थियो। तर, वेष्ट इन्डिजले त्यो स्थिति आउन दिएन।

भिभियन रिचर्डसको कप्तानीमा १९८९ मा वेष्ट इन्डिज भ्रमण गरेको भारतीय टिमले ५–० ले शृंखला गुमाउनु परेको थियो। यी दुई देशबीच यही एक मात्र क्लिन स्विप भएको शृंखला थियो। त्यतिबेला पराजित भारतीय टिमको कप्तान दिलिप वेङ्सरकर थिए।

पाँचौ एकदिवसीयमा मोहम्मद सामीको ४ विकेट र कप्तान विराटको अविजित १ सय ११ रनको कारण भारत सहजै विजयी भयो। वेष्ट इन्डिजले पहिलो ब्याटिङ गर्ने क्रममा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो।

प्रत्युत्तरमा भारतले ३६ दशमलव ५ ओभरमा २ विकेट गमाउँदै सहजै लक्ष्य भेटायो। भारतको जितमा दिनेश कार्तिकले अविजित ५० रन बनाए। विराट र कार्तिक मिलेर तेस्रो विकेटका लागि अविजित १ सय २२ रनको साझेदारी गरेका थिए। विराटको २८ औं एकदिवसीय सतक थियो।

अजिङ्क रहाणेले ३९ रन बनाए। रहाणेले ५ रनमा खेल्दा एउटा जीवनदान पाएका थिए। उनको क्याच कभर प्वाइन्टमा देवेन्द्र बिसुले छोडेका थिए। उनले विराटसँग मिलेर दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्न योगदान गरे। शिखर धवन ४ रनमै आउट भए।

यसअघि सामीले ४, उमेश यादवले ३, हार्दिक पाण्ड्या र केदार जाधवले १–१ विकेट लिएका थिए। वेष्ट इन्डिजका होप दाजुभाई साईले ५१ र काइल ४६ तथा कप्तान जेसन होल्डरले ३६ रन बनाएपछि घरेलु टोलीले २ सय रनको योगफल कटाएको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.