बाढीले पुल बगाउँदा आवतजावतमा समस्या


रौतहटको कटहरीयामा रहेको लालबकैया नदीको पुलमा बाढीले क्षति पुर्‍याउँदा आवतजावतमा समस्या भएको छ । कटहरीया नगरपालिकाको बहादुरपुरमा रहेको पक्की पुलको दायाँबायाँ बाढीले कटान गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा नै कठिनाई हुँदै आएको छ ।

सितलपुर, बैरगनिया, बिजयपुर, सन्तपुर दोस्तिया, लक्ष्मनिया लगायत गाउँका बासिन्दाहरूलाई कटहरीया बजार तथा सदरमुकाम गौर आउन/जान समस्या भएको छ । गएको साउन २९ गते नदीमा आएको बाढीले पुलको दुवैतर्फ ठूलो क्षति गरेको छ ।

पुलको पश्चिमतर्फ बाढीले करीब ५० मिटर कटान गरेको छ । दुइवर्ष अघिमात्रै सो पुल निमार्ण सम्पन्न भएको थियो । पुलको दुवैतर्फ बाढीले कटान गरेपनि स्थानीय युवाहरूले बासको भर्‍याङ्ग राखेर स्थानीयलाई आवतजावत गराइरहेका छन् ।

भर्‍याङ्ग चढ्दा महिलाहरूलाई धेरै कठिनाई भइरहेको स्थानीय आयसा खातुनले गुनासो गरिन् । ‘यहाँका नेताहरू अहिले भोट माग्न र टिकटको लागि व्यस्त भएकाले  हामीहरूको पीडा कसैले सुनेका छैनन् ।’ उनले भनिन्  ‘ बासको भर्‍याङ्गमा चढे बापत युवाहरूले एकजनाको २० रुपैयाँका दरले शुल्क लिने गरेका छन् ।’

बिरामी बच्चालाई लिएर उपचार गराउन जादाँ  भर्‍याङ्ग चढ्दा  डर लाग्ने गरेको  स्थानीय साजाहा खानले बताए । बजारमा आउने बाटो नभएकाले  गाउँमै उपचार गराउँदा निको नभएपछि  बजारमा लग्नुपरेको उनले बताए ।

पुल भत्किएको एक महिना बित्नलाग्दा पनि कुनै निकायले चासो नदिएको स्थानीय पीडितको गुनासो छ । लालबकैया पारीका बासिन्दा पुलमा सवारीसाधन नचल्दा समस्यामा परेका छन् । नदी पारीका बासिन्दा बिरामी हुँदा एम्वुलेन्स समेत चल्ने बाटो नभएको पीडित बताउँछन् ।

बाढीले बगाएको पुलको मर्मत गर्न स्थानीयले माग गरेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.