सेनाका जागिरे फखर जमान कसरी क्रिकेटमा रातरात उदाए?

सेनाका जागिरे फखर जमान कसरी क्रिकेटमा रातरात उदाए?


च्याम्पियन्स ट्रफीको फाइनलमा भारतजस्तो बलियो टोलीविरुद्ध चौथो एकदिवसीयमै १ सय ६ बलमा १ सय १४ रनको अविस्मरणीय ब्याटिङ गरेका फखर जमान रातरात हिरो बन्न पुगेका छन्।

उनको ब्याटिङको यतिबेला चौतर्फी प्रसंसा भइरहेको छ। जमान पाकिस्तानको खैबर पख्तुनख्वाहको मरदान शहरमा जन्मिएका थिए। भारतविरुद्धको खेल अगाडि उनले च्याम्पियन्स ट्रफीको अघिल्लो खेलमा ३१, ५० र ५७ रन बनाएका थिए।

समूह ‘बी’ को पहिलो खेलमा उनलाई पाकिस्तानले अतिरिक्त खेलाडीको रुपमा मैदान बाहिर राखेको थियो। त्यो खेल पाकिस्तानले भारतसँगै खेलेको थियो। उनको अनुपस्थितिमा पाकिस्तान १ सय २४ रनको ठूलो अन्तरले पराजित भयो। त्यतिबेला पाकिस्तानका कुनै ब्याट्सम्यानले प्रभावशाली ब्याटिङ गर्न सकेनन्। त्यसैले कप्तान सरफराज अहमदले दक्षिण अफ्रिकाविरुद्ध दोस्रो खेलमा अहमद शहजादको स्थानमा उनलाई टिममा स्थान दिए।

जमानले मौकाको फाइदा उठाउँदै दक्षिण अफ्रिकाविरुद्ध ‘डेब्यु’ मै २३ बलमा ३१ रन बनाए। यसपछि उनले श्रीलंकाविरुद्ध ३६ बलमा ५० रन बनाउँदै आफ्नो बिस्फोटक शैली प्रस्तुत गरे। सेमिफाइनलमा उनले इङ्ल्यान्डविरुद्ध संयमता देखाउँदै ५८ बलमा ५७ रन बनाए।

उनको आगमनसँगै पाकिस्तानी टोलीको खेलमा निकै ठूलो परिवर्तन देखियो। जसको नतिजा पहिलो खेलमा पराजय भोगेको पाकिस्तानले सबै खेल जितेर च्याम्पियन्स ट्रफीको उपाधि उचाल्यो।

२७ वर्षीय देब्रे हाते ब्याट्सम्यान जमानले यसअघि पाकिस्तानको टि–२० टिममा सहभागी भएर ३ खेल खेलिसकेका थिए। तर, उनको प्रदर्शन खासै राम्रो थिएन्। उनले ३ खेलमा २६ रन मात्र बनाएका छन्।

३५ प्रथम श्रेण क्रिकेटमा भने उनले ५ सतक र १३ अर्धसतकको सहयोगले २ हजार २ सय ६९ रन बनाएका छन्। उनको खेलमा सबैभन्दा ठूलो परिवर्तन यस वर्षदेखि पाकिस्तानमा सुरु भएको पाकिस्तान सुपर लिग (पिएसएल) मा देखियो। उनी लाहोर क्वालेन्डर्सबाट खेल्ने गर्छन्। यो टोलीबाट न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डन म्याकुलम र इङ्ल्यान्डका जासोन रोय खेल्छन्।

राजनीतिक कारणले गर्दा इन्डियन प्रिमियर लिग (आइपिएल) मा सबै देशका खेलाडी समावेश भए पनि पाकिस्तानी खेलाडी समावेश छैनन्।

त्यसैले पाकिस्तानले पनि यसै वर्षदेखि पिएसएलको सुरुवात गर्यो। जसको सबैभन्दा ठूलो फाइदा फाखर जमानलाई भयो। उनी लाहोर क्वालेन्डर्समा म्याकुलम र जासोन रोयको प्रारम्भिक जोडीपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न उत्रिन्थे। उनको ब्याटिङ शैलीबाट म्याकुलम सबैभन्दा बढि प्रभावित थिए।

जमान भन्छन्, ‘टिम छनोटको बेला मेरो ब्याटिङ देखेपछि म्याकुलमले भनेका थिएँ, यही शैलीमा खेल्छस भने सबै खेल खेलाउँछु।’

म्याकुलम लाहोरका टिम कप्तान हुन्। उनीबाट आफूले क्रिकेटको थुप्रै कुरा सिक्न पाएको जमानको भनाइ छ। ‘उनको सुझाव च्याम्पियन्स ट्रफीमा मलाई धेरै काम लाग्यो।’

लाहोर यो वर्ष पिएसएलको पुछारमा रहयो तर फखरले आफ्नो टिमका लागि १ सय ३८ को स्ट्राइकर रेटले सर्वाधिक १ सय ७७ रन बनाएका थिए।

फखर क्रिकेट खेल्नु पूर्व पाकिस्तानी सेनामा जागिरे थिए। उनी १६ वर्षको उमेरमा कराचीमा पाकिस्तानी नेवीमा भर्ना भएका थिए। तर, एक वर्षपछि नै क्रिकेटका कारण उनले सेनाको जागिर छोडे। नेवीकै क्रिकेट एकेडेमीका प्रशिक्षक उनको खेल्ने शैलीबाट प्रभावित थिए। त्यसैले उनले नै फखरलाई आजम खानसँग भेटाउन लगेका थिए। आजम पाकिस्तानमा युवा प्रतिभालाई तिखार्ने काम गर्छन्।

आजमको रेखदेखमा फखरको खेलमा थुप्रै सुधार आएको थियो। पछि उनी युथ–१९, युथ–२१ र युथ–२३ हुँदै च्याम्पियन्स ट्रफीका लागि छानिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.