मुलुकको सबैभन्दा ठूलो विश्वविद्यालयको केन्द्रीय विभाग कस्तो होला? यहाँका प्राध्यापकले के के सुविधा पाउलान्? प्राध्यापकका कक्ष, बैठक, शौचालय कस्तो होला?
कीर्तिपुरमा रहेको मुलुककै ठूलो र जेठो त्रिभुवन विश्वविद्यालय पुग्नुभएको छ भने तपाईंले अनुमान गर्न सकिहाल्नुहुन्छ।
त्रिवि विद्यार्थी संख्या, आंगिक सम्बन्धनप्राप्त क्याम्पस संख्या, जग्गाजमिन सबै दृष्टिले धनी छ। वार्षिक सरकारी बजेट पाउँछ। विश्वविद्यालय अनुदान आयोग, विभिन्न एनजिओ/आइएनजिओका कार्यक्रमबाट पनि त्रिवि र यसका विभागले बजेट पाउँछन्। कतिपय अनुसन्धानमा सहायता लिन आइएनजिओ/एनजिओदेखि सरकारी कार्यालयसमेतले यी विभागलाई आर्थिक सहायता उपलब्ध गराउँछन्।
यो त्यही त्रिविको मानविकी तथा सामाज अध्ययन संकायको सबैभन्दा कान्छो मानवशास्त्र केन्द्रीय विभागको कथा हो।
घडी भवन कीर्तिपुरको फराकिलो फाँटमा त्रिविको शान बनेर उभिएको देखिन्छ। यो भवनमा त्रिविको मानविकी तथा समाजिक अध्ययन संकायका कक्षा चल्छन्। हामी यही घडी भवनतिर उक्लिरहेका थियौं, घडीभवनको काखैमा रहेको बगैँचाबाट।
घडी भवनको प्राङ्गणमा रहेको जमिनको यो टुक्राको नाम बगैंचा नै हो, तर यहाँ रूखबिरूवा छैनन्। धन्न गत वर्ष त्रिभुवन विश्वविद्यालय विद्यार्थी समाजले केही धूपीका बिरूवा हुर्काउन सक्यो। ती बिरुवा अहिले सानै छन्। धेरैजसो मरिसके।
हामीसँगै हिँडिरहेका समाजका अध्यक्ष योगेन्द्रप्रसाद लामिछाने भन्दै थिए, 'यो बगैँचा एकदमै फोहोर थियो, पोहोर हामीले सफाइ गरेर केही धूपी रोपेका थियौं। तुलनात्मक रूपमा अहिले अलि सफा छ।'
नकाटेको निकै भएकाले बर्खे घाँस लहलहाएर आएका छन्। हलक्क बढेका घाँस थपक्क मान्छे बस्ने बेन्चहरूमा आराम गरिरहेका छन्। ती बेन्च घाँसले छोपिएकाले मान्छे बस्ने अवस्था छैन। बगैँचा घाँसको बगैँचाजस्तो भएको छ। 'विश्वविद्यालयसँग प्रश्स्तै कर्मचारी छन्,' लामिछाने भन्दै थिए, 'ठीकसँग परिचालन गर्ने हो भने चौर र बगैँचामा यसरी घाँस बढ्ने अवसर त्यति पाउने थिएन।'
घडी भवन पार गरेपछि अगाडि यो संकायअन्तर्गतका दर्जनौं विभागको कार्यालय आउँछ। घडी भवनको ठीक साम्मुन्ने यी विभाग खाँदाखाँद बसेका छन्। एउटै ढोकामाथि चारवटा विभागका साइनबोर्ड झुन्डिएका देखिन्छन्। सबैभन्दा दाहिनेतिरका दुई विभाग अलि सानले उभिएका छन्- अर्थशास्त्र केन्द्रीय विभाग र जनसंख्या केन्द्रीय विभाग।
जनसंख्या विभाग राजा वीरेन्द्रकै शासनकालमा बनेको रहेछ। राजदरबारको आर्थिक सहायतामा खास कार्यक्रम चलेकाले पनि यो विभागले ठूलो क्षेत्रफलमा पर्याप्त भौतिक पूर्वाधार बनाउने अवसर प्राप्त गरेको रहेछ। भौतिक संरचना भए पनि सेमेस्टर प्रणाली सुरु भएपछि जनसंख्या विभागले विद्यार्थी अभाव खेप्नु परेको छ।
यसैको देब्रेतिर छ अर्थशास्त्र विभाग। जनसंख्या विभागभन्दा सानो क्षेत्रफल भए पनि अगाडि नीलकाँटाको सुन्दर बगैँचा भएको यो भवन निकै आकर्षक छ। सुरूदेखि नै धेरै विद्यार्थी हुने अर्थशास्त्र विभाग अर्थमा अलि धनी नै विभाग रहेछ।
कीर्तिपुरतिरको किनारमा ग्रामीण विकास अध्ययन केन्द्रीय विभाग छ। यो पनि छुट्टै घेराबारा र भवन भएको भाग्यमानी विभाग हो।
यसबीच लहरै अरू विभाग छन्: केन्द्रीय नेपाली विभाग, केन्द्रीय अंग्रेजी विभाग लगायत। यही लहरमा अलि पछाडितिर छ मानवशास्त्र केन्द्रीय विभाग। यो त्रिवि मानविकी तथा समाज अध्ययन संकायको सबैभन्दा कान्छो विभाग हो।
पहिले समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभाग थियो। केही वर्षपहिले यी विभाग अलग भए पनि कार्यकालय सँगै थियो। गत वर्षदेखि भने मानवशास्त्र विभागले अलग्गै कार्यालय पाएको छ। यद्यपि कार्यालयको साइनबोर्ड भने समाजशास्त्र विभागकै कार्यालयमाथि झुन्डिएको छ। मानशास्त्र विभागको कार्यालय जहाँ छ, त्यहाँ साइनबोर्ड राख्ने पर्याप्त र सुहाउँदो ठाउँधरि छैन।

लामो समयदेखि विभागमा पढाइरहेका जनक राई यहाँका 'एसोसिएट' प्रोफेसर हुन्। अमेरिकाको 'युनिभर्सिटी मिचिगन' बाट पिएचडी गरेर केही वर्षअघि मात्रै उनी त्रिवि फर्किएका हुन्।
केही दिनअघि उनले आफ्नो फेसबुक पेजमा लेखे- पेटमा प्राविधिक गडबडीले कक्षा स्थगित गर्न बाध्य भइयो, विभागको आफ्नो शौचालय छैन। यस्तो पनि छ टियूमा।
के त्रिविको केन्द्रीय विभागको अवस्था यस्तो पनि हुनसक्छ?
राई भन्छन्, 'मानवशास्त्र मात्रै होइन, अरू कतिपय विभागको अवस्था यस्तै छ।'
गत वर्ष समाशास्त्र केन्द्रीय विभागबाट अलग भएपछि यो विभागले दुईवटा कोठा पाएको छ। एउटा कोठा विभागको प्रशासनका लागि प्रयोग भएको छ। बिहीबार हामी पुग्दा शिक्षिका श्यामु थापा मगर प्रशासन कक्षमै बसिरहेकी भेट्टिइन्। उनी भर्खरै आफ्नो कक्षा सकेर बाहिर निस्किएकी थिइन्।
श्यामु जापानमा पिएचडी गरेर तीन वर्षपहिले फर्किएकी हुन्।
श्यामु थापा हुन् वा जनक राई, उनीहरूले विदेशका सम्पन्न विश्वविद्यायलको अनुभव बोकेर फर्किएका छन्। यो विभागमा १६ मध्ये आधा जति शिक्षक त विदेशी विश्वविद्यालयमा पढेकाहरू नै छन्। विश्वविद्यालयको केन्द्रीय विभाग कस्तो हुन्छ भन्ने उनीहरूले देखेका छन्। अझ ती विश्वविद्यालका प्रोफेसरका आफ्ना कक्ष, त्यहाँको सुविधा र सरसफाइ देखेका छन्। केही नभए पनि सफा शौचालय देखेका छन्।
'त्यहाँको कुरै नगरौं,' श्यामुले भनिन्, 'हामी विद्यार्थीले प्रयोग गर्ने शौचालय नै चार प्रकारको थियो। 'एसियन'देखि युरोपेली अत्याधुनिक स्तरका। ती शौचालयमा कहिल्यै दुर्गन्ध आएको मलाई थाहा छैन।'
हामी कुरा गर्दै अर्को कोठातिर अघि बढ्यौं। उनी भन्दै थिइन्, 'शौचालय भनेको संस्कृति र सभ्यताको पनि कुरा रहेछ।'
हामी गइरहेको कोठाको ढोकामा 'विभागीय प्रमुख लयप्रसाद उप्रेती' को नेमप्लेट टाँगिएको थियो। प्रमुख उप्रेती भने कार्यकक्षमा थिएनन्।
'उहाँको कक्षा छैन, त्यसैले सधैं आउनुहुन्न,' उनले सुनाइन्।
'विभागमा शिक्षक/शिक्षिका कति जना हुनुहुन्छु?' मैले सोधेँ।
'१६ जना' उनले जवाफ दिइन्। उनी यो विभागकी एक्ली शिक्षिका रहिछन्।
'१६ जना? अनि तपाईंहरू कहाँ बस्नुहुन्छ?'
'यहीँ बस्छौं,' उनले जवाफ दिइन्।
विभागीय प्रमुखको कुर्सीसमेत जोड्ने हो भने यहाँ मुस्किलले ५-६ जना बस्न सक्ने अवस्था छ।
'कसरी?'
'एडजस्ट गरेर,' उनी मुसुक्क हाँसिन्। अनि थपिन्, 'हामी बैठक गर्नुपर्यो भने लाइब्रेरीमा गर्छौं।'
घडी भवनमा विभागको पुस्तकालय छ, जहाँ केही खाली ठाउँ छ। पुस्तकालयमा विभागका विद्यार्थीले गरेका थेसिस र केही पाठ्यपुस्तक छन्।
'किताबहरू पर्याप्त त छैन तर धेरै नै छन्,' उनले भनिन्।
यही पुस्तकालयले बैठक कक्षको काम पनि गर्छ। बैठक चलुन्जेल पुस्तकालय पसेका शिक्षक र विद्यार्थीले पढ्ने अवस्था रहँदैन। उनीहरूले पहिले समाजशास्त्र विभागकै बैठक कक्ष प्रयोग गर्ने गरेका रहेछन्। तर सधैं सम्भव भएन। कहिले एकै समयमा बैठक पर्ने भएकाले उनीहरु पुस्तकालय सरे। तर, यो कान्छो विभागले शिक्षक कक्ष र बैठक कोठा पाउन सकेको छैन।

विभागको अर्को पनि दु:ख छ।
'पढाउने पाठको तयारी गर्नुपर्यो भने कहाँ बसेर गर्ने?' शिक्षक राई भन्छन्, 'एउटा कोठामा विभागीय प्रमुखदेखि सबै शिक्षक बस्नु पर्छ।' यसले घरमै तयारी गरेर आउनुपर्ने बाध्यता उनीहरुलाई छ। विश्वविद्यालय गएर विभागमै बसेर हेरौं न त भन्ने सुविधा उनीहरूलाई छैन।
श्यामु भन्छिन्, 'सेमेस्टरमा गएपछि विद्यार्थीहरूसँग बढी नै छलफल गर्नुपर्छ। तर बोलाएर पर्सनल काउन्सिलिङ गर्ने ठाउँ छैन। कहिले बाहिर उभिएर कुरा गर्छु, कहिले बाटोमा हिँड्दै कुरा गर्छु। कहिलेकाँही रेस्टुरेन्टमा बसेर कुरा गर्छु। विभागमा यस्तो 'स्पेस' नै छैन।'
त्यसपछि उनले शौचालयको कुरा निकालिन्।
'अरू त के कुरा गर्नु, विभागमा शौचालयसमेत छैन,' उनले भनिन्, 'कि त समाजशास्त्र विभाग कि त राजनीतिशास्त्र विभागमा शौचालयको चाबी माग्न जानुपर्छ। त्यहाँ पनि पानीको राम्रो व्यवस्था छैन।'
त्यसैले शिक्षकहरूबीच मार्मिक ठट्टा पनि चल्दो रहेछ कहिलेकाहीँ, 'डाइरिया भयो भने युनिभर्सिटी आउनुपर्दैन। पढाउनु पर्दैन।'
यही अवस्थाबाट आजित भएर सामाजिक सञ्जालमा लेखेको राई सुनाउँछन्। शौचालयको संकट कतिसम्म छ भने विभागमा आउने विदेशी पाहुनाका अगाडि लज्जित हुनुपरेको उनी बताउँछन्।
गत वर्ष उनीहरूले एक जना फ्रेन्च प्रोफेसरलाई 'गेस्ट लेक्चर'का लागि बोलाएका थिए। उनले कक्षा सकिएपछि सोधिन्, 'ट्वाइलेट कता छ?'
उनलाई समाजशास्त्र विभागको शौचालय देखाइयो।
उनी गइन्। त्यो शौचालयमा 'डस्टबिन' थिएन। महिनावारी हुँदा लगाएको 'प्याड' फाल्ने ठाउँ उनले पाइनन्। उनले आफैंसँग भएको प्लास्टिकमा पोको पारिन् र घर लिएर गइन्।
'हामी नियमित सेमिनारहरु चलाइरहेका छौं,' उनले भने, 'गेष्ट लेक्चरहरू बोलाइरहेका छौं। बाहिरका राम्रा एन्थ्रोपोलोजिस्टहरू आउँछन् तर शौचालय नहुँदा लाजमर्नु हुन्छ। कहाँ लैजाने हुन्छ।'
शिक्षक थापा पुरूषकै लागि शौचालय नभएको बेला 'जेन्डरफ्रेन्ड्ली' शौचालयको कुरै गर्न नसकिने बताउँछिन्।
'जेन्डर फ्रेन्ड्लीको त के कुरा गर्नु र?' उनले भनिन्, 'यहाँ पुरूषकै लागि शौचालय छैन।'
शौचालयको अभावले विद्यार्थीहरूलाई पनि मर्का छ। यो विभागमा लगभग ६० जना नियमित विद्यार्थी हुन्छन्, एमफिल र एमए गरेर। वर्षमा एकपटक भर्ना खुल्छ, त्यसैले एकपटकमा एमए र एमफिलका दुईदुईवटा समेस्टर चल्छ। एक सेमस्टरमा २० जना हाराहारी विद्यार्थी भर्ना हुने शिक्षक राईले बताए।
'घडी भवनमा शौचालय त छन् तर तीन मिटर परैबाट दुर्गन्ध आउँछ, प्रयोग गर्नै सकिँदैन,' श्यामुले बताइन्।
उनका अनुसार यो विद्यार्थीका लागि बनाइएको शौचालय हो। पानीको प्रबन्ध राम्रो छैन। अझ पुरूष शौचालय पार गरेर महिला शौचालयमा जानुपर्छ। उभिएर पिसाब गरिरहेका पुरूषहरू आँखै अगाडि पर्छन्।
'अनि कसरी जाने, एउटा बार वा केही छेक्नेसम्म राखेर नदेखिने पनि बनाएको छैन,' उनले भनिन्, 'धेरैजसो छात्रा त्यहाँ जाँदैनन्, अरू विकल्प खोज्नुपर्छ।'
शिक्षक राईलाई एक जना विद्यार्थीले त्यहाँबाट पास गरेर गइसकेपछि त्रिवि पढ्दाको गुनासो सुनाएकी रहिछन्, 'हामी महिनामा चार दिन क्लास नै जाँदैन थियौं। प्याड फाल्ने र पानीको सुविधा भएको ट्वाइलेट भए हामीले क्लास छुटाउनुपर्ने थिएन।'
'जेन्डर स्टडी, इक्वालिटी, इम्पवारमेन्टका कुरा त कक्षामै सीमित भए,' श्यामुले भनिन्, 'यी कुरा त्रिविका ट्वालेटसम्म कहिले पुग्ने हुन् खै!'
यहाँको शौचालयको समस्या समेटेर विभागका विद्यार्थीले गत वर्ष वृत्तचित्र बनाए। यो वृत्तचित्र त्रिवि नेतृत्वलाई पनि देखाइयो। अहिलेसम्म केही फरक भने परेको उनी छैन।
मानवशास्त्र विभाग मात्रै होइन, यही भवनमा रहेका रहेका हिन्दी, संस्कृत, मनोविज्ञानलगायत विभागका पनि आफ्ना शौचालय छैनन्। राजनीतिशास्त्र विभाग साधारण भए पनि आफ्नो छुट्टै शौचालय भएको भाग्यमानी विभाग हो। नेपाली र अंग्रेजी विभागका पनि साधारण तर आफ्ना शौचालय छन्। पानीको अभावचाहिँ यी शौचालयले पनि झेलिरहेका छन्।
यो विभागको पछाडि केही जमिन चर्चिएर शौचालयका लागि छुट्टै सानो घर बनाइएको छ। यहाँ अहिले विश्वविद्यालयकै एक पिउनले डेरा जमाएका छन्। शौचालयका लागि बनाइएको घरमा उनको परिवार बसोबास गरिरहेको छ। वरपर उनले खेतीसमेत गरेका छन्।
'आर्थिक अभावले होइन,' शिक्षिका श्यामुले भनिन्, 'इच्छाशक्ति हुने हो भने जताबाट स्रोत जुटाएर पनि गर्न सकिन्छ। यो व्यवस्थापनको कमजोरी हो।'
समस्या समाधानका लागि पटकपटक कुरा उठाउँदा पनि कसैले चासो नदिएको राई र थापा बताउँछन्।
'हामीले पढाउने कि ट्वाइलेटका कुरा दिनदिनै गरेर बस्ने?' शिक्षक राईले भने, 'एकपटक भनेपछि विश्वविद्यालयले हल गर्न पर्यो नि। एकेडेमिक काम गर्ने मान्छेले सधैं ट्वाइलेटका कुरा गरेर बस्नु?'
त्रिवि प्रशासनले यस विषयमा ध्यानै नदिएको उनको गुनासो छ।
'मुख्य त विभागीय प्रमुखले पहल गर्नुपर्ने हो,' श्यामु भन्छिन्, 'उहाँहरूले पहल गरे बल्ल केन्द्रीय क्याम्पस वा त्रिविले सहयोग गर्छ। उहाँहरूको पहल नै पुगेन।'
विभागीय प्रमुख उप्रेती बिहीबार आफ्नो कार्यकक्षमा थिएनन्। बिहीबार र शुक्रबार प्रयास गर्दा पनि उनले फोन उठाएनन्। उनले के प्रयास गरिरहेका छन् भन्ने बुझ्न सकिएन।
शिक्षक राईचाहिँ यसमा त्रिविको सम्पूर्ण संरचना नै दोषी रहेको बताउँछन्। 'विभागीय प्रमुख पनि एकेडेमिक मान्छे हो,' उनले भने, 'शौचालय बनाइदेऊ भन्दै त्रिविका कर्मचारीलाई कतिपटक भन्न जाने? यो त ह्यारेसमेन्ट हुन्छ। यसकै लागि पटकपटक भिसी वा रेक्टर, रजिस्टार भेटिरहने कुरा पनि भएन।'
कुन विभागमा कस्तो भौतिक पूर्वाधार अभाव छ, त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा त्रिवि नेतृत्वले गम्भीर हुनुपर्ने उनको बुझाइ छ।
राईको दुखेसो छ, 'त्रिविमा केही गरौं भन्ने नेतृत्व नै छैन, सबै भागबण्डाबाट आएका छन्। उनीहरू पार्टीप्रति वफादार छन्, आफ्नो पार्टीका भ्रातृसंगठनप्रति वफादार छन् तर प्राध्यापक वा शिक्षकहरूप्रति कहिल्यै जवाफदेही भएनन्। त्रिविको दुर्भाग्य यही हो।'
त्रिविका चार संकायमध्ये मानविकी र समाज अध्ययन, शिक्षाशास्त्र र व्यवस्थापन संकायका सबै केन्द्रीय विभागहरूले यही समस्या भोगिरहेको उनले बताए। विज्ञान संकायका विभागहरू भने आधारभूत पूर्वाधारकाले केही सम्पन्न छन्।
'त्रिविको केन्द्रीय विभाग भनेपछि मान्छेहरूले कस्तो सोचिरहेको हुन्छ,' राईले भने, 'यहाँको हालत यस्तो छ। मानवशास्त्र विभागको कथाले त्रिविका केन्द्रीय विभागहरूको अवस्था कस्तो छ भन्ने झल्काउँछ।'
