दुई इतिहासकारको चार दशक लामो झगडा

कमलप्रकाश मल्ल भर्सेस महेशराज पन्त

तस्बिर सौजन्य: कमलप्रकाश मल्ल (पारिवारिक स्रोत) र महेशराज पन्त (नागरिक)


समाज विज्ञान सूत्रमा आधारित हुँदैन। विचार, विधि र पक्षका आधारमा एउटै विषयको परस्परविरोधी नतिजा आउन सक्छ। यसले कहिलेकाहीँ यस्तो बहस सिर्जना हुन्छ, जुन प्राज्ञिकबाट व्यक्तिगत आरोपप्रत्यारोपमै रूपान्तरण हुन पुग्छ।

दुई ख्यातिप्राप्त इतिहासकारको साढे चार दशक लामो झगडा यसैको एउटा उदाहरण हो।

ती इतिहासकार हुन्- त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक कमलप्रकाश मल्ल र संशोधन मण्डलका महेशराज पन्त।

प्राध्यापक मल्ल साहित्यका विद्यार्थी थिए। आधुनिक शिक्षा पाउने सुरूआती पुस्ताका थोरै भाग्यमानी नेपालीमध्ये उनी एक हुन्।

उनले मुजफ्फरपुर (भारत) को बिहार विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमए गरे। पछि बेलायतको लिड्स विश्वविद्यालयबाट बिए ‘अनर्स’ गरे। त्रिभुवन विश्वविद्यालय सुरु भएको दुई-तीन वर्षभित्रै यहाँ पढाउने अवसर पाए। पढाउँदै गर्दा बेलायतबाटै भाषाशास्त्रमा पिएचडी पनि गरे।

साहित्य र भाषाशास्त्रका विद्यार्थी भए पनि उनको रूचि संस्कृतितर्फ तानियो। उनले इतिहासमा पनि कलम चलाए। त्यही भएर इतिहास हेर्ने उनको दृष्टिकोण संस्कृतिकेन्द्रित छ। खासगरी मल्लले काठमाडौंको नेवारी संस्कृति र इतिहासबारे विषद ज्ञान हासिल गरेका थिए। नेपालको इतिहास हेर्ने सन्दर्भमा उनको यो दृष्टिकोणले प्रभाव पारेको पाइन्छ।

संशोधन मण्डलका सदस्य महेशराज पन्त भने इतिहास अध्ययनको बिरादरीमा हुर्किएका हुन्।

उनका पिता नयराज पन्तले स्थापना गरेको गुरूकुलमा उनले सानैदेखि नेपालको इतिहासबारे पढ्ने अवसर पाए। ख्यातिप्राप्त संशोधन मण्डलका महत्वपूर्ण सदस्य उनले चाँडै नै नेपाली इतिहासका विभिन्न पक्षमा कलम चलाउन थाले। नेपालको इतिहासबारे अथाह जानकारी र सामग्रीमाझ हुर्किएका पन्तले चाँडै नै नेपाली इतिहासकारका रूपमा आफ्नो विशिष्ट पहिचान बनाए।

उनको इतिहास लेखन खासगरी पृथ्वीनारायण शाह केन्द्रित छ। पृथ्वीनारायण र शाहवंशबारे धेरै अध्ययन अनुसन्धान गरेकाले उनले नेपालको इतिहासलाई पृथ्वीनारायण शाह केन्द्रमा राखेर व्याख्या गर्ने गरेका छन्।

ज्ञानको पूर्वीय परम्परामा हुर्किएका महेशराजको जोड व्याख्या विश्लेषणभन्दा ‘एक्वीरेसी’ मा थियो। इतिहासमा योगी नरहरिनाथ र बाबुराम आचार्यको पथलाई उनीहरूले संशोधन गर्दै निरन्तरता दिएका छन्।

यता, पश्चिमा आधुनिकता र शिक्षा प्रणालीबाट प्रभावित मल्ल इतिहास लेखनमा भएको पश्चिमा विकासबारे पनि अवगत थिए। उनी नेपालको इतिहास लेखनमा यस्तै अपेक्षा राख्थे। फादर लुडविग स्टिलर वा नेपाली अर्थराजनीतिक इतिहासकार महेशचन्द्र रेग्मीले लेख्ने किसिमको विश्लेषणात्मक इतिहास उनको रूचिमा पर्थ्यो।

‘मल्लजी अलि विश्लेषणात्मक इतिहास लेखन रूचाउनुहुन्थ्यो,’ लामो समय त्रिभुवन विश्वविद्यालयमा इतिहास अध्यापन गरेका प्राध्यापक त्रिरत्न मानन्धर भन्छन्, ‘संशोधन मण्डलको ध्यान धेरै तिथिमिति र राजा-महाराजाको नाम कुन ठीक भन्नेतिर हुन्थ्यो, ‘एक्वीरेसी’ मा उहाँहरूले ध्यान दिनुभयो। त्यसैले, उहाँहरूबीच एकअर्काको काम नरूचाउने परिस्थिति थियो।’

मल्ल र संशोधन मण्डलबीच सामान्य मतभेद पहिलेदेखि नै भए पनि २०२९ सालसम्म लिखित रूपमा कतै देखा पर्दैन।

२०२९ सालबाट देखिन थालेको दुई पक्षको मतभेद एक दशकमै व्यक्तिगत आरोपप्रत्यारोपमा पुग्यो। २०४० चैतमा पन्तले आफ्नो पत्रिका ‘पूर्णिमा’ मा मल्ललाई २९ पृष्ठ लामो चिठी लेखेपछि मतभेद झगडाको रूपमा छताछुल्ल भयो।

त्रिविको आर्थिक अनुसन्धान तथा विकास केन्द्र (सेडा) ले २०२९ सालमा ‘नेपाल इन पर्सपेक्टिभ्स’ नामक ग्रन्थ प्रकाशन गरेको थियो। प्राध्यापक मल्ल र पशुपतिशमशेर राणा यसका सम्पादक थिए। यसलाई नेपाल चिनाउने महत्वाकांक्षी पुस्तकका रूपमा लिइन्थ्यो। पुस्तकको सम्पादकीयमै नेपाल चिनाउने पुस्तक भनी दाबी गरिएको छ।

महेशराज पन्तले २०३१ माघमा संशोधन मण्डलको पत्रिका ‘पूर्णिमा’ मा ‘नेपाल इन पर्सपेक्टिभ्स’ को आलोचना गरेर एउटा लेख लेखे। यसमा उनले ‘नेपाल इन पर्स्पेक्टिभ्स’ मा भएका लेखमा रहेका तिथिमिति र नामका त्रुटि केलाउँदै मल्ल र राणामाथि व्यङ्ग्य गरे।

‘संसारलाई नेपालको परिचय दिन कम्मर कसेका विशेषज्ञ भनाउँदाहरूको ज्ञान कुन तहको छ भन्ने देखाउन ती सबै अशुद्धीको सप्रमाण खण्डन पूर्णिमाको यही अंकमा प्रकाशन गर्ने विचार गरिएको थियो,’ पन्तले लेखेका छन्। एकै अंकमा सबै त्रुटि औंल्याउन सम्भव नभएको भन्दै उनले पछि पनि निरन्तर यसबारे लेखिरहने उक्त लेखमा उल्लेख गरेका छन्। त्यसपछि विभिन्न लेखमा उनले यो पुस्तकको आलोचना गर्ने काम गरिरहे। एक दशकपछि ‘नेपाल इन पर्सपेक्टिभ्स’ को दोस्रो भाग निकाल्ने प्रसंग सुन्नासाथ मल्ललाई सम्पादक बनाउन उचित छैन भनी लेखे। यसमा पनि उनले मल्लका त्रुटि केलाउन मेहनत गरेका छन्।

घोचपेच चल्दै जाँदा यो दशकको अन्तिमतिर विवाद र मतभेदले झगडाकै रूप लिन खोजेको देखिन्छ। यसबेलाको मुद्दा नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन हुन्छ कि हुन्न भन्ने थियो।

बहसबाट झगडातिर

कमलप्रकाश मल्लले मेरी स्लसरको पुस्तक ‘नेपाल मण्डल’ बारे २०४० सालमा समीक्षा लेखे। यही समीक्षाले दुई इतिहासकारबीच झगडाको आगो बाल्न मट्टीतेलको काम गर्‍यो।

त्रिविको नेपाल तथा एसियाली अनुसन्धान केन्द्रबाट प्रकाशित हुने ‘कन्ट्रिब्युसन्स टु नेपाल स्टडिज’ को २०४० पुस अंकमा मल्लको यो समीक्षा प्रकाशित भएको थियो। यसमा नेपाल उपत्यकाको इतिहास र संस्कृतिबारे मल्लको विषद ज्ञानको छाया देखिन्छ। यो समीक्षा उनले संशोधन मण्डलको आलोचना गर्न पनि प्रयोग गरेका छन्, तर प्राज्ञिक लेखनको भाषा र दायरबाट उनी बाहिर निस्केका छैनन्।

यसमा उनले संशोधन मण्डलको ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ नामक कृतिको जमेर आलोचना गरेका छन्। मेरी स्लसरले यो पुस्तकलाई आफ्नो महत्वपूर्ण स्रोतका रूपमा प्रयोग गरेकी थिइन्। स्लसर भर परेको यो पुस्तकलाई मल्लले जबर्जस्ती महत्व सिर्जना गर्न खोजिएको भनी आलोचना गरेको प्राध्यापक मानन्धर बताउँछन्।

‘मल्लजीले नेपाल मण्डलको समीक्षा गर्दा संशोधन मण्डलको दिव्योपदेशबारे त्यति आलोचना नगर्नुभएको भए हुन्थ्यो,’ उनले भने, ‘यसले महेशराजजीहरूलाई थप चित्त दुखाएको हुनसक्छ। त्यसलगत्तै महेशराजजीले २९ पृष्ठ लामो चिठी लेख्नुभयो।’

यो १३५० पृष्ठको किताबमा नयराज पन्तले गरेको दिव्योपदेशको काव्यात्मक रूपान्तरण, आधुनिक नेपाली भाषामा व्याख्या, पृथ्वीनारायण शाहसँग सम्बन्धित चिठीपत्र, भाषा वंशावलीको पृथ्वीनारायण शाहसँग सम्बन्धित खण्ड, शुद्धिपत्रसमेत समावेश छ। पृथ्वीनारायण शाहको १० पृष्ठको उपदेशलाई जबर्जस्ती १३५० पृष्ठको पुस्तक बनाइएको भन्दै मल्लले आलोचना गरेका छन्। उनले पृथ्वीनारायण शाहको दिव्योपदेश बुझ्न संशोधन मण्डलको पुस्तकभन्दा लुडविग स्टिलरको ‘पृथ्वीनारायण शाह इन द लाइट अफ दिव्योपदेश’ भन्ने ७८ पृष्ठको पुस्तक धेरै उपयोगी भएको तर्क गरेका छन्।

‘यसले पनि महेशराजजीलाई धेरै नराम्रो लागेको हुनसक्छ,’ प्राध्यापक मानन्धर भन्छन्, ‘संशोधन मण्डलले निकै मेहनतले तयार गरेको किताबलाई उहाँले स्टिलरको किताबसँग दाँजिदिनु भयो, त्यो पनि अर्कै किताबको समीक्षा लेख्दा।’

मल्लले संशोधन मण्डल र दिव्योपदेशको आलोचना गरे पनि प्राज्ञिक भाषा नै प्रयोग गरेको मानन्धर बताउँछन्। पन्तले लेखेको २९ पृष्ठ लामो चिठीमा भने प्राज्ञिक मतभेदभन्दा धेरै व्यक्तिगत आक्षेपले ठाउँ लिएको छ। उनलै सन्दर्भ नै नभएका यसअघिका सबै विवाद यो लेखमा ल्याएका छन्।

पन्तले लेखेको चिठीमा सुरूका निकै पाना संशोधन मण्डलले तयार पारेको यही पुस्तकको महत्व बुझाउन खोजिएको छ भने केही पृष्ठ स्टिलरले दिव्योपदेशमा गरेको अनुवादका गल्ती औंल्याउन। स्टिलरले अनुवादमा गरेको गल्ती औंल्याएर उनले आफ्नो पुस्तकको महत्व बुझाउने प्रयास गरेका छन्।

चिठी प्रकाशित हुनुअघिसम्म प्राज्ञिक स्तरमा भइरहेको बहस त्यसपछि भने व्यक्तिगत आरोपप्रत्यारोपमा रूपान्तरण भएको थियो।

‘विद्वानहरूबीच बहस हुनु राम्रो हो,’ प्राध्यापक मानन्धर भन्छन्, ‘तर यस्तो व्यक्तिगत आरोपप्रत्यारोप उहाँहरूका लागि सुहाउँदो थिएन। यसले प्राज्ञिक बहस ओझेल पार्ने र विषयान्तर गर्ने काम गर्‍यो। उहाँहरूको यो भिन्न दृष्टिकोणले हामीलाई नेपाली इतिहास अध्ययनबाट प्राप्त हुनसक्ने कुनै पनि नयाँ कुरा प्राप्त भएन।’

महेशराज पन्तले यो चिठीमा ‘इनाप’ पत्रिकाको गाईजात्रे अंकमा आफ्नो मानमर्दन गरेको भन्दै असन्तुष्टि पनि पोखेका छन्। उक्त अंकमा हास्य व्यंग्यका रूपमा ‘श्री मदेशदाश पन्तले रचना विभागबाट’ चार हजार रूपैयाँ दक्षिणा लिएर नेपाल संवतको विरोध गरेको स्वीकार गरे भनी लेखिएको छ। ‘इनाप’ का सम्पादक प्राध्यापक मल्लका भाइ मल्ल के सुन्दर थिए। यसमा कमलप्रकाश मल्ल आफैं संलग्न थिएनन्।

प्राध्यापक मानन्धर भन्छन्, ‘कमलप्रकाशजी संलग्न नरहेकाले यसबारे महेशराजजीले उल्लेख नगर्नु नै बुद्धिमानी ठहर्थ्यो।’

पन्तले चिठीमा कमलप्रकाश मल्ल अवसरवादी चरित्र भएका तर इतिहासबारे कलम चलाउन पर्याप्त ज्ञान नभएका व्यक्ति भएको आरोप लगाएका छन्।

मल्लले यसको जवाफमा अर्को लामो लेख लेखेका छन्, ‘इम्पेकेबल हिस्टोरियोग्राफी इन नेपाल: अ रिबटल’। २०४१ सालमा उनले तयार पारेको यो लेख नेपाल अध्ययन केन्द्रले पुस्तिकाकै रूपमा प्रकाशन गर्यो। यो लेखमा उनले मूलत: मेरी स्लसरले संशोधन मण्डलको प्रशंसा गर्न प्रयोग गरेको ‘इम्पेकेबल हिस्टोरियोग्राफर’ भन्ने शब्दावलीको आलोचना गरेका छन्। विश्वमा कुनै पनि देशमा नभएको ‘इम्पेकेबल’ अर्थात् ‘पूरै त्रुटिहिन’ इतिहासकार भनी संशोधन मण्डललाई उडाएका छन्।

यो लेखमा मल्ल पनि प्राज्ञिक स्तरबाट ओर्लिएर व्यक्तिगत गालीगलौजमा पुगेको प्राध्यापक मानन्धरको टिप्पणी छ। मल्लले यहाँ पन्तको आनीबानीबारे उनका पिता नयराज पन्तले आफूलाई सुनाएका कुरासमेत उल्लेख गरेका छन्।

प्राध्यापक मानन्धरको बुझाइमा मल्लले नेपाली इतिहासबारे केही महत्वपूर्ण विषय उठान गरेका थिए। नेवार भएकै कारण ती विषय उठान गरेको भन्ने महेशराज पन्तहरूको सोच रह्यो। उनीहरूले सधैं मल्ल जातिवादी र पश्चिमाबाट प्रभावित भएको आरोप लगाइरहे।

मल्लले पनि संशोधन मण्डललाई दरबारको भक्ति गाउने समूहका रूपमा पूर्वाग्रही आँखाले मात्रै हेरे। संशोधन मण्डलले नेपालको इतिहास लेखनमा पुर्याएको योगदानको कदर गर्न सकेनन्।

व्यक्तिगत आरोपप्रत्यारोपले धेरै ठाउँ लिए पनि यी दुई इतिहासकारबीचको विवादमा केही महत्वपूर्ण विषय छन्। तीमध्ये एउटा नेपाल संवत र विक्रम संवतको इतिहास हो।

प्राचीन नेपाल विशाल थियो कि थिएन भन्ने अर्को प्रश्नमा यी दुई इतिहासकारको मत बाझिएको छ, जुन अहिलेसम्म विवादकै विषय छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन् कि गोर्खा राज्य विस्तार गरेका हुन् भन्ने विषयमा पनि यी दुई इतिहासकारको मत बाझिएको छ।

‘नेपाल संवतको सान्दर्भिकता’ र ‘नेपाल संवतलाई राष्ट्रिय मान्यताको अनौचित्य’

२०३६ सालमा नेपाल भाषा मंका: खल:ले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिनुपर्ने माग अघि सारे। यसले आन्दोलनकै रूप लियो। त्यसबेला खल:का अध्यक्ष पद्मरत्न तुलाधर थिए भने महासचिव थिए मल्ल के सुन्दर।

यो मागलाई कमलप्रकाश मल्लले प्राज्ञिक समर्थन दिए। महेशराज पन्त भने विरोधमा थिए। उनले पटकपटक नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन नहुने धारणा राख्दै आएका थिए।

मल्ललाई लेखेको २९ पृष्ठ लामो चिठीमा उनले यसको कारण खुलाएका छन्,’जब यस्ता माग पूरा हुँदै जान्छन्, तब अरू माग बढ्दै जान्छन् र हाम्रा पुर्खाले निकै कष्टले आर्जेको हाम्रो देशको राष्ट्रिय एकतामा खलल पर्न जान्छ भन्नेदेखि एक जना ऐतिहासिकको नाताले यस विषयमा बोल्नु मैले जरूरी ठहर्याएँ।’

नेपाल संवतलाई राष्ट्रिय मान्यता दिनहुन्न भनी ‘मानस’ पत्रिकामा उनको अन्तर्वार्ता छापिएको उनले यही पत्रमा उल्लेख गरेका छन्। २०३९ सालमा उनले ‘नेपाल संवतको राष्ट्रिय मान्यताको अनौचित्य’ भन्ने पुस्तिका छपाए। २०३९ सालमै मल्लले ‘दि रिलेभेन्स अफ नेपाल संवत’ अर्थात ‘नेपाल संवतको औचित्य’ शीर्षकको लेख छपाए।

पन्तको पुस्तिका र मल्लको लेख प्रकाशित भएको तिथिमिति पनि रोचक छ। पन्तको पुस्तक विक्रम संवत सुरु हुने दिन अर्थात् २०३९ वैशाख पूर्णिमामा सार्वजनिक भएको थियो भने मल्लको लेख नेपाल संवत सुरू हुने दिन नै प्रकाशित भयो।

यो लेखमा प्राध्यापक मल्लले पन्तलाई जवाफ दिँदै नेपाल संवतको महत्व स्थापित गर्ने प्रयास गरेका छन्। यही क्रममा उनले नेपालमा श्री ३ चन्द्रशमशेरको पालादेखि सरकारी कामकाजबाट नेपाल संवत हटाई विक्रम संवत प्रयोगमा ल्याएको दाबी गरेका छन्।

पन्तले उनको यो दाबी खण्डन गरेका छन्। मल्ललाई लेखेको चिठीमा उनले लेखेका छन्, ‘नेपाल संवत पहिले पनि नेवार राज्यमा मात्र प्रचलनमा थियो, पछि नेपाल राज्य एक हुँदै गएपछि यस संवतको चलनचल्ती अझ घट्दै गयो…। विक्रम संवतको चलन नेपाल राज्य एक हुनुअघिको होइन, अनेकन राज्यमा सयौंवर्ष अगाडिदेखि थियो, नेवार राजाहरूका राज्यमा पनि विक्रम संवत नौलो थिएन।’

प्राध्यापक मानन्धर यी दुवै दाबीलाई अतिवादीको उपमा दिन्छन्।

उनका अनुसार मध्ययुगको नेपाल उपत्यकामा नेपाल संवत नै प्रयोग भएको प्रशस्तै प्रमाण भेटिन्छ। विक्रम संवतको प्रचलन भने चन्द्रशमशेरले नचलाएको उनी बताउँछन्।

‘पृथ्वीनारायण शाहले काठमाडौं जितेसँगै विक्रम संवतको प्रचलन नेपाल उपत्यकामा सुरु भयो,’ मानन्धर भन्छन्, ‘चन्द्रशमशेरले सिक्कामा सक संवत हटाएर विक्रम संवत राखेका हुन्।’

उनका अनुसार चन्द्रशमशेरले तिथिको प्रचलन हटाएर गते चलाउन पनि सुरु गरेका थिए। यसलाई मल्लले झैं चन्द्रशमशेरले नै नेपाल संवत हटाएर विक्रम संवत चलाएको भनी व्याख्या गर्नु गलत हुने उनको भनाइ छ।

नेपाल संवतको राष्ट्रिय मान्यताले नेपालको एकतामा खलल पुर्याउँछ भन्ने पन्तको धारणा पनि गलत भएको उनी बताउँछन्।

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सरकारले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिइसकेको छ। अहिले नेपालका दैनिक पत्रिका, पात्रो, भित्तेपात्रोहरू सबैतिर विक्रम संवतसँगै नेपाल संवत पनि देख्न सकिन्छ। यसले राष्ट्रिय एकतामा खलल नपुर्‍याएर अझ बलियो बनाउन सहयोग पुर्‍याएको मानन्धरको धारणा छ।

नेपाल संवतलाई राष्ट्रिय मान्यता दिँदा विक्रम संवतलाई खारेज गर्नुपर्छ भन्ने माग पनि व्यवहारिक नभएको उनको टिप्पणी छ।

‘नेपाल संवतलाई राष्ट्रिय मान्यता दिनु राम्रो कुरा हो,’ उनी भन्छन्, ‘तर अब विक्रम संवत हटाएर नेपाल संवत मात्रै चलाउनुपर्छ भन्ने माग व्यवहारिक थिएन।’

के प्राचीन नेपाल विशाल थियो?

महेशराज पन्तका पिता नयराज पन्तले प्राचीन नेपाल अहिलेको जत्रै विशाल रहेको, स्थिर सीमा रहेको र राजनैतिक स्थिरता रहेको दाबी गरेका छन्। महेशराज पन्तले पनि आफ्ना पिताकै भनाइ अनुसरण गर्दै आएका छन्।

भारतको इलाहावादमा रहेको समुद्रगुप्तको शिलालेखलाई उनले यसको एक प्रमाणका रुपमा दाबी गरेका छन्। यो शिलालेखको ‘कामरूप नेपाल कर्तृपुर’ भन्ने वाक्यांशलाई नेपाल ठूलो थियो भन्ने प्रमाणका रूपमा नयराजले पेस गरेका छन्। कामरूप (अहिलेको भारतको आसाम राज्य) र कर्तृपुर (कुमाउँ गढवाल) को बीचमा नेपाल उल्लेख भएकाले तत्कालीन नेपाल अहिलकै जत्रो थियो भन्ने उनको दाबी छ।

मल्लले भने पन्तको दाबी ‘हावादारी’ भनेका छन्। कर्तृपुर र कामरूपको बीचमा नेपाल शब्द हुनु यो बीचको सबै भूभाग नेपाल थियो भन्ने प्रमाण नभएको उनको तर्क छ।

नयराज पन्तले मानदेवको चांगु शिलालेखलाई पनि यसको प्रमाणको रुपमा अघि सारेका छन्। मल्ल भने यो शिलालेखको अर्थ प्रस्ट नभएको दाबी गर्छन्।

प्राध्यापक त्रिरत्न मानन्धर यस विषयमा थप अनुसन्धानको खाँचो रहेको औंल्याउँछन्।

‘नेपाल विशाल थियो भन्ने यथेष्ट प्रमाण छैन,’ उनी भन्छन्, ‘यो समयको दक्षिण एसियाको इतिहास हेर्ने हो भने एकदमै ठूलो अस्थिरता देखिन्छ।’

यक्ष मल्लको पालामा आएर मात्रै नेपाल विभाजन भएको भन्ने पन्तको दाबी असंगत देखिने उनको टिप्पणी छ। बरू त्यसबीच कुनै कालखण्डमा नेपालको सीमाना काठमाडौं उपत्यका नाघेर केही बाहिरसम्म फैलिएको हुनसक्ने उनी बताउँछन्।

‘यति टिप्पणी गरेर पुग्दैन,’ उनले भने, ‘यो अनुसन्धानयोग्य विषय हो। थप अनुसन्धानको खाँचो छ।’

नेपाल एकीकरण कि गोर्खा राज्य विस्तार?

प्राध्यापक मल्ल र इतिहासकार पन्तबीच पृथ्वीनारायण शाहको सैनिक अभियान नेपाल एकीकरण हो कि गोर्खा राज्य विस्तार भन्नेमा पनि विवाद छ।

इतिहास संशोधन मण्डलले यसलाई नेपाल एकीकरणको अभियान भनेको छ भने कमलप्रकाश मल्लले गोर्खा राज्य विस्तार भन्ने शब्दावली प्रयोग गरेका छन्।

प्राचीन कालमा विशाल रहेको नेपाल बीचमा टुक्राटुक्रा भएकाले पृथ्वीनारायण शाहले एकीकरण गरेको तर्क संशोधन मण्डलको छ। मल्लले यसबारे कुनै तर्कवितर्क गरेका छैनन्, तर गोर्खा राज्य विस्तार भन्ने शब्दावली प्रयोग गरेका छन्।

नेपाली इतिहासको अध्ययनमा चासो राख्नेमाझ पछिल्लो समय यो विषय चासोको विषय बनेको छ।

प्राध्यापक मानन्धरको विचारमा यो विषयमा पनि मल्ल र पन्तले अतिवादी सोच राखेका छन्। पृथ्वीनारायण शाहले आफ्नो सैनिक अभियान गोर्खा राज्य विस्तारका लागि सुरु गरेको तर पछि नेपाललाई ब्रिटिस र मुगलबाट जोगाउने दबाबका कारण यसको भूमि बढाउन लागिपरेको उनको तर्क छ।

पृथ्वीनारायण शाहलाई अध्ययन गर्न दिव्योपदेशलाई आधार मान्नुपर्ने उनको भनाइ छ।

दिव्योपदेशमा सुरुमा काठमाडौं उपत्यकाको राजा हुने मोहका कारण पृथ्वीनारायण शाहले सैनिक अभियान सुरु गरेको स्पष्ट उल्लेख भएको उनी बताउँछन्।

दिव्योपदेशमा लेखिएको छ, ‘चन्डागिरीमा आइपुग्यापछि नेपाल कुन हो भनि सुध्याँञा र त्यो भादगाउँ हो, त्यो पाटन हो, त्यो काठमाडौं हो भनि देषा (या) र। मेरो मनमा यी तीन सहरको राजा हुन पाया त हुँदो हो भन्ने यस्तो मनमा परिरहेथ्यो।’ (नेपाल ल कमिसनको वेबसाइटमा रहेको दिव्योपदेशबाट)

पृथ्वीनारायण शाह किन काठमाडौं उपत्यका जित्न चाहन्थे भन्ने यसैले प्रस्ट पार्ने उनको भनाइ छ।

पछि गएर भने राज्य विस्तार मात्रै नभएर नेपाललाई ब्रिटिस र मुगलहरूको हस्तक्षेपबाट सुरक्षित राख्न पनि नेपालको भूमि बढाउने दबाब पृथ्वीनारायण शाहमा परेको उनको धारणा छ।

‘पृथ्वीनारायण शाहको सैनिक अभियान गोर्खा राज्य विस्तारका रूपमा सुरु भयो र नेपाल एकीकरणमा रूपान्तरण भयो। यसमा कुनै अतिवादी सोच राख्न आवश्यक छैन,’ मानन्धरले भने।

दिव्योपदेश: अ लेट म्यानुस्क्रिप्ट?

मेरी स्लसरको किताब ‘नेपाल मण्डल’ को समीक्षा लेख्ने क्रममा प्राध्यापक मल्लले पृथ्वीनारायण शाहको दिव्योपदेशलाई ‘अ लेट म्यानुस्क्रिप्ट’ अर्थात् पछि लेखिएको लेख भनी संज्ञा दिए। संशोधन मण्डलले तयार पारेको ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ को महत्व घटाउन मल्लले यस्तो लेखेको आरोप महेशराज पन्तले लगाएका छन्।

मल्लले लेखका छन्, ‘यो पछि लेखिएको (लेट म्यानुस्क्रिप्ट) १० पेजको संस्करण हो।’

मल्लको यही वाक्यको जवाफ दिन पन्तले आफ्नो २९ पृष्ठ लामो चिठीमा ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ बाट पिता नयराज पन्तको लेखको निकै लामो उद्धरण प्रस्तुत गरेका छन्। जसमा नयराजले दिव्योपदेशको पाण्डुलिपि फेला पारेको प्रसंगदेखि पुस्तक किन लेख्नुपर्‍यो भन्नेसम्म अर्थ लगाएका छन्।

प्राध्यापक मानन्धरका अनुसार दिव्योपदेश कहिले लेखियो भन्ने अझै निर्क्यौल भइसकेको छैन। यसमा इतिहासकारको आ-आफ्नै मत छ। ती अनुमान मात्रै भएको मानन्धर बताउँछन्।

नेपाली भाषाका इतिहासकार बालकृष्ण पोखरेलले यसलाई पृथ्वीनारायण शाह र प्रतापसिंह शाहको मृत्यु भइसकेपछि रणबहादुर शाहको पालामा लेखिएको तर्क गरेका छन्।

२०२२ सालमा प्रकाशित ‘इतिहास प्रकाश’ मा योगी नरहरिनाथले १४० वर्षपहिले अर्थात विसं १८८२ तिर यसको सक्कली पाण्डुलिपि तयार पारिएको दाबी गरेका छन्। यो बालकृष्ण पोखरेलले दाबी गरेभन्दा निकै पछि अर्थात् राजेन्द्रविक्रम शाहको समय हो।

सबै इतिहासकारको मत यो ‘दिव्योपदेश’ पृथ्वीनारायण शाहले बोल्दै गर्दा नलेखिएर त्यसको निकै पछि लेखिएको थियो भन्ने नै हो। त्यसैले, मल्लले भनेझैं ‘दिव्योपदेश’ एउटा ‘लेट म्यानुस्क्रिप्ट’ नै हो भन्ने प्राध्यापक मानन्धरको तर्क छ।

यही चिठीमा महेशराज पन्तले दिव्योपदेश नाम कसरी रह्यो भन्ने पनि स्पष्ट पारेका छन्।

पन्तका अनुसार सुरुमा पाण्डुलिपि फेला पर्दा यसको कुनै नाम थिएन। इतिहासकार बाबुराम आचार्यले यसलाई ‘पृथ्वीनारायण शाहको व्याख्यान’ नाम दिएका थिए। ‘दिव्योपदेश’ भनी नामकरण गर्ने व्यक्ति योगी नरहरिनाथ हुन्। नयराज पन्तले भने ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ लेखे भनी पन्तले २०७१ सालको राजधानी दैनिकमा प्रकाशित लेखमा खुलाएका छन्।

निरन्तर आरोप-प्रत्यारोप

२०४०-४१ सालको यो आरोप-प्रत्यारोपपछि पनि मल्ल र पन्तको झगडा निरन्तर चलिरह्यो।

मल्लले ‘इम्पेकेबल हिस्टोरीयोग्राफी इन नेपाल: अ रिबटल’ लेखपछि पन्तले फेरि ‘नेपाल इन पर्सपेक्टिभ्स’ मा समावेश मल्लको लेखमा खोट औंल्याउन अर्को लेख लेखे। पूर्णिमाको २०४१ चैत अंकमा प्रकाशित ‘नेपाल इन पर्सपेक्टिभ्स’ को ‘गर्भैमा रहेको संस्करणको विषयमा’ शीर्षक लेखमा पन्तले ‘नेपाल इन पर्सपेक्टिभ्स’ को दोस्रो भाग प्रकाशित गर्दा मल्ललाई सम्पादक मण्डलमा राख्न नहुने तर्क गरेका छन्। यसको पुष्टि गर्न उनले पहिलो भागमा रहेको मल्लका लेखमा भएका कमजोरीको फेहरिस्त बटुलेका छन्।

त्यसपछि लामो समय दुईबीचको वादविवादले साम्य रूप लिएको देखिन्छ। पञ्चचायतको अन्तिम कालखण्डतिर प्राज्ञिक रूपमा मल्लको सक्रियता घट्यो। उनी केही समय जाँचबुझ आयोगको अध्यक्षका रूपमा जागिरमा पनि लागे।

पछि उनी अमेरिकाको बर्कले विश्वविद्यालयको भिजिटिङ प्रोफेसरका रूपमा अमेरिका आउजाउ गर्न थाले। छोरा अभि अमेरिकामै स्थायी बसोबास गरिरहेकाले उनी उतै बस्न थाले।

यसको निकै लामो समयपछि २०६०/६१ मा प्रकाशित दुई लेखमा उनले पुन: संशोधन मण्डलको आलोचना गरे।

‘मानदेव संवत: अ इन्भेस्टिगेसन इन्टु अ हिस्टोरिकल फ्रड’ भन्ने लेखमा उनले संशोधन मण्डलले दाबी गर्दै आएको मानदेव संवत भन्ने कुनै अलग संवत नभएको तर यो नेपाल संवत नै रहेको उल्लेख गरेका छन्। ‘द राइज एन्ड फल अफ द रिभिजनिस्ट इन नेपाली हिस्ट्री’ शीर्षकको अर्को लेखमा पूरै संशोधन मण्डलको आलोचनामा केन्द्रित गरेका छन्।

महेशराज पन्तले पनि आफ्ना लेखमा कुनै न कुनै रूपमा मल्लको आलोचना गरिरहे।

२०६९ सालमा मदन पुरस्कार गुठीले संशोधन मण्डललाई ‘जगदम्बा श्री’ सम्मान अर्पण गरेपछि पुन: यो विवादले ठाउँ लियो। यसमा असन्तुष्टि जनाउँदै मल्लले अमेरिकाबाटै एउटा टिप्पणी लेखे। रत्न पुस्तक भण्डारले प्रकाशन गर्ने पत्रिका ‘पुस्तक संसार’ मा उनको यो टिप्पणी छापियो।

उनले २०४१ सालमा महेशराज पन्तलाई लेखेको जवाफयताका प्रसंग ल्याएर संशोधन मण्डल र खासगरी पन्त दाजुभाइ (महेशराज पन्त र दिनेशराज पन्त) ले निरन्तर आफूविरूद्ध दुष्प्रचार गरेको लेखेका छन्। संशोधन मण्डल कुनै विचार पद्धति नभएकाले पुरस्कार दिनुको औचित्य नभएको उनले टिप्पणी गरेका छन्।

यसको केही वर्षपछि मल्लका दुई महत्वपूर्ण पुस्तक एकसाथ प्रकाशनमा आए, ‘रोड टु नोह्वेर’ र ‘फ्रम लिटरेचर टु कल्चर’।

‘रोड टु नोह्वेयर’ पहिले नै साझाबाट प्रकाशित भए पनि यसलाई जगदम्बा प्रकाशनले पुन: प्रकाशित गरेको थियो। ‘फ्रम लिटरेचर टु कल्चर’चाहिँ उनका बाँकी लेखहरूको संगालो हो।

यी दुवै पुस्तकबारे पन्तले राजधानी दैनिकमा समीक्षा लेखे। उनका दुवै समीक्षा मल्लका कमजोरी औंल्याउनमा केन्द्रित छन्। उनले पुस्तकका विशेषता वा गुणबारे चर्चा गर्न कुनै शब्द खर्च नगरी मल्लसँग प्राज्ञिक खुबी थिएन भन्ने प्रमाणित गर्ने प्रयास गरेका छन्।

दुवै पुस्तक निस्किँदा मल्ललाई पार्किन्सन्सले सताउन सुरू गरिसकेको थियो। त्यसलगत्तै उनी थला परे। ८२ वर्षमा हिँडिरहेका मल्ल अमेरिकामा छोरा अभिको स्याहारसुसारमा छन्।

मार्टिन चौतारीको जर्नल ‘समाज अध्ययन-११, २०७३’ मा सञ्जय शेरचनले मल्लको ‘फ्रम लिटरेरचर टु कल्चर’ को समीक्षा लेखेका छन्। त्यसपछि पन्तले हालसालै राजधानी दैनिकमा अर्को लेख लेखे। सञ्जय शेरचनको समीक्षाप्रति असन्तुष्टि जनाउँदै उनले मल्लमा ज्ञानको कमी रहेको आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘प्रमाणबाट जे सिद्ध हुन्छ, त्यसमा चित्त नबुझाई वर्गविशेषको सन्तुष्टिका लागि पहिलेबाटै स्थापित सिद्धान्त पुष्टिका लागि पनि कमलप्रकाश मल्ल लागेको देखिन्छ। त्यसमाथि मौकापरस्ति पनि उनमा कम देखिँदैन।’

रोगले थला परेपछि कमलप्रकाश मल्लको कलम बन्द भए पनि समयसन्दर्भमा महेशराज पन्त भने मल्लविरूद्ध लागि नै रहेका छन्। २०३० साल हाराहारीबाट सुरु भएको यो मतभेद चार दशक पुग्दा पनि अझै चलिरहेको छ।

नेपाली इतिहास लेखनको अध्येयताका लागि यो विवाद र झगडा रूचिकर हुनसक्छ। प्राज्ञिक बहसमा अगाडि जानुपर्ने मुद्दाहरू व्यक्तिगत आरोप-प्रत्यारोपले ओझेल पारेकाले खल्लो पनि बनाउँछ।

‘केही समयको विवादपछि नै एकले भनेको कुरा अर्कोले नस्वीकार्ने परिस्थिति भयो। कमलप्रकाशले राम्रै गरे पनि महेशराजजीले राम्रो नभन्ने र महेशराजले राम्रै गरे पनि कमलप्रकाशजीले राम्रो नभन्ने अवस्था आयो,’ प्राध्यापक मानन्धर भन्छन्।

इतिहास लेखनमा पनि यो पूर्वाग्रहको छाया देखिने उनको भनाइ छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.