भारोत्तोलनको ४८ केजी तौलमा संगिता राईको राष्ट्रिय किर्तिमान (भिडियोसहित) 


पोखरामा ३५ वर्षपछि आयोजित राखेप च्याम्पियन राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीकी संगिता राईले ४८ केजी तौलमा राष्ट्रिय किर्तिमान कायम गरेकी छिन्।

क्लिन एण्ड जर्कमा राईले ६६ केजी तौल उठाउँदै १२ वर्षअघि वीरगंजमा निता थापाले राखेको राष्ट्रिय रेकर्डलाई तोडेकी हुन्। तर, उनी स्न्याचमा राष्ट्रिय रेकर्ड कायम गर्न भने असफल भइन् । यद्यपी उनले स्न्याच, क्लिन एण्ड जर्कमा ११८ केजी तौल उठाउँदै थापाको रेकर्ड बराबरी गरिन् ।

नेपाल आर्मीकी मनिषा रानाभाटले ६४ केजी तौल उठाएपछि राईलाई ६६ केजी तौल उठाउने चुनौती थपियो। रानाभाटले रेकर्डको लागि ६६ केजी उठाउने प्रयास गरिन्। तर, असफल भइन्। उनी असफल भएपछि रेकर्ड कायम गर्ने अवसर राईलाई जुरेको थियो। राईले ६६ केजी उठाउँदै राष्ट्रिय रेकर्ड कायम गर्दै स्वर्ण पदक जितिन्।

गत वर्ष सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत र ओलिम्पिक डेमा आयोजित प्रतियोगितामा समेत रजत पदक जितेकी राईले तेस्रो प्रयासमा नयाँ राष्ट्रिय रेकर्डसहित स्वर्ण पदक जितिन्। उदयपुर घर भएकी राई नेपाल प्रवेश गरेपछि भारोत्तोलनको प्रशिक्षणमा थिइन्। ४ वर्षको नियमित प्रशिक्षणपछि स्वर्णसहित रेकर्ड राख्न सकेकोमा खुशी व्यक्त गरिन्।

उनले भनिन,‘प्रहरीमा प्रवेश गरेपछि नियमित प्रशिक्षण गर्न पाएँ। त्यसैको प्रतिफल हो यो।’ क्लिन एण्ड जर्कमा मात्रै नभई राईले स्न्याचमा पनि स्वर्ण जितिन्। उनले ५२ केजी तौल उठाइन्। स्न्याचमा पनि रेकर्ड बराबर गर्न केबल एक केजी तौल कम उठाइन्।

यसैगरी प्रतियोगिता अन्तर्गत करिना चौधरीले ३५ केजी तौल र क्लिन एण्ड जर्कतर्फ ५१ केजी तौल उठाउँदै समग्र ८६ केजी उठाएर कास्य पदकमा चित्त बुझाइन्। प्रतियोगितामा २८ जिल्ला, तीन विभागीयका विभिन्न तौलमा महिला तथा पुरुष गरी १८२ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.