अस्ताउँदो सूर्यलाई अर्घ दिएर बिहीबार देशभरि छठ पर्व मनाइँदै छ। विशेषगरी तराई भागमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ।
विराटनगरमा भने यसपालि छठ मनाउनेका भीडमा मेयर भीम पराजुलीले सबैको ध्यान ताने।
उनले छठको विशेष पूजा मात्र गरेनन्, अस्ताउँदो सूर्यलाई अर्घ दिन डेढ किलोमिटर टाढासम्म घस्रेर पुगे। यो पूजाका लागि मेयर पराजुली बुधबारैदेखि पानीधरि नपिई निराहार व्रत बसेका थिए।
उनले बिहीबार दिउँसो १ बजे विराटनगर–३ स्थित आफ्नो घर नजिकैको शिव पञ्चायत मन्दिरबाट घस्रिन सुरु गरेका थिए। साँझ करिब साढे ४ बजेतिर दण्डप्रणाम गर्दै डेढ किलोमिटर दुरी पार गरेर सिंघिया खोलाको किनार पुगे।
पराजुलीले १४ वर्षदेखि हरेक छठमा यसरी नै घस्रेर सूर्यलाई अर्घ दिने गरेका छन्। यसपालि भने निर्वाचित मेयरका हैसियतले उनको पूजामा सबैले चासो देखाए। उनी सडकमा घस्रिन थालेपछि विराटनगरवासीको भीड लागेको थियो। उनी आफैं पनि महानगरवासीको सुख र समृद्धिका लागि व्रत बसेको बताउँछन्।
‘पहिला परिवारका सदस्यको सुख र सुस्वास्थ्यका लागि छठमा पूजा गर्थें,’ पराजुलीले सेतोपाटीसँग भने, ‘पोहोर सलामी दिएपछि मेरो व्रत सकिएको थियो, यसपालि मेयर बनेकाले विराटनगरवासीको सुख र समृद्धिका लागि भगवानसँग कामना गरौं भनेर व्रत लिएको हुँ।’
आफूले गरेका भाकल पूरा भएमा छठको दिन यसरी घस्रेर हिँड्ने चलन छ।
आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभि दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने छन्।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावका प्रतीक यो पर्व मनाइन्छ।
यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ।
यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ।
यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ।
छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।
ऋगवेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ।
तस्बिरहरू: फेसबुकबाट साभार