पोखरा स्पोर्टस् अवार्डमा क्रिकेटको वर्चश्व, फुटबलबाट मनोनयनमा परेनन्


नेपाल खेलकूद पत्रकार मञ्च कास्कीको आयोजना तेस्रो ‘टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड’मा क्रिकेटका खेलाडीको वर्चश्व देखिएको छ ।

जेठ १८ गते प्रदान गरिने अवार्डमा क्रिकेटबाट दुई खेलाडी, १ प्रशिक्षक र १ क्रिकेट संघका पूर्वअध्यक्ष पर्दा फुटबलमा भने एक जना पनि पर्न सकेनन्।

खेलकूद पत्रकार मञ्च कास्कीले मंगलबार पत्रकार सम्मेलन गरी मनोनयमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरेको हो । मञ्चले लाइफटाइम अचिभमेण्ट अवार्डबाट वीरेन्द्रसिंह गुरुङलाई सम्मान गर्ने  खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए ।

लाइफटाइम अचिभमेन्ट अवार्डका लागि ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने उनले जानकारी दिए ।

वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ कमलबहादुर भण्डारी (शारीरिक सुगठन), करण केसी (क्रिकेट) र तिलकबहादुर पुन मगर (आर्चरी), वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ बिमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोनयनमा परेका छन् ।

उनी मध्येबाट एक/एक जना उत्कृष्टले वर्ष खेलाडी पुरुषलाई टिभिएस अपाचे मोटरसाइकल, ट्रफी र दोसल्ला तथा वर्ष खेलाडी महिलालाई टिभिएस विगो स्कुटर, ट्रफी र दोसल्ला प्रदान गरिने छ ।

त्यसैगरी, वर्ष उत्कृष्ट उदयमान खेलाडीमा विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर (कबड्डी) र मेगबहादुर सेन (क्रिकेट), वर्ष उत्कृष्ट प्रशिक्षकमा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् ।

मनोनितमध्येबाट प्रत्येक विधामा एक/एक जनाले नगद १५ हजार, ट्रफी र दोसल्लाले सम्मान गरिने अध्यक्ष पाठकले बताए। त्यसैगरी, वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला ब्याडमिन्टन संघलाई नगद १० हजार र ट्रफी सहित सम्मान गर्ने उनले बताए ।

त्यसैगरी, यस वर्षदेखि मञ्चले कास्कीमा रहेर कम्तीमा पाँच वर्ष निरन्तर खेलकूदलाई पर्यटनसँग जोड्दै समाचार लेख्ने पत्रकारमध्ये एक जनालाई नगद १५ हजारसहित सम्मान गर्ने उनले बताए ।

सम्मान वितरण कार्यक्रमका लागि मञ्चका उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । मनोनयनमा पर्ने खेलाडी कास्कीमा जन्म तथा कर्मथलो बनाएर जिल्ला, क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक खेलाडी रहेको बरालले बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.