‘भारतीय सुटर’ लागुऔषध मुद्दामा जेलमा, प्रहरीले पत्ता लगायो उनको अनेकौं रुप

प्रहरीले सार्वजनिक गर्दै बब्लु तिवारी


२०६६ सालमा रुपन्देही प्रहरीले लागु औषध र हातहतियार मुद्दा एक जनालाई समात्यो, त्यस बेला पक्राउ परेका व्यक्तिले भारत जुगौली बताउँदै आफ्नो नाम बब्लु तिवारी प्रहरीलाई टिपाएका थिए।

गत पुस महिनाको अन्तिममा लागु औषधसहित एक जनालाई केन्द्रीय लागु औषध नियन्त्रण ब्युरोले काठमाडौंबाट एक जनालाई पक्राउ गर्यो ।
प्रहरीलाई उनले अरबिन्द यादव नाम बताएका थिए। लागु औषध मुद्दामा उनी जगन्नाथ जेल गए।

२०६६ साल र गत पुसमा पक्राउ परेका व्यक्ति एकै भएको प्रहरीले पत्ता लगाएको छ।  भारतको मोतिहारी रक्सौल १ घर भइ सीमा क्षेत्रमा आतंक फैलाउँदै आएका बब्लु तिवारीले हरेक पटक पक्राउ पर्दा नाम परिवर्तन गर्ने गरेको खुल्न आएको हो ।

रुपन्देही प्रहरी प्रमुख भएर जाने वित्तिकै एसपी श्याम ज्ञवालीले सीमा क्षेत्रमा आतंक मच्चाउनेको सूची संकलन गरेका थिए। अनुसन्धानका क्रममा हाल जगन्नाथ जेलमा रहेका तिवारी नै सीमा क्षेत्रमा आतंक मच्चाउने व्यक्ति रहेको ज्ञवालीले बताए।

‘२०६६ साल र गत पुसमा पक्राउ पर्दा उनले गरेको ल्याप्चे मिल्न गयो, ‘ एसपी ज्ञवालीले भने।  प्रहरीका अनुसार तिवारीले २०६६ सालमा जेलपछि छुटेर रुपन्देही, कपिलवस्तु लगायतका क्षेत्रका ब्यापारी तर्साएका थिए।

‘एक दर्जनभन्दा बढी ब्यापारीलाई गोली हानेर तर्साइ रकम असुल्ने गर्दथे,’ एसपी ज्ञवालीले भने । गत पुस भन्दा अघि उनले भैरहवाका उद्योगी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई गोली प्रहार गरी हत्याको प्रयास गरेका थिए।

प्रहरीका अनुसार उनी सुटर पनि हुन् ।

‘अपराध गरेपछि उनले प्रहरीबाट छल्न अनेकौं नाम र रुप देखाउने गरेका थिए, ‘हामीले पत्ता लगायौं’ एसपी ज्ञवालीले भने । प्रहरीले उनीसँग सम्बन्धित अन्य मुद्दाको फाइल समेत पल्टाएर हेर्ने काम सुरु गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.