विद्रोही राणाका ‘केही बाँकी सपना’

विद्रोही राणाका ‘केही बाँकी सपना’


८८ वर्षको उमेरमा साहित्यकार जगदीश शम्शेर राणा एउटा पुस्तक तयार गरिरहेका थिए, ‘सम अनफुलफिल्ड ड्रिम्स’ अर्थात् ‘केही बाँकी सपना’।

यी केही बाँकी सपना छोडेर सोमबार उनी संसारबाट बिदा भएका छन्। भारतको हिमाञ्चल प्रदेशको सिमलामा बसोबास गर्ने राणाको उपचारको क्रममा चण्डिगढमा निधन भएको हो।

जगदीशका पाँच सन्तान भए। जेठा छोरा अजय सानै उमेरमा बिते। कान्छा अमरको पनि निधन भइसकेको छ। तीन छोरीमध्ये जेठी त्रिवेणीको पनि निधन भइसकेको छ। छोरीहरू कविता र रचना दुवैको भारतमै विवाह भयो। उनीहरू अहिले भारतमै छन्।

सिमलामा उनी श्रीमती र धर्मपुत्र राजेशसँग बस्दै आएका थिए।

उनका भतिज, पूर्व प्रधानसेनापति गौरवशम्शेर राणाका अनुसार उनलाई एक वर्षदेखि ‘साइलेन्ट हार्टअट्याक’को समस्या थियो। यसको असरले उनको कलेजो, लिभर र अन्य अंगहरूमा समस्या थपिएको थियो। यही समस्याको उपचारमा चण्डिगढ पुर्‍याइएका राणाको सोमबार निधन भएको हो।

बौद्धिक र राजनीतिक गरी राणाको दुई विशेष व्यक्तित्व छन् तर उनको साहित्यिक/बौद्धिक व्यक्तित्वको उचाइसामू राजनीतिक व्यक्तित्व छाँयामा पर्ने गरेको छ।

जगदीश चन्द्रशम्शेरका छोरा बबरशम्शेरका नाति हुन्, जसको नाममा बबरमहलको नामकरण भयो।

चन्द्रशम्शेरका जेठा छोरा मोहनशम्शेर राणाकालका अन्तिम प्रधानमन्त्री भए। जगदीशका हजुरबुवा बबरशम्शेर चन्द्रशम्शेरका माइला छोरा हुन्। बबरशम्शेरका छोरा मृगेन्द्रशम्शेरका पाँच भाई छोरामध्ये जगदीश माइला हुन्। जेठा भरतशम्शेर पनि सानै उमेरदेखि राणाशासन व्यवस्थासँग असन्तुष्ट थिए।  जुनसुकै स्थापित संकुचित मान्यता भत्काउन अघि सरिहाल्ने उनको स्वभाव थियो। दाजुको यही स्वभाव जगदीशले पनि सानै उमेरमा ग्रहण गरे।

गौरवशम्शेर, साइँला भाइ आदित्यशम्शेरका छोरा हुन्।

मृगन्द्रशम्शेरका पाँचै छोराका छोराछोरी जगदीशलाई सानोमा ‘आफ्नो बुवा’ भन्थे। जेठा भरशम्शेरलाई ‘जेठो बुवा’, गौरवका बुवा साँइला आदित्यशम्शेरलाई ‘श्यामड्याडी’ भन्ने गर्थे।

‘उहाँ एकदमै मिलनसार र मृदु स्वभावको हुनुहुन्थ्यो, केटाकेटीलाई एकदमै माया गर्ने,’ गौरवशम्शेर सम्झिन्छन्,’त्यसैले हामी सबै उहाँलाई ‘आफ्नो बुवा’ भन्थ्यौं।’

जगदीश युवा उमेरमा गोर्खा परिषदमार्फत राजनीतिमा जोडिए। राजनीतिसँगै उनी बौद्धिक र साहित्यिक कर्ममा पनि रूचि राख्थे। यसले उनलाई व्यक्तिगत स्वभावमा शालिन तर विचारमा क्रान्तिकारी व्यक्ति बनायो। उनको साहित्यिक बौद्धिक उचाई भने राजनीतिक उचाईभन्दा निकै अग्लो भयो।

गौरव शम्शेर भन्छन्, ‘नयाँ विचारलाई उहाँ छिटो बुझ्न सक्नुहुन्थ्यो। उहाँको बौद्धिक व्यक्तित्वको प्रभाव हामी सबैमा छ। ममा पनि उहाँको प्रभाव छ।’
‘शान्तिप्रकृया सुरू भएपछि माओवादी सेनालाई नेपाली सेनामा समाहित गर्ने राजनीतिक सहमति भएको थियो। नेपाली सेनाभित्र भने माओवादी सेनालाई नेपाली सेनामा ल्याउन हुन्छ कि हुन्न भन्ने ठूलै ‘कन्फ्युजन’ थियो। रूकमाङ्गत कटुवाल र छत्रमानसिंह गुरूङ प्रधानसेनापति हुँदासम्म समायोजन अघि बढ्न सकेन।’ गौरवशम्शेरले उदाहरण दिए।

‘म आएपछि राजनीतिक वातावरण पनि बन्यो र सेना समायोजनको काम मेरै पालामा भयो,’ गौरवशम्शेर भन्छन्, ‘मलाई मानसिक रूपमा यसमा तयार हुन बुवाले निकै प्रभावित गरिबक्सिएको थियो।’

सिमलाबाट नेपाल आएका जगदीशले उनलाई सोधेका थिए,’बाबु! सेना समायोजनको काम के हुँदैछ।’

विचारविमर्श हुँदै जाँदा गौरवले सेनाका केही व्यक्तिमा भएको ‘कन्फ्युजन’ सुनाए।

अनि जगदीशले सोधे, ‘ती माओवादी को हुन् बाबु, नेपाली नै होइनन्?’

‘तिनीहरू आधारभूत आवश्यकता पूरा हुने र समृद्धिको सपना देखेर लडेका हुन्, समानताका सपना देखेर लडेका हुन्,’ उनले फेरि प्रश्न थपे,’उनीहरू लडाँईमा जानुको कारण छ कि छैन?’

गौरवशम्शेरलाई उनका यी प्रश्नले निकै प्रभाव पारेको रहेछ।

‘ती गाउँबाट आएका स्वप्नजीवी नेपाली हुन्, ती तिम्रा सेनाजस्तै हुन्,’ जगदीशले उनलाई भनेका थिए।

कुरा गर्दैजाँदा गौरवशम्शेर पारिवारिक इतिहासतिर फर्किए।

२००७ सालको क्रान्तिताका चन्द्रशम्शेर परिवारमा एउटा अनौठो विरोधाभाष थियो।  चन्द्रशम्शेरका जेठा छोरा मोहनशम्शेर मुलुकको प्रधानमन्त्री थिए। आन्दोलनको ज्वारभाटा थेग्दै उनी जसरी भएपनि राणाराज जोगाउने प्रयत्नमा थिए। मोहनशम्शेरका भाई बबरशम्शेरका नाती भरत र जगदीश भने राणा शासनविरूद्ध थिए।

‘आफ्नै जेठो हजुरबुवा प्रधानमन्त्री हुँदा उहाँहरू क्रान्तिको पक्षमा हुनुहुन्थ्यो,’ गौरवशम्शेरले आफ्नो पारिवारिक इतिहास सम्झिए, ‘परिवारभित्रै यस्तो दुई पक्ष भएको थियो।’

उनको राजनीतिक जीवन नै ‘विद्रोही’का रूपमा सुरू भयो, त्यो पनि आफ्नै परिवारको वर्चश्व रहेको व्यवस्थाको विरोधमा उत्रिएर। २०४६ सालमा बहुदल स्थापना नहुँदासम्म उनी विद्रोही भूमिकामा नै रहे।

२०१५ सालको आम निर्वाचनमा उनी गोर्खा परिषदका तर्फबाट अछामका उम्मेदवार बने। यो निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाई बहुमत हासिल गर्यो। बिपी कोइराला प्रधानमन्त्री बने, गोर्खा परिषद प्रमुख प्रतिपक्षी दल बन्यो। प्रतिपक्षी दलको नेतृत्वमा रहेकाले पनि उनको बागी स्वभावले निरन्तरता पायो।

प्रजातान्त्रिक व्यवस्था दिगो नहुँदै २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेर संसदीय व्यवस्था खारेज गरे। यतिबेलै गोर्खा परिषद नेपाली काँग्रेसमा समाहित भयो। महेन्द्रको शाही कदमविरूद्ध आन्दोलन थालेपछि क्रमश: नेपाली काँग्रेसका नेताहरू भारत निर्वासनमा जान थाले।

‘अराष्ट्रिय तत्व’को ट्याग लागेपछि उनी पनि नेपालमा बस्ने अवस्था रहेन। उनी भारत गए र हिमाञ्चलको सिमलामा बस्न थाले। यसपछि उनी राजनीतिक रूपमा कम सक्रिय भए भने साहित्य र बौद्धिक अभ्यासमा लागे। दाजु भरतशम्शेर भने निर्वासित भएपछि कोलकाता गएर बसे।

यसपछि जगदीश सधैं नेपाली काँग्रेसमै रहे। उनलाई नेपाली काँग्रेसले २०५१ सालमा राष्ट्रिय सभाको सदस्य समेत बनाएको थियो।

बौद्धिक रूपमा उनको रूचि पूर्वीय र स्थानीय संस्कृतिको अध्ययन, अनुसन्धान र उत्थानमा बढी गएको देखिन्छ।

एमए गर्नुअघि हजुरबुवा बबरशम्शेरले उनलाई पढ्न यूरोप जाने प्रस्ताव गरेको गौरवशम्शेर सुनाउँछन्। भारतमा पढिरहेका जगदीशलाई भने पूर्वीय संस्कृति र दर्शनको रस बसिसकेको थियो।

जगदीशले हजुरबुवा बबरशम्शेरलाई भने, ‘म पश्चिमी सभ्यताका केन्द्रहरू इजिप्ट र ग्रीस घुमेर आउँछु, त्यसपछि के पढ्ने निर्णय गर्छु।’

बबरशम्शेरले सहमति जनाए। उनी इजिप्ट, ग्रिस र केही यूरोपेली देश घुमेर आए। यसपछि संस्कृत पढ्ने निर्णय सुनाए। उनले प्राध्यापक चुणानाथ भट्टराईसँग संस्कृत साहित्य र दर्शनको अध्ययन गरे।

जगदीशले भारतको अल्लाहवाद विश्वविद्यालयबाट अन्तरराष्ट्रिय मामला र कानूनमा एमए गरे भने पटना विश्वविद्यालयबाट इतिहासमा एमए गरेका छन्। उनले बिए अनर्स पनि गरे।

सिमला बस्न थालेपछि पनि उनी निरन्तर नेपाल आइरहन्थे। गौरवशम्शेर सम्झिन्छन्, ‘उहाँ वर्षमा एकपटक र कहिलेकहिले दुईपटक आउनुहुन्थ्यो। आउँदा जहिले पनि केही न केही नयाँ ‘आइडिया’सँग आउनुहुन्थ्यो।’

उनी नेपाल आएर अनुसन्धान गर्थे। लेखनका कच्चा पदार्थ बोकेर सिमला फर्कन्थे। फेरि अर्को वर्ष आउँथे र पुस्तक प्रकाशनमा लाग्थे। पुस्तकबारे छलफल गर्थे।

२०३७ सालमा उनको पहिलो कृति ‘नरसिंह अवतार’ प्रकाशन भयो। यही कृतिले मदन पुरस्कार जित्यो।

मदन पुरस्कार ग्रहण गर्दै जगदीशशम्शेर राणा। तस्बिर स्रोत: मदन पुरस्कार पुस्तकालय

‘सेतो ख्याकको आख्यान’ उनको सबैभन्दा चर्चित किताब हो। यो उपन्यास संस्कृत दर्शनमा आधारित छ। अनुसन्धान, समालोचना, कवितालगायत विधासमेत गरेर उनका एक दर्जनजति किताब प्रकाशित भएका छन्।

‘नाचगानको राजधानी भक्तपुर’ २०४४ सालमा प्रकाशित उनको लेखहरूको संगालो हो।

उनले भक्तपुरको संस्कृति, खासगरी परम्परागत संगीत र नृत्यमा उनको खास रूचि थियो। उनका विभिन्न बाँकी सपनाहरूमध्ये भक्तपुरको प्राचीन परम्परागत संस्कृतिलाई प्रवर्द्धन गर्दै सांस्कृतिक राजधानी बनाउने उनको सपना थियो।

२०७२ सालको भूकम्पपछि पनि उनी भक्तपुरका सांस्कृतिक सम्पदाको खोजी र संरक्षणमा नै उनी सक्रिय रहे। यसका लागि उनले प्रशस्त आर्थिक सहयोगसमेत गरेको गौरवशम्शेर बताउँछन्।

उनको अर्को सपना थियो, नेपालमा संगीत विश्वविद्यालय बनाउने। यो विश्वविद्यालयलाई सयौं वर्षको इतिहास बोकेका विश्वमै प्रतिष्ठित अमेरिकाको हावर्ड वा बेलायतको अक्सफोर्डजस्तै बनाउने सपना उनले देखेका थिए।

यही सपनाका कारण काठमाडौं विश्वविद्यालयसँगको सम्बन्धनमा उनले ‘काठमाडौं स्कुल अफ म्यूजिक’ स्थापना गरे।  यो संस्थाको ‘ड्रिम कन्सेप्ट’मा उनले यसलाई अक्सफोर्ड वा हावर्डजस्तै संस्थाको रूपमा विकास गर्ने लक्ष्य उल्लेख गरेका थिए। ‘हामी किन अक्सफोर्ड वा हावर्ड बनाउन सक्दैनौं?’ उनले चुनौती स्वीकार गरेका छन्। यसमा उनले हावर्ड र अक्सफोर्ड कसरी बने भन्ने लेखसमेत समावेश गरेका छन्।

संगीतमा उनको लगाव कतिसम्म छ भन्ने कुरा अर्थ्याउन गौरव शम्शेरले भने,’म सेनापति भएको बेला हामीले आर्मीमा एउटा अर्केस्ट्रा बनाएका छौं, सारङ्गीको। यो उहाँकै आइडिया हो। यस्तो गर्न उहाँले नै मलाई सुझाव दिनुभएको थियो।’

भूकम्पपछि धूलिखेलको थाक्ले गाउँ पुनर्निर्माण गरी नमूना बस्ती बनाउने काम पनि उनले थालेका थिए। उनको यो सपना पनि बाँकी नै रह्यो।

‘बुवाका केही सपनाहरू अधुरै रहे,’ गौरवशम्शेर सम्झन्छन् , ‘उहाँले आफ्ना बाँकी सपनाहरूको किताब लगभग तयार पार्नुभएको छ। यो किताब अब चाँडै प्रकाशित गर्नु छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.