नौ कक्षा पढ्न थालेकी करिश्मालाई साथीहरु सोध्छन्- अनमोल र साम्राज्ञी चिन्नुहुन्छ?

नौ कक्षा पढ्न थालेकी करिश्मालाई साथीहरु सोध्छन्- अनमोल र साम्राज्ञी चिन्नुहुन्छ?


‘नयाँ शक्ति’ पार्टीको आन्तरिक बैठक चल्दै थियो। आफ्नो मन्तव्यको सिलसिलामा एक नेताले भनिछन्, ‘… यी काम न काजका कलाकार …!’

ती नेताको भनाइ करिश्मा मानन्धरप्रति लक्षित थिएन, तर पनि उनको कन्पारो तातिहाल्यो।

आफ्नो पालोमा करिश्मा जुरुक्क उठिन् र भनिन्, ‘हामी कलाकार पिएचडी गर्न सक्छौं, तर पिएचडी गरेको मान्छेले हामीजस्तो कलाकारिता गर्न सक्दैन। तपाईं मभन्दा बढी पढेको हुनुहुन्छ होला, तर तपाईंलाई मेरो चुनौती छ– हामीजस्तै कलाकारिता गरेर देखाउनुस्। कलाकारिता संस्कार हो, अबदेखि संस्कारको अनादर नगर्नुस्।’

करिश्मा कड्किएसँगै बैठकको रफ्तार भंग भयो। ती नेता चुप लागिन्। माहोल केही बेरमा शान्त भयो।

करिश्मा भने ‘चुप’ लागेर बसिनन्।

घर पुगेर आफ्ना सम्मान, प्रशंसा र स्कुले प्रमाणपत्रका पोको खोलिन्। त्यहाँ सात कक्षासम्मको सर्टिफिकेट थियो। त्यसले उनको मनभरी स्कुले दिनका सम्झनाको आँधी नै ल्याइदियो। १४ वर्षको उमेरमा फिल्ममा भित्रिएपछि औपचारिक शिक्षासँग उनको नाता टुटेको थियो। उनी ती दिन सम्झिएर ‘नोस्टाल्जिक’ भइन्। अनि त्यही दिन अठोट गरिन्, ‘अब पढेरै छोड्छु।’

यो २०७३ साल चैतको कुरा हो।

एसएलसी पास गरेरै छाड्ने अठोट लिएकी करिश्मा त्रिवेणी पब्लिक स्कुल भर्ना भइन्। त्यहीँबाट आठ कक्षाको जिल्लास्तरीय परीक्षा पास गरिन्। यस वर्ष उनी मैतीदेवीस्थित नौ कक्षामा अध्ययनरत छिन्।

‘मैले ३० वर्षअघिकी करिश्मालाई स्कुलको बेन्चमा फर्काएकी छु,’ उनले मंगलबार सेतोपाटीसँग भनिन्, ‘तेस्रो चरणको चुनाव नजिकिएकाले नियमित स्कुल जान भ्याइरहेको छैन। भाइ–बहिनी (सहपाठी) सँग नोट माग्छु, शिक्षकसँग फोनमा कुरा गर्छु र पढ्छु। कबु (छोरी कविता) का लागि फिल्मको प्रोजेक्टको पनि तयारी हुँदैछ। अनि, पढाइ। अचेल त समय यति छोटो लाग्दैछ, दिन किन २४ घन्टाको मात्र भयो जस्तो लाग्दैछ।’

करिश्मा नेपाली फिल्मक्षेत्रकै एक सफल अभिनेत्री हुन्। सुन्दरताका हिसाबले उनलाई ‘एभरग्रिन हिरोइन’ को उपमा दिइएको छ। अभिनयमा मात्र होइन, फिल्म निर्माणमा पनि उनी सक्रिय छन्।

कलाकारिताकै सिलसिलामा देश–विदेश भ्रमण र अमेरिका बसाइको अनुभव लिएकी करिश्मालाई स्कुल पढ्न घच्घच्याएको त्यो एउटा बैठकको घटनाले मात्र होइन। त्यस्ता थुप्रै घटना र परिस्थितिले स्कुल जान दबाब दिएको उनी बताउँछिन्।

सबभन्दा पहिला त १४ वर्ष उमेरमा फिल्म खेल्न थालेसँगै पढाइ छाडेको पृष्ठभूमितिर उनी फर्किइन्।

सेनाका जागिरे उनका बुबा बहाल छँदै बिते। करिश्मा सानै थिइन्। बहिनी झनै सानी। संयुक्त परिवार थियो। आमाले अंश र श्रीमानको पेन्सन आफ्नो भागमा पार्न अनेक संघर्ष गर्नुपर्यो। श्रीमान बित्दाको विरह, बालबच्चा सानै। पेन्सन र श्रीमानको पैतृक सम्पत्ति हात नपर्दा परिवारको आर्थिक स्थिति खस्किँदै गयो। करिश्माले पनि बाँच्न सानै उमेरमा संघर्ष गर्नुपर्यो।

१४ वर्ष उमेरमै ‘अञ्जली दिदी’को सहयोगले करिश्माले ‘सन्तान’ फिल्ममा डेब्यू पाइन्। स्कुले विद्यार्थी बुनु केसी करिश्मा भइन्। उनलाई फिल्मले स्कुलको साथ छुटाएर आफूसँगै लिएर हिँड्यो।

फिल्मी दुनियाँको ग्ल्यामर र चकाचौंधबीच पनि उनी बारम्बार एउटै सपना देखिरहन्थिन्- उनी आकाशे रङको नीलो सर्ट र हरियो फ्रक लगाएर स्कुल गइरहेकी छन्। छेउछाउ टन्नै साथी छन्, एकले अर्कालाई जिस्क्याउँदै, हाँस्दै हिँडिरहेका।

‘सपनामा कहिले अगाडि शिक्षक हुन्थे, कहिले परीक्षा दिइरहेकी हुन्थेँ,’ उनले भनिन्, ‘निकै छोटो यो सपना म बारम्बार देख्थेँ।’

घरको छतबाट बाटोमा स्कुल गइरहेका विद्यार्थी देख्दा पनि उनी त्यो भीडमा आफू भएको कल्पना गर्थिन्। मन जतिसुकै स्कुलतिर तानिए पनि फिल्मको व्यस्तताले पढाइलेखाइबाट टाढा लग्दै गयो। उनी फिल्म प्रचार वा आफ्नो सफलता र संघर्षकथा सुनाउन मात्र स्कुलका कक्षाकोठा छिरिन्।

फिल्म निर्माता विनोद मानन्धरसँग बिहे गरेसँगै करिश्मा केसीबाट मानन्धर भएकी उनी आफूले निर्माण गरेको ‘बाबुसाहेब’ असफल भएपछि अमेरिका लागिन्। ‘म अमेरिका जानुको कारण पढाइ नै थियो,’ करिश्मा भन्छिन्, ‘तर, त्यो स्कुले पढाइ थिएन। म आफूलाई एक्स्लोर गर्न चाहन्थेँ। ६ वर्षमा धेरै कुरा पढेँ।’

फिल्मवृत्तमा अमेरिका जानुअघि र फर्किएपछिकी करिश्मा आकाश–जमिनको फरक थिइन् भन्ने चर्चा चल्छ। उनी फर्किएपछि अध्ययनशील भएकी थिइन्। राजनीति, देश–दुनियाँबारे उनको चासो पहिलेभन्दा बढेको थियो। आफू पनि कम पढेकाले हुनसक्छ, राजनीतिक नेताहरुको पढाइलाई लिएर गरिने टीकाटिप्पणीले उनको ध्यान तान्थ्यो।

‘केपी ओलीजीलाई दस कक्षा पढेजस्ता भनेर टिप्पणी गरेको मलाई मन पर्दैन,’ उनी भन्छिन्, ‘पढाइसँग तुलनै गर्ने हो भने पिएचडीभन्दा के कम छ र उहाँको राजनीतिक खुबी?’

करिश्मा माओवादी त्यागेर नयाँ पार्टी खोलेका बाबुराम भट्टराईको नयाँ शक्तिसँग जोडिएकी छन्। नयाँ शक्तिमा पिएचडी गरेका बाबुराम मात्र होइन, अरु पनि थिए। बिए, एमए गरेका त थुप्रै। हुन त करिश्माले थोरै पढेका कारण पार्टीभित्र हेले–हेचोको अनुभव गर्नुपरेको छैन। नयाँ शक्तिको साँस्कृतिक विभाग प्रमुखसमेत रहेकी करिश्मासँग राजनीतिक अनुभव नभए पनि कलाकारिताको अनुभव छ। यसले अरुको दाँजोमा कमजोर महसुस नगरेको उनी बताउँछिन्।

यति हुँदा पनि उनको मनमा एउटा कुरा खड्किरहन्थ्यो- पढाइको सर्टिफिकेट। उनी सर्टिफिकेटकै लागि स्कुल भर्ना हुन चाहन्थिन्।

आखिर, पार्टी बैठकको त्यो घटनाले उनको पढ्ने चाहना सतहमा ल्याइदियो।

जीवन आफैंमा पाठशाला हो। कमजोर आर्थिक स्थितिबाट गुज्रिएर नेपाली फिल्मक्षेत्रको ‘नम्बर एक अभिनेत्री’ बनेकी करिश्माको जीवनमा त्यस्ता थुप्रै उतारचढाव आए, जसले करिश्मालाई गहकिलो शिक्षा पक्कै दियो। उनले स्कुले शिक्षालाई किन यति महत्व दिइन् त?

अर्को, स्कुल जान नभ्याउनेहरुका लागि घरमै पढेर परीक्षा दिन पाइने व्यवस्था हुन्छ। किन उनले स्कुल नै रोजिन्?

सपनाले वर्षौंदेखि रन्थनिएकी करिश्मा त्यसलाई आफूबाट अलग्याएर सन्तुष्ट हुन चाहन्थिन्। त्यसका लागि उनी स्कुल जानैपर्थ्यो। बेन्चमा बसेर शिक्षकसँग पढ्नैपर्थ्यो। होमवर्क गर्नैपर्थ्यो। तर, त्यति मात्र कारण नभएको करिश्मा बताउँछिन्।

‘म एक्स्प्लोर गर्न चाहन्छु, केही सिक्न चाहन्छु,’ करिश्मा भन्छिन्, ‘म यतिबेला स्कुल र कलेज सँगै पढिरहेको छु। पार्टी मेरो कलेज हो।’

यसलाई प्रस्ट्याउन उनले एउटा सपना बताइन्।

हातभरी घाउ नै घाउ भएको डरलाग्दो मानिस उनीसँग हात मिलाउन आउँथ्यो। उनी डराएर भाग्थिन्। ऊ पछ्याइरहन्थ्यो। जतिखेरै हात मिलाउन खोज्ने सपनाको त्यो डरलाग्दो मानिसले एकदिन करिश्मालाई हरियो पालुवा दियो। यसपटक करिश्मा भागिनन्, पालुवा लिइन्। ऊ फरक्क फर्कियो।

यो उनले पार्टी प्रवेश गर्नुअघिको सपना हो। दुई–तीन दिनसम्म एकै रातमा चार पटकसम्म उनले यो सपना देखिछन्।

‘मैले त्यसलाई कसरी अर्थ लगाएँ भने मेरो अवचेतन मनमा बाबुरामजीप्रति नकारात्मक भाव रहेछ,’ करिश्माले यसलाई सिकाइसँग जोडिन्, ‘त्यसलाई चुनौतीका रुपमा बुझेँ। हरियो पालुवा दिनुलाई आशाको अर्थ लगाएँ। अहिले नयाँ शक्ति ठूलो चुनौती सामना गरिरहेको छ। यो समय मेरो लागि कोर्सबुकको अप्ठ्यारो च्याप्टर पढिरहेको समय हो। ‘हरियो पालुवा’ को समय आउँदैछ। अबको पाँच वर्षलाई मैले विशेष चुनौतीको समय मानेको छु। यो समय म गम्भीरतासाथ पढ्छु। पार्टीले निर्देशन दिएबाहेक त्यस्तो ठूलो जिम्मेवारी सम्हाल्दिनँ। पार्टीका धेरै नेता पढेलेखेका हुनुहुन्छ, म पढेरै उहाँहरुलाई सघाउन चाहन्छु।’

करिश्मा स्कुल जानुमा अरु कारण पनि रहेछन्।

‘भोलि म मन्त्री/प्रधानमन्त्री भएँ भने मान्छेले मलाई आठ कक्षा पढेकी नभनुन् भन्ने बन्न चाहन्छु,’ करिश्माले भनिन्।

स्कुल पढ्ने निर्णय लिनेबित्तिकै करिश्माले स्नातक पढ्न विदेश रहेकी छोरी कवितालाई सुनाएकी थिइन्। छोरीले खुसी फर्काइन्। करिश्मालाई भने छोरीको स्कुले जीवनको याद आएछ। अचेल स्कुल जाँदा पनि करिश्मा आफ्नो र छोरीको जीवन बरोबर सम्झन्छिन्। स्कुल गएको दिनको अनुभव सबैभन्दा पहिले आफ्नी छोरीलाई सुनाउँछिन्।

‘सुरुमा त बच्चाहरु कराउँदा साह्रै झ्याउँझ्याउँ लाग्थ्यो,’ करिश्माले अनुभव सुनाइन्, ‘तर म उनीहरुजस्तै बन्नु थियो। उमेर निकै फरक भएकाले उनीहरुको मनोविज्ञानमा असर नपरोस् भनेर सचेत छु। स्वास्थ्यको ख्याल गरेर मुख बार्ने म अचेल उनीहरुसँगै पाऊँ, अमिलो खान्छु। मेरा सबै साथी मभन्दा कम उमेरका छन्। म सकेसम्म बच्चाहरुसँग समय बिताउन चाहन्छु। उनीहरु साँच्चिकै पवित्र हुन्छन्। कसैप्रति रिस–राग हुँदैन। कसैलाई हराउने र पछार्ने सोच्दैनन्। म त्यस्तो पवित्र भावनासँग नजिक हुन पाएको छु। उनीहरुसँगको संगतबाट आफूलाई ताजा भएको महसुस गर्छु। मेरो अर्को नाम ‘प्रश्न चिह्न’ हो। म बच्चाहरुजत्तिकै जिज्ञासु छु भन्ने लाग्छ। अमेरिका जानुअघि प्रश्न दबाउँथेँ। फर्केर आएपछि म जिज्ञासा दबाउँदिन।’

स्कुलको कोर्स समयसापेक्ष नभएको करिश्माको अनुभव छ। कोर्सका किताब दस वर्ष पछाडि रहेको उनी तर्क गर्छिन्। तै पनि, आफ्नो समयभन्दा पढाउने शैली फेरिएको उनले अनुभव गरेकी छन्। ‘अचेलका स्कुले विद्यार्थी त कलेजका जस्ता रहेछन्,’ करिश्मा भन्छिन्, ‘सरहरुसँग हँसीमजाक गर्ने। सरलाई नै जोक बनाउने। म त पछिसम्म सरसँग डराउँथेँ। अहिलेका शिक्षक त साथीजस्ता। त्यसैले विद्यार्थीहरु पढाएको पनि चाँडै बुझ्छन्।’

कक्षाका साथीले उनलाई ‘करिश्मा म्याम’ भन्दा रहेछन्। सुरुमा बोल्न अप्ठ्यारो माने पनि करिश्माले साथीजस्तै व्यवहार गर्न थालेपछि उनीहरु नजिकिएको करिश्माको अनुभव छ। नेता भन्ने थाहा पाएकाले ‘कुन मन्त्री को’ जस्ता प्रश्न सोधिराख्दा रहेछन्। उनीहरुलाई करिश्माको ‘स्टारडम’ सँग भने उति चासो छैन। बरु, केटीहरुले अनमोल केसी र केटाहरुले साम्राज्ञी राज्यलक्ष्मी शाहका बारेमा सोध्दा रहेछन्।

‘अनमोल केसीलाई चिन्नुहुन्छ भनेर सोध्दाचाहिँ नौलो लाग्ने के,’ करिश्मा सुनाउँछिन्, ‘अनमोल जन्मिँदा सबैभन्दा पहिले मैले नै काखमा लिएको थिएँ। म यही सुनाउँदै अनमोल मेरो छोरा हो भन्दा उनीहरुलाई नौलो लाग्दो हो।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.