दसैंको टीका लगाउन ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।
विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् रामचन्द्र गौतमले बताए।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व शनिबार मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ।
मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ। जमराले विभिन्न रोगव्याधिमा औषधिको काम गर्ने तथ्य वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी शनिबार मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंकै महत्वपूर्ण दिन हो।