घर बनेकोमा दलित समुदाय हर्षित


रौतहटका दलित बस्तीका दलितहरूले गाउँमा धुर्मुस सुन्तली भगवान् बनेर आएको बताएका छन् ।

वर्षौँदेखि जीर्ण झुपडीमा बस्दै आएका ४५ घर दलित परिवारले माघदेखि सुविधायुक्त घरमा बस्न पाउने भएपछि उनीहरू खुशी छन् । धुर्मुस–सुन्तली फाउन्डेशनले धुर्मुसको जन्मदिनको अवसर पारेर असोज ४ गते बस्तीको शिलान्यास गरीएको थियो। सो दलित बस्तीमा करीब ५ करोड ७५ लाखको लगानीमा नमूना बस्ती बनाउन लागिएको हो।

जीर्ण झुपडीमा बस्दै आएका माझी, मुसहर, दुसाद, लोहार र हजामका ४५ परिवारका लागि फाउन्डेशनले घर निर्माण गर्न लाग्दा बस्तीमा खुसीयाली छाएका छ। बस्तीमा सुरक्षित, आधुनिक, भूकम्प प्रतिरोधी र सरकारको मापदण्ड अनुसार २ तले ४ वटा कोठा भएको घर साथै शौचालय, धारा र बगैंचा समेत निर्माण हुनेछ।

धेरै समस्या भएका बेला धुर्मुस सुन्तली भगवान् बनेर हाम्रो बस्तीमा आएका स्थानीय सुगान्धी पासवानले बताए । ‘घरमा खान–लाउनका लागि केही थिएन। आफू नखाई छोराछोरीहरूलाई पाल्नु परेको थियो। दिनरात मेहनत गरेर घर आउँदा सुत्ने ठाउँ नभएका कारण राम्ररी सुत्न पाउँदैन थिए।

अब घर बनेपछि एक गाँस खाना खाएर सुत्न पाउँछु भनेर धेरै खुशी छु । पानी परेको बेला अरुको घर या त स्कुलमा सुत्नुपथ्र्यो अब आफ्नै घरमा सुत्न पाइन्छ भनेर पूरा बस्ती रमाएको छ ।’

बस्तीमा ४५ वटा आवासीय घर, एक मन्दिर, सार्वजनिक धारा, सामुदायिक भवन र पुरै बस्ती अवलोकन गर्ने भ्य–ूटावरको समेतको निर्माण हुने फाउण्डेशनका व्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिएका छन्।

आउँदो माघ २४ गते समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको फाउन्डेशनकी उपाध्यक्ष तथा हास्य कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ले बताएकी छिन् । बस्ती शिलान्यासपछि पूराना झुपडीहरू हटाएर जमीन खाली गर्ने कार्य भइरहेको छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.