तनहुँमा बढ्दै अपराध, महिनामा २ वटा घटना बलात्कारका


वैशाख ३१ गते ४५ वर्षीय विक्रम परियारको हत्यामा धारिलो हतियार र ढुंगाले प्रहारबाट हत्या भयो । कुनै पुरानो रिसइबी या अन्य कारण थिएन उनको हत्या हुनुमा । फोटो खिचेको विषयलाई लिएर ब्यास नगरपालिका–१ भादगाउँको छाला उद्योग नजिकै परियारलाई ५ जनाले धारिलो हतियार र ढुंगाले हानेर हत्या गरे । जुन घटना अहिले पनि बिर्सेका छैनन् तनहुँबासीले ।

केही दिन अघि बन्दीपुर गाउँपालिका –६ का वडा सदस्य वीरेन गुरुङलाई मार्ने उद्देश्यले खुकुरी हानियो । मोटरसाइकलमा आएका केही युवाहरू निडर भएर गुरुङलाई हानेको घटनाबाट तनहुँ प्रहरी छक्क पर्‍यो । व्यास नगरपािलका–२ बागबजार पेट्रोल पम्प नजिकै होटल अगाडि ती युवाले खुकुरी हानेको दृश्य सिसी क्यामेराले कैद छ । त्यो भिडियो फुटेज हेर्दा प्रहरीकै आङ सिरिंग भयो । घटनामा संलग्न युवाको भने अझै अत्तोपत्तो छैन ।

२०७३ फागुन १८ गते थप्रेक–८ भ्यागुतेमा एउटी सुस्त मनस्थिति भएकी बालिका बलात्कृत भईन् । पाहुना बनेर गएका श्याम्घा–१ का ५२ वर्षीय अली महम्मद मियाले १३ वर्षीय ती बालिकालाई राती साढे १ बजे बलात्कार गरे । उनको मुद्दा अदालतमा विचाराधीन छ ।

यी घटना उदाहरण मात्र हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँको विवरण हेर्दा जघन्य अपराध मानिने घटना बढ्दो छ । आर्थिक वर्ष २०७३/०७४ मा जबरजस्ती करणीका २४ मुद्दा दर्ता  भएको २३ वटा फछ्र्योट भइसकेका छन् । ती मुद्दामा २४ जना पक्राउ परे भने १ जना अझै फरार छन् । यो तथ्यांक हेर्दा प्रत्येक महिना बलात्कारका २ घटना तनहुँमा हुने गरेको छ । जबरजस्ती करणी प्रयासमा ७ मुद्दा, कर्तव्य ज्यानमा ६, ज्यान मार्ने उद्योगमा ८ मुद्दा दर्ता भएका छन् । सार्वजनिक अपराधका ८९ मुद्दामा १ सय ४६ जना पक्राउ परे भने ४७ जना फरार छन् ।

पश्चिम क्षेत्रीय प्रहरी कार्यालयको त्रिवर्षीय अपराध विश्लेषणमा समेत तनहुँमा जघन्य अपराध बढेको देखिएको छ । आर्थिक वर्ष २०७१/०७२ मा हत्याका ४ वटा मुद्दा दर्ता भएकोमा पोहोर बढेर ७ मुद्दा दर्ता भए । जबरजस्ती करणीका घटना ह्वात्तै बढेको पाइएको छ । २०७१/०७२ मा १२ वटा मुद्दा दर्ता भएकोमा पोहोर १७ मुद्दा दर्ता भए । यो वर्ष त बढेर २४ वटा पुगे ।

घटना भएपछि मुद्दा दर्ता हुनु स्वभाविकै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख तथा एसपी उमेश जोशीले बताए । ‘जस्तै जबरजस्ती करणीमा पीडित आएर मुद्दा दर्ता गर्छन्,’ उनले भने, ‘आरोपी पक्राउ परेपछि चिन्दिन भनेर अदालत पुगेपछि बयान फेर्ने गर्छन् ।’ धेरै जसो जबरजस्ती करणीको घटना आरोप मात्र हुने गरेको एसपी जोशीले बताए ।

‘अरु कुरामा चित्त बुझेको हुँदैन अनि उजुरी दिन्छन् पछि कुरा मिल्छ केस सकिन्छन्, यस्तो धेरै पटक भएको,’ उनले भने ।
ज्यान मार्ने उद्योग पनि यसरी नै बढेको एसपीको जोशीको भनाइ छ। ‘२ पक्षबीच आफैँ झगडा गर्ने अनि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने,’ उनले भने, ‘त्यो पनि मन नपरेको विगतमा रिसइबी भएको जुनसुकै मान्छेको नाममा किटानी जाहेरी दिएको पाइन्छ ।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.