सखिया नाच्दै थारुहरुले लगाए नवमी टीका

नवमीको दिन शुक्रबार सामूहिक टीका लगाइदिँदै श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरी (ढाका टोपी लगाएका) तस्बिर: नारायण खड्का/सेतोपाटी


श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीको घरमा शुक्रबार भीडभाड थियो। तुलसीपुर उपमहानगरपालिका–६ स्थित उनको घरमा स्थानीय थारुहरू सामूहिक टीका लगाउन आएका थिए।

चौधरीले आगन्तुक सबैलाई भुइँमा लस्करै राखेर पालैपालो चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा लगाइदिए।

गाउँलेहरू चौधरीको हातबाट टीका लगाउन आउनुको कारण उनी राज्यमन्त्री भएकाले होइन। थारु समुदायमा नवमीको दिन गाउँका अगुवा अर्थात् महतौकहाँ गएर सामूहिक टीका लगाउने चलन छ।

मटवा महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका राज्यमन्त्री चौधरी तुलसीपुर–६ स्थित डुर्मीगाउँका महतौ पनि हुन्।

नवमीको टीका लगाउँदै गर्दा गाउँभरिका थारु जम्मा भएर सखिया नाच्ने गर्छन्। पूर्णिमादेखि सुरु हुने सखिया नाच एक महिनासम्म चल्छ, जसमा कृष्णलीलाको वर्णन गरिन्छ।

थारुहरू बाबरीको फूल र मकैको पहेँलो जमरासहित चामलको सेतो टीका गाउँका मुखिया महतौको हातबाट ग्रहण गर्छन्।

थारु समुदायमा सेतो टीकालाई शान्ति र मकैको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ। तत्कालीन समयमा रंग उपलब्ध नहुँदा चामलको सेतो टीका नै लगाउने चलन चलेको यहाँका थारु अगुवा बताउँछन्।

टीका लगाउँदै गर्दा राज्यमन्त्रीको घरमा भएको सखिया नाच। तस्बिर: नारायण खड्का/सेतोपाटी

दाङलगायत बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरका थारु समुदायमा पनि यस्तै चलन छ। उनीहरू सबै महतौ, बडघर र भल्मन्साको घर गएर नवमीका दिन धूमधामसाथ दसैं टीका ग्रहण गर्छन्।

सामूहिक टीका सुरु हुनुअघि गाउँका अगुवा महतौले देउथन्वामा गएर आफूले टीका लगाउनुपर्छ। देउथन्वा भनेको देउता राख्ने ठाउँ हो। हरेक थारु गाउँमा एउटा देउथन्वा हुन्छ, जहाँ इन्द्र लगायत देवीदेवताका मूर्ति राखिएका हुन्छन् । देउथन्वा गएर महतौले टीका लगाएपछि बल्ल सामूहिक टीका खुल्छ।

त्यसअघि घरमुलीले माटाको घोडा अर्थात (घर गुरुवा) लाई टीका लगाउने चलन छ। सामूहिक टीका लगाउन महतौको घर जाँदा थारुहरू मकैको जमरा, बाबरीको फूल र रक्सी लिएर जान्छन्। नवमीको दिन थारु समुदायका पुरुषमा ब्रत बस्ने चलन पनि छ।

विजया दशमीको दिन भने थारु समुदायले रातो टीका नै लगाउने गर्छन्। त्यो टीका लगाउन भने गुरुवाको घर जानुपर्छ।

थारु गाउँबस्तीमा कृष्णाष्टमीदेखि झुमरा र सखिया नाच रातैभरि नाच्ने परम्परा रहे पनि पछिल्लो समय हराउँदै गएको छ। थारुको मौलिक भेषभूषा, नृत्य र गीत पनि क्रमश: कम सुनिन थालेको छ।

थारुका देवता माटाको घोडा।
सामूहिक टीकापछि राज्यमन्त्रीको घरमा ग्यालेनबाट रक्सी थापेर खाँदै स्थानीय।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.