बालाजुस्थित थकाली सेवा समाजको आँगनमा बिहीबार बिहान केही मानिस बाँसको चोया बाँधिरहेका थिए। कोही चिया पिइरहेका थिए। भीड ठूलै थियो तर अनुहार कसैको उज्यालो थिएन।
सेवा समाजकै एक हलमा थिइन्, ८० वर्षीया शरणकुमारी गौचन।
दुःखसुखमा काम लाग्छ भनेर देश-विदेशका थकाली समुदायले बालाजुमा खान बस्न सुविधा भएको समाजको कार्यालय बनाएका छन्। समुदायभित्रका कसैलाई केही पर्दा उनीहरुको भेला हुने ठाउँ यही हो।
शरणकुमारी पनि चार दिनअघि आफूमाथि परेको बज्रपातको गहिरो घाउ बोकेर समाजको हलमा आइपुगेकी हुन्। छोरा गुमाउनु पर्दाको पीडाले उनका आँखा स्तब्ध छन्। र, सँगसँगै मिसिएको छ अन्यौल पनि।
सोमबार दिउँसो १ बजेतिर उनी खाना खाइवरि शान्तिनगरको घरमै बसिरहेकी थिइन्। केही बेरमा घरको तल्लो तलामा रहेको अफिसबाट उनका जेठा छोरा शरदकुमार आए र भने, 'मुवा, मलाई खाना पस्किदिनुस्।'
शरणकुमारीले छोरालाई खाना राखिदिइन् र एकछिन छेउमै बसिन्।
[caption id="attachment_95743" align="alignnone" width="1200"]
गौचनकी आमा शरणकुमारी।[/caption]
साढे २ बजेतिर शरद निर्माण व्यवसायी महासंघको कार्यालय जान भनेर गाडी चढे। हिँड्ने बेला आमा, श्रीमती आशा र अष्ट्रेलियाबाट दसैं-तिहार मान्न आएकी छोरी सृष्टिलाई भनेका थिए, 'साँझ छिट्टै फर्किन्छु है।'
सधैं त्यही बेला महासंघको कार्यालय जाने शरदका परिवारले त्यो दिन पनि उनको अनुहारमा न कुनै तनाव देखेका थिए न त कुनै शंका।
‘एकैछिनपछि स्टाफले फोन गरेर तपाईं जतिसक्दो छिटो सिभिल अस्पताल आउनुस् भन्यो,’ शरदकी श्रीमती आशाले सेतोपाटीसँग भनिन्, ‘मेरो मनमा चिसो पस्यो। गाडी एक्सिडेन्ट भयो कि भन्ने सोचेर उहाँलाई नै फोन गरेँ। अँह, लागेन। आमालाई पनि नभनीकन छोरी र म अस्पताल दौडियौं। बाटोमा मानिसहरू गोली चल्यो भन्दै थिए।’
आमाछोरी बानेश्वरस्थित निजामती अस्पताल पुग्दा पेटमा लागेको दुई राउन्ड गोलीको पीडा सहन नसकी शरदले अन्तिम सास फेरिसकेका थिए।
शरदको हत्यापछि आफन्त र निर्माण व्यवसायी महासंघले हत्यारा नपक्रेसम्म शव बुझ्न मानेन। शरदको शव अस्पतालमै छाडेर उनका आमा, श्रीमती र छोराछोरी थकाली समाजको कार्यालयमा आए।
घटना भएको चार दिन बित्दा पनि शरद हत्या रहस्यको यस्तो भुमरीमा फसेको छ, प्रहरीले न कसैलाई पक्रन सकेको छ न त परिवारले कसैमाथि शंका गरेका छन्।
‘म प्रायः बिहान उहाँसँगै हुन्थेँ। त्यो दिन पनि हामी सँगै थियौं। उहाँले आफूलाई कसैले धम्क्याएको छ वा चन्दा मागेको छ भनेर कहिल्यै भन्नुभएन। फोनमा पनि त्यस्तो कुरा गरेको मैले सुनिनँ,’ आशाले भनिन्, ‘एकाएक कसले किन यस्तो गर्यो, अचम्म लागेको छ।’
[caption id="attachment_95742" align="alignnone" width="1200"]
गौचनकी पत्नी आशा।[/caption]
उनलाई पीर मान्ली भनेर श्रीमानले धम्कीका बारेमा भनेनन् कि भन्ने शंका छ। कुनै डन वा गुन्डासँग लेनदेन गरेको पनि आफूले थाहा नपाएको आशाले बताइन्।
छोरी सृष्टिलाई लाग्छ– उनका बुवाको हत्या कुनै डनसँग लेनदेन नमिलेरभन्दा उनको प्रगति सहन नसक्ने ‘शत्रु’ले गरेका हुन्।
‘बुवाको प्रगति देखेर जल्नेहरुले उहाँ रहेसम्म आफू त्यो स्थानमा पुग्न सक्दिनँ भन्ने सोचेर गोली हानेको हो,’ सृष्टिले भनिन्।
डाँफे कन्स्ट्रक्सनका मालिक शरद निर्माण व्यवसायमा लागेको साढे २ दशक भएको थियो। तीन वर्षयता उनी नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष भएका थिए।
शरदका काका ओमकार गौचनका अनुसार उनीहरूको परिवार मुस्ताङको थाक्टुक्चेबाट बसाइ सरेर पोखरा आएको हो। खेतीपातीका लागि गौचन परिवारले कपिलवस्तुको तौलिहवामा जग्गा किनेको थियो। शरद पनि विद्यालय तौलिहवामै पढे।
पढाइमा अब्बल उनी एसएलसी पास भएपछि नाम निकालेर पुल्चोक इन्जिनियरिङ क्याम्पस भर्ना भए। सिभिल इन्जिनियरिङमा आइई गरेपछि शरदले सिँचाइ मन्त्रालयको फेवाताल जलाधार परियोजनामा जागिर गरे।
‘दुई वर्षजति सरकारी काम गरेपछि उसले आफ्नै डाँफे कन्स्ट्रक्सन खोल्यो,’ भैरहवा उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका ओमकारले भने, ‘पहिला ऊ सी ग्रेडको थियो, पछि ए ग्रेडको ठेकेदार बनिसकेको थियो।'
पुल, बाटो भवन सबैको ठेक्का लिने उनको कम्पनीले जमलको राष्ट्रिय नाचघर र काठमाडौं जिल्ला अदालतको भवनलगायत संरचना निर्माण गरेको छ। उनी राजनीति रूपमा नेपाली कांग्रेससँग निकट थिए।
[caption id="attachment_95744" align="alignnone" width="1200"]
गौचनकी छोरी सृष्टि।[/caption]
‘उहाँ धेरै पैसा भएरभन्दा शालिन व्यक्तित्वका कारण सफल हुनुभएको हो। सबैसँग मिलनसार भएकाले नै महासंघको अध्यक्ष जित्नुभो,’ निर्माण व्यवसायी महासंघका उपाध्यक्ष रुद्र शर्माले सेतोपाटीसँग भने, ‘उहाँसँग मेरो राम्रै सम्बन्ध हो, सबै कुरा सेयर हुन्थे तर कहिल्यै उहाँले आफूलाई थ्रेट आएको भन्नुभएन।’
शरदको हत्या कसले गर्यो भन्ने अन्यौल परिवार र साथीभाइभित्र मात्र छैन। चार दिनदेखि प्रहरीले पनि रहस्यको गुत्थी मेसो पाउन सकेको छैन।
गौचन हत्याबारे प्रहरी प्रधान कार्यालयले डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ। महानगरीय प्रहरी कार्यालय, सिआइबी र अपराध महाशाखाको टोली पनि खटिएको छ।
गुन्डा नाइकेको कुनै समूहले चन्दा माग गर्दा नदिएकाले हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। गौचन भिआइपी निर्माण व्यवसायी भएकाले उनीबाट असन्तुष्ट व्यवसायीको योजनामा हत्या भएको हुनसक्ने आशंकामा पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
अनुसन्धान क्रममा गौचनका परिवार, चालक लगायत एक दर्जनभन्दा बढीसँग प्रहरीले सोधपुछ गरिसकेको छ। केही खुल्न भने सकेको छैन। ‘हामी गहन अनुसन्धानमा जुटेका छौं,’ छानबिन समितिका संयोजक केसीले सेतोपाटीसँग भने।
प्रहरीको प्रारम्भिक अनुसन्धानले गौचनको कसैसँग रिसिइबी नरहेको खुल्न आएको छ। तर, प्रहरी मुठभेडमा मारिएका कुमार घैटैसँग उनको सम्बन्ध राम्रो रहेको र कतिपय व्यवसायमा दुवै मिलेर काम गर्ने गरेको भेटिएको स्रोतले बतायो।
घैंटे मारिएपछि उनका मित बाफलका गुन्डानाइके समिरमानसिंह बस्नेतले पटकपटक गौचनलाई घैंटेको रकम माग गरेको खुल्न आएको छ। ‘रकम नदिएकै कारण उनको हत्या गरिएको हुन सक्छ,’ उच्च प्रहरी स्रोतले भन्यो, ‘प्रहरीको अनुसन्धान त्यतातिर पनि सोझिएको छ।’
पछिल्लो समय बस्नेत र रुपन्देहीका मनोज पुन मगर एकदम निकट रहेको प्रहरी स्रोतले जनाएको छ। हाल उनीहरु देशबाहिर छन्।
उनीहरु बाहिर बसेर नेपालको आपराधिक क्रियाकलापमा लागेको प्रहरीले जनाएको छ। उनीहरुकै समूहले एक वर्षअघि रुपन्देहीमा युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको थियो।
ठेकेदार–गुन्डा परिपूरक२०६३ सालमा जिल्ला विकास समिति काठमाडौंले टेन्डर आह्वान गरेको थियो। त्यसबेलाका काठमाडौं प्रहरी प्रमुख सर्वेन्द्र खनाल आफैं जिल्ला विकास समितिको गेटमा बसेर टेन्डरमा गुन्डागर्दी निर्मूल पार्ने काममा जुटेका थिए।
त्यस वर्ष उक्त जिविसमा टेन्डरै कसैको परेन। कारण थियो, कुनै पनि व्यवसायीले टेन्डर दर्ता नगर्नु। कसैको टेन्डर नपरेपछि जिल्ला विकास समितिले समयमै आयोजनाको काम सुरु नहुने बताउँदै खनाललाई सुरक्षा कडा नगर्न आग्रह गरेका थिए।
अहिले ठेकेदार र गुन्डाहरु एकअर्काका परिपूरकजस्तै भएका छन्। राजनीतिकदेखि सबै क्षेत्रमा गुन्डाहरु आफ्नो स्थान बनाउन सफल छन्। प्रहरीका अनुसार सबैभन्दा बढी गुन्डागर्दी निर्माण क्षेत्रमा छ। स–साना निर्माणदेखि ठूला बोलपत्र कबुल गर्न व्यवसायीहरुले गुन्डा पालेका छन्। कतिपय ठेकेदारले त गुन्डाहरुलाई आफ्नै व्यवसायमा समेत संलग्न गराएको प्रहरी बताउँछ।
धाकधम्की दिँदै उठाएका चन्दालाई आम्दानीको स्रोत देखाउन गुन्डानाइकेहरु पनि निर्माण क्षेत्रमा लगानी गर्न थालेका छन्। भर्खरै एमाले प्रवेश गरेका दीपक मनांगे क्रसर व्यवसायमा संलग्न छन्। गणेश लामा पनि ढुंगागिटी र क्रसर व्यवसायमा नै लागेको देखिन्छ।
राज्यको निकाय हुँदाहुँदै किन निर्माण क्षेत्रमा गुन्डानाइकेहरुको हाबी भयो त?
प्रहरी अधिकारीसँग राम्रो हिमचिमकै कारण उनीहरुले आफ्नो व्यवसायमा एकछत्र राज गर्न पाएको प्रहरीकै एक उच्च प्रहरी अधिकारीले बताए।
अर्कोतर्फ राजनीतिक दलका नेता र कतिपय सरकारका मन्त्री नै ठेक्कापट्टामा सक्रिय छन्। गुन्डाहरुलाई पक्राउ गर्नेबित्तिकै छुटाउन उनीहरु नै निर्देशन दिन्छन्। यसले पनि निर्माण क्षेत्रबाट गुन्डागर्दी निर्मूल गर्न नसकिएको एक प्रहरी अधिकारीले बताए।
पछिल्लो समय इन्टरनेटबाटै बोलपत्र आह्वान हुन थालेपछि विगतका तुलनामा निर्माण क्षेत्रमा गुन्डाहरुको बिगबिगी केही हदसम्म कम भएको प्रहरीको भनाइ छ। निर्मूल भने भइसकेको छैन।
अरुलाई यस्तो भोग्न नपरोस्सरकारले सहिद घोषणा गर्ने वाचा गरेपछि बिहीबार आफन्त र व्यवसायीले गौचनको शव बुझेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले गौचनको शवमा राष्ट्रिय झन्डा ओढाएका छन्। बिहीबार उनको अन्त्येष्टि गरिएको छ तर उनको हत्या कसले गरेको पत्ता लागेको छैन।
शरणकुमारीलाई भने आफ्नो छोराको हत्या कसले किन गर्यो भन्ने थाहा पाएपछि मनमा अलिकति शान्ति होला कि भन्नेछ।
‘जे हुनु भइसक्यो, अब छोराको हत्या कसले गरेको हो थाहा पाएर उसलाई कर्मको फल मिल्यो भनेको सुन्दा मनमा शान्ति हुन्थ्यो,’ शरणकुमारीले भावुक हुँदै भनिन्, ‘त्योभन्दा बढी हामीले जस्तो अरु कसैले भोग्न नपरोस्। कसैका बुहारी विधवा नहुन् नातिनातिनी टुहुरा नहोऊन्।’
यो पनि पढ्नुस्।
गौचनलाई श्रद्धाञ्जलि दिन प्रधानमन्त्री देउवा पुगे महासंघ कार्यालयगौचन हत्यामा सरकारलाई निर्माण व्यवसायीको चेतावनी,हत्यारा नसमाते निर्माण कार्य ठप्पप्रहरीलाई पूर्वसूचना थियो तैपनी राजधानीमा व्यवसायी मारिए