विराट कोहलीले पछाडि छोडे सचिनको कीर्तिमानलाई


भारतीय कप्तान विराट कोहलीले पूर्व स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरको लक्ष्य पछ्याउने क्रममा बनाएको सतकको कीर्तिमानलाई भंग गरेका छन्।

विहिबार राती वेष्ट इन्डिजको सबिनापार्कमा भएको पाँचौ तथा अन्तिम एकदिवसीयमा कोहलीले १ सय १५ बलमा अविजित १ सय ११ रनको सतकीय इनिङ खेलेका थिए।

वेष्ट इन्डिजले पहिलो ब्याटिङ गर्ने क्रममा ९ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो। प्रत्युत्तरमा भारत ३६ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै ८ विकेटले विजयी भयो।

कोहलीले लक्ष्य पछ्याउँदै १८ औं सतक पुरा गरेका हुन्। यसअघि सचिन र उनको नाममा लक्ष्य पछ्याउँदै बराबरी १७ एकदिवसीय सतक बनाउने कीर्तिमान थियो।

कोहलीले १ सय २ इनिङमा १८ सतक बनाएका हुन्। सचिनलाई १७ सतक पुरा गर्न २ सय ३२ इनिङ कुर्नु परेको थियो। यो कीर्तिमानमा श्रीलंकाका तिलकरत्ने दिलशान तेस्रो नम्बरमा पर्छन। उनले १ सय १६ इनिङमा ११ सतक बनाएका थिए।

विराटले एकदिवसीय क्रिकेटमा २८ सतक पनि पुरा गरेका छन्। उनी क्यारेबियाली भ्रमणमा वेष्ट इन्डिजविरुद्ध दुईवटा सतक बनाउने पहिलो भारतीय कप्तान पनि बन्न पुगेका छन्। यसअघि कप्तानको भूमिकामा राहुल द्रविडले एउटा सतक बनाएका थिए। विराटको वेष्ट इन्डिजविरुद्ध चौथो सतक थियो। उनले १२ चौका र २ छक्का प्रहार गरेका थिए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.