मध्यरातमा पशुपतिनाथ टल्काउने जाँगरिला हातहरु

तस्बिर: अनिश रेग्मी/सेतोपाटी


‘मुन्द्रे’ भनेर चिनिने सुरजको हातमा भुइँ बढार्ने ब्रस थियो। उनी पशुपति आर्यघाटछेउ आफू बस्ने पाटीको भुइँ बढार्दै थिए।

‘खुम्ले’ उर्फ कुमार नयाँ बुट बजार्दै सुरजतिर आए।

निहुरिएर बढारिरहेका सुरजको आँखा ताक्दै कुमारले टल्किएको नयाँ बुट देखाए। भने, ‘ओई मुन्द्रे, यहाँ हेर् त मेरो नयाँ बुट!’

सुरज बोलेनन्। उनको खुट्टा नांगै भए पनि जुत्ता देखेर लोभिएनन्। मच्ची–मच्ची सफा गरिरहे। बेला–बेला खुइय्य काढ्दै एकछिन उभिन्थे, फेरि मच्चिँदै बढार्न थालिहाल्थे।

सुरजले मतलब नदिएपछि कुमार आफ्नो बाटो लागे। अलि पर पुगेर उनी सुरजजस्तै भुइँ पखाल्न थाले।

सुरज र कुमार पशुपति आर्यघाटछेउका पाटीमा बस्ने थुप्रै बालक तथा किशोरमध्ये हुन्, जसको आफ्नो घर छैन। बाबुआमा, नातागोता, आफन्त कोही छैनन्। मागेर, पैसा टिपेर, मन्दिरमा चढाइएका सामान बेचेर उनीहरू पेट भर्छन्। फुर्सदको समय खेलेर, जिस्किएर, झगडा गरेर बिताउने उनीहरू जस्तो पायो त्यस्तै ठाउँमा सुतिदिन्छन्।

बुधबार मध्यरात भने उनीहरू जागै थिए। र, यस्तो काममा हात बाँड्दै थिए, जुन उनीहरूले यसअघि कहिल्यै गरेनन्।

हातमा ब्रस, कुचो र पानीको जग बोकेर रातभरि फोहोर सफा गरिरहेका उनीहरू पशुपति क्षेत्र सरसफाइ अभियानका हिस्सेदार हुन्।

पशुपति क्षेत्र विकास कोष, बागमती सरसफाइ अभियान र खेम्स क्लिनिङले सोमबार रातिबाट सुरु गरेको यो अभियानका सूत्रधार हुन् खेम शर्मा, जो अस्ट्रेलियामा सरसफाइ कम्पनी चलाउँछन्।

उनको कम्पनी ‘खेम्स क्लिनिङ’ दुई महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइ गरेर रूपै फेरेपछि चर्चामा आएको थियो। उनले विमानस्थलकै कर्मचारी लिएर रात–रातभरि काम गर्दै चिरिचट्ट पारेको विमानस्थलले धेरैलाई चकित पारेको थियो। उनको त्यही अभियानले विमानस्थलको भुइँदेखि, यात्रु प्रतीक्षालयका सोफा, शौचालयसम्म ऐनाझैं टल्किएका छन्।

पशुपति क्षेत्र विकास कोषले खेमकै टोलीको सहयोग लिएर सोमबार रातिदेखि व्यवस्थित सरसफाइ थालेको हो। पूर्व मुख्य सचिव लीलामणि पौडेलको अग्रसरतामा चार वर्षअघि सुरु भएको बागमती सफाइ अभियान पनि कोष र शर्माको टोलीलाई सघाउन लागिपरेको छ।

यो खबर थाहा पाउनेबित्तिकै तेस्रो दिन बुधबार राति ८ बजे हामी पशुपति परिसर पुग्यौं। नौ बजे सफाइ थालिने समय तोकिएको थियो। बागमती सफाइ अभियानका एक अभियन्ता तथा साझा विवेकशील पार्टीका केन्द्रीय सदस्य राम साह राति ३ बजेसम्म खटिन पशुपति परिसर आइपुगे। सफाइ अभियानका अरु तीन जना र खेम्स क्लिनिङका दुई स्वयंसेवक साथमा थिए। उनीहरुले सिधै पशुपतिको मूल गेटअगाडि धारोमा लिएर गए।

सम्साँझै पशुपति धपक्क बल्छ। अझ बुधबार पूर्णिमाको रात थियो। पशुपति परिसरका चहकिला बत्ती र रोटीझैं गोलो चन्द्रमाको चहक पशुपतिनाथको छानोमा पर्दा झनै टल्किएको थियो। त्योभन्दा टल्किएको थियो, मूलगेट अघिल्तिर ढुंगा छापिएको बाटो, २०३२ सालमा स्थापना गरिएको बत्ती बाल्ने पाला र ढुंगेधारा। अभियन्ताहरुले सोमबार राति ९ देखि बिहान ४ बजेसम्म र मंगलबार ८ देखि २ बजेसम्म खटिएर यसको रुप फेरिदिएका हुन्।

‘न स्वर्गको चाह छ न मोक्ष नै, म नित्य डुबुँ प्रभुभक्तिमा नै’- भारती खरेलको स्मृतिमा उनका सन्तानले बनाएको ढुंगेधारामा यस्तो हरफ लेखिएको छ। ढुंगेधारामा विशेष अवसरबाहेक पानी खस्दैन। आकाशबाट झरेको पानीले उमारेको लेउ र जमेका धुलोले यो ढुंगेधारा तीन दिनअघिसम्म कालै थियो। छुँदा हाँडीको फेदमा छोएजस्तो हातभरी कालो लत्पतिन्थ्यो। ढुंगेधारा छेवैको पालाभरी जलेका बत्तीको कालो जमेको थियो। तामाको यो पालाको कतै पनि पहेँलो देखिँदैनथ्यो।

‘मान्नुस्, यो सिमेन्ट जति कडा छ, त्यति नै कडा थियो पालाको कालो,’ खेम्स क्लिनिङका एक स्वयंसेवकले पर्खालको सिमेन्टमा औंला दौडाउँदै पालातिर देखाउँदै भने, ‘अहिले मार्बलमा छोएजस्तो चिल्लो छ।’

नौ बज्न आँट्यो। खेम्स क्लिनङका स्वयंसेवक ड्रेस लगाएर तम्तयार थिए। खेमको टोलीमा अधिकांश प्लस टु पुस्ता छन्। सरसफाइ गर्न उनीहरुलाई कुनै हिच्किचाहट छैन।

सफाइ टोलीले बुधबार पशुपतिनाथ मन्दिरभित्रका भुइँ, भित्ता र गजुर सफा गर्ने निधो गरेको रहेछ। पूर्णिमाको रात परेकाले मन्दिरभित्र पञ्चबलि चल्दै थियो। उनीहरु मन्दिरको पूर्वीगेट मुन्तिरको घाटमा पुगे। नौ बज्नुअघि नै काम सुरु भयो। करिब ३० जना हाराहारी रहेको टोलीसँग अत्याधुनिक मेसिन थिए। मास्क, पञ्जा र बुट लगाएका उनीहरुमध्ये कोही ब्रस घोट्न थाले। कोही बढार्न त कोही पानी छ्याप्न। पानी छ्याप्ने मेसिन बन्दुकजस्तो थियो। पाइपको टुप्पोबाट निकै तिखोगरी पानी निस्कन्थ्यो। केही बेरमै मन्दिरको पूर्वी गेटको सिँढीबाट कालो लेदो झर्दै बागमतीमा मिसियो।

टोलीमा बोल्ने मात्र कोही थिएन। निर्देशन दिनेसमेत केही न केही गरिरहेकै हुन्थे। काम गरुन्जेल कसैले सेल्फी खिचेन। सफा गर्न तल्लीन रहनेमा केही परिचित अनुहार पनि थिए। पूर्व एआइजी विज्ञानराज शर्माले परिवारै लिएर आएका थिए। टिसर्ट, हाफप्यान्ट लगाएका उनी निकै जाँगरिला देखिन्थे।

‘म सफा गर्न जान्छु भन्दा उनीहरुले पनि जान्छौं भनेँ, ल जाउँ न त भनेर आयौं,’ बढारेको फोहोर उठाउँदै भाँडोमा हालिरहेका शर्माले सेतोपाटीसँग भने। उनका छोरा भने फोहोर बोकिरहेका थिए। श्रीमतीचाहिँ बागमती नदीकिनारको बाटोमा ब्रस लगाउँदै थिइन्।

विशेष गरी मूर्तिकलामा परिचित ७१ वर्ष पुगिसकेका कलाकार नरेन्द्रबहादुर श्रेष्ठको जोश पनि कम्ति देखिन्थेन। उनी पनि बागमती सफाइ अभियानमै छन्। ‘माथि मूलगेट अगाडिको ढुंगेधारामा पुग्नुभयो?’ उनले पहिले सोधे र गर्वसाथ भने, ‘सेतो लुगा लगाएर त्यहाँ सुत्नुस्, म ग्यारेन्टी दिन्छु, तपाईंको लुगामा केही लागेछ भने।’

सिँढीको माथिल्लो भागमा पिताम्बर वस्त्रधारी कोमल वली र प्रज्ञा शरद दिदी–बहिनी भुइँ घोट्दै थिए।

तपाईं नि यहाँ?

हुन त कोमल पशुपतिमा भेटिनु नौलो थिएन। हिन्दु धर्मप्रति अत्यन्तै आस्था राख्ने उनी शिव भगवानसँग जोडिने हरेक तिथि–मितिमा पशुपति मन्दिर पुग्न छुटाउँदिनन्। अक्सर रातो साडी र कालो चस्मा लगाएर पशुपति पुगेका तस्बिर उनको फेसबुकमा छ्यापछ्याप्ती भेटिन्छन्। बुधबार राति भने उनको हुलिया बेग्लै थियो। अघिल्लो दिन मात्र गृह जिल्ला दाङबाट फर्किएकी कोमलका दिदी–बहिनीले पशुपति सफा थाहा पाउनेबित्तिकै बुधबार साँझ सानेपादेखि पशुपति पुगिहाले।

‘शिवजीकोमा पार्वती छुट्ने कुरा भयो त?’ कोमलले सुरुमै ठट्टा गर्दै भनिन्, ‘आज त पूर्णिमाको दिन। शिवजीको दर्शन पनि हुने, सफा पनि हुने। हामी यहाँ पूजा गर्छौं, त्योभन्दा बढी फोहोर गर्छौं। म जहिल्यै पनि यहाँको फोहोर देखेर चिन्तित हुन्थेँ। अहिले खेमजीजस्ता व्यक्तिले सफाइको नेतृत्व लिनुभएको छ। त्यसैले मैले पनि सहयोग गर्नुपर्छ भन्ने बोध भयो। भ्याएसम्म सबै सफाइ चलुन्जेल आउँछु।’

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चिटिक्क बनाएर देखाइसकेका खेम शर्माको सफा गर्ने तरिका अलि बेग्लै रहेछ। सुरुमा बढारेर, ब्रसले घोटेर, बाहिरका फोहोर पानीले पखालिसक्दा नै सफा देखिइसक्छ।

खेमको टोलीको काम यत्तिमै सकिँदैन। त्यसपछि जमेका फोहोर काट्ने केमिकल हालिसकेपछि फेरि पानीको ‘गन’ ले हानिँदो रहेछ।

राति ९ बजेदेखि ३ बजेसम्म खटिने योजनाअनुरुप चलिरहेको सफाइको पहिलो चरणको काम सकिँदासम्म पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव खानासमेत नखाई सफाइमै खटिइरहेका थिए।

३९ वर्षीय प्रदीप ढकालले पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव सम्हालेको बुधबार २२ दिन मात्र भएको थियो। त्रिभुवन विश्वविद्यालयबाट संस्कृतिमा स्नातकोत्तर गरेर बनारस हिन्दु विश्वविद्यालयबाट ‘हिन्दु धर्ममा शान्तिको अवधारणा’ शीर्षकमा पिएचडी गरेका ढकालकै योजना रहेछ, पशुपति सफाइ।

उनी सदस्य सचिवमा नियुक्त भएको एक महिना नपुग्दै पशुपति क्षेत्रमा परिवर्तन देखिन थालेको छ। मन्दिरमा चढाइएका बोकाहरुलाई उनले आएको केही दिनमै मृगस्थली जंगलको एक छेउमा गोठ बनाएर थन्क्याइसकेका छन्। केही दिनमै भुस्याहा कुकुरको व्यवस्थापन र पार्किङ व्यवस्थित गरिने उनको योजना छ। एक वर्षभित्र उनले पशुपति क्षेत्रलाई धार्मिक गन्तव्यको रुपमा मात्र नभई, आन्तरिक पर्यटनको केन्द्रसमेत बनाउने घोषणा गरेका छन्। त्यसका लागि उनले पशुपति क्षेत्रलाई पैदलले चक्कर लगाउन सकिने गरी ढुंगा छापिएको बाटो बनाउने योजना बुनेका छन्। लागुपदार्थ र दुर्व्यसनी रोक्ने, माग्नेहरुको समेत व्यवस्थापन गरिने उनले बताए।

‘पशुपतिसँग मेरो लगाव त्रिभुवन विश्वविद्यालयमा पढ्दै गर्दा देखिको हो,’ ढकालले सेतोपाटीसँग भने, ‘सँस्कृति मेरो मूल विषय भएकाले यो ठाउँ मेरो अध्ययनको विशेष थलो थियो। त्यतिबेलै मैले यहाँका स–साना चिजको ठूलो महत्व देखेको थिएँ। जब म सदस्य सचिव भएर आएँ, परिवर्तनको प्रारम्भिक सुरुआत सरसफाइबाटै गर्नुपर्छ भन्ने लाग्यो। देशकै ठूलो तीर्थस्थलमा गनिने यो ठाउँलाई पहिले सफा बनाउन सके धेरैको आँखामा पर्छ।’

उनले कार्यभार सम्हालको तेस्रो दिनदेखि नै सरसफाइलाई मुख्य कामको सूचिमा समावेश गरे। सरसफाईको टोलीसँग सम्पर्क गरे। पशुपति क्षेत्रभित्र ६६ जना त सरसफाइकै कर्मचारी रहेछन्।

उनलाई त्यति जनशक्ति पशुपतिको पुरै क्षेत्रको मुहार चम्काउन अपुग लाग्यो। अर्कोतिर, सुरुमै सबै कर्मचारीको विश्वास जितेर उनीहरुबाट काम लिन पनि उनलाई अप्ठ्यारो हुने शंका पलायो। भेट त भएको थिएन, सञ्चारमाध्यममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चिटिक्क पार्ने खेम शर्माको बारेमा पढेका थिए। उनलाई लाग्यो, एक महिनामै त्यत्रो परिवर्तन देखाउन सक्नेले पशुपतिलाई पनि मैले सोचेअनुसारको बनाउन सक्छ।’
संस्कृति मन्त्रालयका साथीमार्फत् खेम शर्मालाई भेटे। उनले तुरुन्तै सघाउने वचन दिए। केही दिनमै बागमती सफाइ अभियानले पनि पशुपति क्षेत्र विकास कोष र खेम शर्मालाई सघाउने प्रतिवद्धता दियो। र, काम सुरु भयो सोमबार रातिदेखि।

काम गर्नेलाई पनि अवरोध नहुने र तीर्थालुलाई पनि अवरोध नहुने भएपछि उनीहरुले रातिको समय रोजे। यसअघि खेम शर्माले त्यहीँका कर्मचारीलाई लिएर राति नै काम गरेका थिए।

शर्मा यतिबेला नेपालमा छैनन् तर सरसफाइ चलिरहेको छ। उनी एक–एक घन्टामा आफ्नो टोलीको संयोजक, सदस्य सचिव ढकाल र बागमती सफाइ अभियानका अभियन्ताहरुसँग सम्पर्कमा बसिरहन्छन्।

हाल अष्ट्रेलियामा रहेका खेम आठ वर्षदेखि खेम्स क्लिनिङ कम्पनीमार्फत् सरसफाइको व्यवसाय चलाउँछन्। हाल नेपालमा उनले गरिरहेको काम भने व्यवसाय नभई समाजसेवा हो। उनको टोलीमा जति पनि छन्, अधिकांश प्लस टु वा त्योभन्दा बढी पढेका छन्। उनीहरु अधिकांश स्वयंसेवक नै हुन्। सफाइको काम गर्न उनीहरु हिच्किचाउँदैनन्।

उनीहरुलाई खेमले नै यसरी तयार पारेका हुन्।

‘मैले सबै जनालाई पहिले नै तालिम दिएको छु,’ खेमले अष्ट्रेलियाबाटै फोनसम्पर्कमा सेतोपाटीसँग भने, ‘काम के हो, काम किन गर्ने, समय के हो र समयको महत्व किन छ। हामी तोकिएको समयभन्दा पाँच/दस मिनेट अगाडि नै फिल्डमा गइसक्छौं र ठ्याक्कै समयमा काम सुरु गर्छौं। हामी ठाउँ मात्र होइन, काम गर्ने मानिससमेत सफा हुनुपर्छ भन्छौं।’

नेपालका अधिकांश युवा विदेशमा छन्। तीमध्ये सर–सफाइको काममा गएका त अधिक। आफ्नै कम्पनीमार्फत् अष्ट्रेलिया सफा गरिरहेका खेमले आफैंलाई प्रश्न गरे, ‘हामी यहाँ अरुको देश सफा गर्ने, तर आफ्नै देशचाहिँ फोहोरै राख्ने?’ यही आत्मदवाबले उनलाई एयरपोर्ट चिटिक्क पार्न हौस्यायो।

खेमले अहिले जसरी सफाइ गरिरहेका छन्, जनशक्ति यहीँका हुन्। उनले प्रयोग गरिरहेको औजारदेखि केमिकलसम्म नेपालमै पाइन्छ। तर, अरुको र खेमको काम गराईमा कि भिन्नता?

हामीले यो प्रश्न खेमलाई नै सोधेका थियौं।

‘सरसफाइ हाम्रो स्वास्थ्य मात्र होइन, पर्यटनसँग पनि जोडिन्छ,’ उनले भने, ‘पर्यटन भनेको आर्थिक समृद्धिको कुरा भयो। सफा भएपछि विदेशीहरुले प्रशंसा गर्ने भए। थप पर्यटक आउने भए। त्यसैले हामी देश सफा हुनुपर्छ भन्नेमा चिन्ति छौं। त्यसले हामीलाई काममा इमान्दार बनाएको छ। हामी काम सुरु गर्नुअघि समयभन्दा अगाडि पुग्छौं। काम गर्दा चाहिने सबै सामान अगाडि नै तयार हुनुपर्छ। एउटा सानो चिजले रोकियो भने काममा पुरै हलचल हुन्छ।’

‘हामी ठान्छौं– हामीले अरुले आशा गरेभन्दा राम्रो नतिजा दिनुपर्छ किनकि, त्यसको विशेषज्ञ हामी हौं।’

यही प्रश्न हामीले पशुपति परिसरमा सफा गर्न खटिएका केही व्यक्तिलाई सोधका थियौं। जसमा सबैको उस्तै भनाइ थियो, ‘काम उही, शैली फरक। मान्छे उही, ऊर्जा फरक।’

अधिकांश अभियान उद्देश्य पूरा गरेपछि सीमित बिन्दुमा पुगेर टुंगिन्छन्। सरसफाइ यस्तो अभियान हो, जुन कहिल्यै टुंगिँदैन। देशभरी नै सरसफाइ अभियानको लहर ल्याउन चाहने खेम सबै ठाउँमा पुग्न सक्दैनन्। त्यसैले अनुरोध गर्छन्, ‘साँझ खाना खाइसकेपछि छत या आँगनमा बसेर गफ गर्नुभन्दा एक/डेढ घन्टा गफ गर्दै टोल सफा गरौं।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.