हिन्दु–मुस्लिम झडपपछि बर्दियामा कर्फ्यु


बर्दियामा आजदेखि अनिश्चतकालीन कर्फ्यु जारी गरिएको छ। बर्दियाको मोहम्मदपुर गणेशपुरमा हिन्दु र मुस्लिम समुदायबीच आइतबार बेलुका ८ः३० देखि १२ बजेसम्म झडप हुँदा तनाव उत्पन्न भएपछि प्रशासनले आजबाट कर्फ्यु आदेश जारी गरेको हो।

दुई समुदायबीचको सांस्कृतिक कारणले झडपको अवस्था आएको र अहिले विस्तारै वातावरण सहज बन्दै गएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।

गुलरिया नगरपालिका–११ नम्बर वडामा रहेको घाटमा हिन्दुहरूको दुर्गा(दशैंको टिका) र मुस्लिमहरूले ताजिया दहन गर्ने परम्परा रहिआएको र आइतबार दुवै समुदाय एकपटक त्यहाँ पुग्दा झडप सुरू भएको भट्टराईले जानकारी दिए।

एउटै ठाउँमा दुई समुदाय भेला हुने अवस्था आएपछि प्रशासनले त्यहाँका हिन्दुहरूलाई शनिबार र मुस्लिम समुदायलाई आइतबारमात्र दहन गर्ने व्यवस्था मिलाएको  भएपनि बाँकेबाट हिन्दुहरू एक्कासी पुगेपछि झडपको अवस्था उत्पन्न भएको उनको भनाइ छ।

‘हामीले हिन्दु र मुस्लिम समुदायलाई फरक फरक दिनमा विसर्जन गर्ने व्यवस्था मिलाएका थियौं’ उनले सेतोपाटीसँग भने,‘तर मुस्लिम समुदाय रहिरहेको अवस्थामा बाँकेतिरबाट १०/१२ गाडीमा हिन्दुहरू पनि पुगेपछि झडपको अवस्थ उत्पन्न भयो।’

आइतबारको झडप र प्रदर्शनपछि प्रशासनको सक्रियतामा १२ बजे साम्य भएपनि सोमबार बिहान पनि फेरि झडप सुरूपछि अवस्थालाई नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यु जारी गरिएको जिल्ला प्रहरी कार्यालयका कन्ट्रोल अफिसर बलबहादुर बुढाले जानकारी दिए।

तस्बिर : दीपक श्रेष्ठ

‘दुर्गा विसर्जन गर्न गएका हिन्दू धर्मावलम्बी र ताजिया दहनका लागि गएका मुस्लिम समूहबीच हिजो आइतबार झडप भएको थियो’ बलबहादुर बुढाले सेतोपाटीसँग भने ।

आइतबारको विषयलाई लिएर सोमबार बिहानै ९ बजेदेखि पनि दुवै पक्षले प्रदर्शन गरेका थिए । स्थिति नियन्त्रण गर्नको लागि प्रहरीले केही सेल अश्रु ग्यास र हवाइ फायर समेत गरेको थियो ।

अहिले उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको र अवस्था सामान्य बन्दै गएको प्रजिअ भट्टराईले जानकारी दिए। उनका अनुसार केहीबेरमा दुवै समुदायका प्रतिनिधिहरूलाई बोलाएर वार्ता गरी अवस्था सामान्य पारिने छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.