प्रवीण खत्रीको पोस्टमार्टम रिपोर्ट: टाउकोमा नजिकैबाट गोली लागेर मृत्यु

लागुऔषध कारोबारी आरोपित प्रवीण खत्री मारिएको ललितपुर, कुसुन्तीको घटनास्थल।


ललितपुर, कुसुन्तीका प्रवीण खत्रीको मृत्यु टाउकोमा नजिकैबाट गोली लाग्नाले भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ।

टिचिङ अस्पताल महाराजगन्जको फोरेन्सिक ल्याबका वरिष्ठ चिकित्सक डा. हरिहर वस्तीले ‘घाउको प्रकृति हेर्दा नजिकैबाट गोली प्रहार भएको’ जानकारी दिए। फोरेन्सिक ल्याबले खत्रीको पोस्टमार्टम रिपोर्ट ललितपुर प्रहरीलाई बुझाइसकेको छ।

‘हामीले टाउकोमा गोली भेटेनौं,’ डा. वस्तीले सेतोपाटीसँग भने, ‘नजिकैबाट गोली हानिएकाले दायाँ कन्चटबाट छिरेको गोली दायाँ निधारबाट निस्किएको देखिन्छ।’

महानगरीय अपराध महाशाखा टोलीले गत साउन २३ गते प्रवीणको घर घेरेको थियो। उनी लागुऔषध र हतियार कारोबारी हुन् भन्ने सूचना प्रहरीलाई थियो। घर घेरिएपछि उनी दुवै हातमा पेस्तोल लिएर छतबाट भागेको प्रहरीले जनाएको छ।

प्रहरीलाई एक राउन्ड गोली चलाएपछि उनले आफैंलाई गोली ठोकेको महाशाखाका तत्कालीन एसएसपी दिनेश अमात्यले बताएका थिए।

प्रवीणका परिवारले भने प्रहरीले नै घरभित्र पसेर गोली हानेको बताउँदै आएका छन्।

टाउकोको घाउ हेरेर कसले चलाएको गोलीले उनको मृत्यु भएको भनी ठोकुवा गर्न नसकिने डा. वस्तीले बताए। ‘यस्तो कुरा फोरेन्सिक ल्याबले हेर्दैन,’ उनले भने।

खत्रीको टाउकोमा मात्र चोट भएको र शरीरका अन्य भागमा चोट नलागेको रिपोर्टमा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.