राजधानीको पर्यटन क्षेत्र ठमेल आइतबारबाट सवारीमुक्त भएको छ।
पानी, एम्बुलेन्स, दमकल, पर्यटन, सुरक्षा लगायत अत्यावश्यक सवारीबाहेक अन्यले ठमेलको मुख्य क्षेत्र छिर्न निषेध गरिएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
अत्यावश्यक सवारीले पनि त्रिदेवी मार्गबाट मात्र प्रवेश पाउनेछन्। ठूला सवारीलाई त प्रवेश निषेधै गरिएको छ। निषेधित स्थानको क्षेत्रफल एक वर्गकिलोमिटर हुन आउँछ।
काठमाडौं महानगरपालिका, ट्राफिक महाशाखा, स्थानीयवासी र पर्यटन व्यवसायीको आपसी समझदारीमा ठमेल क्षेत्रलाई व्यवस्थित पैदलमार्ग बनाउने गरी सवारीमुक्त गरिएको ट्राफिक महाशाखा प्रवक्ता उमेश रञ्जितकारले बताए।
यो पनि हेर्नुहोस्:
‘आज बिहान १२ बजेदेखि ठमेल सवारीमुक्त भएको छ,’ उनले आइतबार सेतोपाटीसँग भने, ‘हामीले घोषणा गरेअनुसारका क्षेत्रमा आजदेखि सवारी प्रवेश निषेध गर्नेछौं। केही दिनसम्म निषेधित क्षेत्र प्रवेश गर्न खोज्ने सवारीलाई सम्झाइबुझाई फर्काउनेछौं। पछि कारबाही हुनेछ।’
उनका अनुसार अब त्रिदेवी मार्गबाट मात्र ठमेल प्रवेश गर्न पाइने छ। ज्याठा र त्रिदेवी सडकखण्डलाई दुईतर्फी सञ्चालन गरिएको छ। क्षेत्रपाटीबाट जेपी मोड, ठँहिटी र ठमेल सडकमा दुईपांग्रे सवारी मात्र दुईतर्फी सञ्चालन गरिने भएको छ।
ठमेलबाट बाहिर जाने सवारी सातघुम्ती, पकनाजोल–सोह्रखुट्टे ओरालो, क्षत्रपाटी, भगवतीबहाल, अमृतमार्ग, ठँहिटीबाट दाहिने जान पाउने छन्।
‘ठमेल क्षेत्रभित्र कुनै पनि गाडीलाई सडकमा पार्किङ गर्न दिइने छैन,’ प्रवक्ता रञ्जितकारले भने, ‘सवारी आवागमन प्रभावकारी बनाउन ट्राफिक संकेत व्यवस्थापन गरिनेछ।’
स्थानीय बासिन्दाका सवारी साधनलाई भने पासको व्यवस्था गरिने भएको छ।