कुनै समय थियो, जब हाम्रा नेताहरू काठमाडौंलाई ‘सिंगापुर बनाइदिने’ बाचा गर्थे।
हिजोआज त्यस्तो बाचा विरलै सुनिन्छ। सायद यस कारण, किनकि बाचा गर्नेले बुझिसके अहिलेकै गतिमा हिँड्ने हो भने काठमाडौं सिंगापुर बन्न त के, नजिक पनि पुग्न सक्दैन।
स्वतन्त्रताको ५२ वर्षमै नेपालजस्तो गरिब देशबाट अमेरिकाजस्तो धनी र विकसित सिंगापुरको खास विशेषता त्यहाँका चिल्ला सडक, अत्याधुनिक कार, डिपार्टमेन्ट स्टोर, अग्ला भवन, ठूल्ठूला होटल र जतासुकै एयरकन्डिसन सुविधा होइनन्। काठमाडौंलाई झन्डैझन्डै उत्रै भौगोलिक क्षेत्रफलको सिंगापुर बनाउनु भनेको यस्ता भौतिक सुविधा उपलब्ध गराउनु पनि होइन।
हो, सिंगापुरकै जस्तो गुणस्तरीय जीवनको दरकार हामी सबैलाई छ। तर, यो सहरलाई त्योभन्दा बढी दरकार छ, सिंगापुरकै जस्तो पार्कको। सिंगापुरकै जस्तो हरियालीको। सिंगापुरकै जस्तो खुला क्षेत्रको।
सिंगापुर यस्तो सहर हो, जुन एसियाकै एक प्रमुख वित्तीय केन्द्र भइकन पनि हरियाली पार्कले सुशोभित छ। यहाँ सहरको पूर्वी कुनाबाट पश्चिमी कुनासम्म पुग्न सकिन्छ, सडकमा लगभग पाइलै नटेकी। सहरभरिमा साना–ठूला गरी झन्डै सयवटा पार्क रहेको सिंगापुरमा ती सबै आपसमा जोडिएका छन्। एउटा पार्क नाघेर सडक पार गर्नेबित्तिकै अर्को सुरु हुन्छ।
पार्कले कुनै पनि व्यस्त सहरको शोभा मात्र बढाउँदैन, सहरबासीलाई सास फेर्ने ठाउँ पनि दिन्छ।
सिंगापुर बन्ने उत्कट अभिलाषा बोकेको हाम्रो काठमाडौंलाई प्रकृतिले नै शोभायमान नबनाएको होइन, तर भौतिक पूर्वाधार थप्ने होडबाजीले ती शोभा मासिँदै गएका छन्।
काठमाडौंबासीलाई सास फेर्ने ठाउँ अभाव हुँदैछ।
यति हुँदाहुँदै सहरबासीलाई लामो–लामो सास फेर्ने अवसर दिन न सरकार गम्भीर छ न त महानगरपालिका। त्यसैले त, कंक्रिट जंगलमा बदलिँदै गएको यो कला र संस्कृतिको धनी सहरलाई हरियाली पार्कयुक्त बनाउने खासै नयाँ योजना सरकार वा महानगरसँग छैन।
धुलो र धुवाँले सहर निस्सासिएका बेला खुला ठाउँ र हरियाली पार्कको चाहना सबभन्दा धेरै हुन्छ। टुँडिखेल, नारायणचौर, रत्नपार्कसहित राजधानीका अतिथोरै साना–ठूला खुला मैदानमा अचेल साँझ–बिहान मान्छे टहल्न निस्केका दृश्य प्रशस्तै देखिन्छन्। स्वास्थ्यप्रतिको सचेतनाले यो क्रम अझ बढाएको छ।
यही सूचीमा केही समयदेखि एउटा नयाँ थलो थपिएको छ– मनोहरा र बागमती नदी दोभानको शंखमूल पार्क, जहाँ साँझपख मान्छेको ओहोरदोहोर बाक्लै देखिन्छन्।
अफिस सकेर आएकाहरू एकछिन यहाँ सुसेलिन्छन्। आमाबाबुसँग आएका केटाकेटी एकछिन खेल्छन्। उनीहरू खेलिरहँदा दौडेर व्यस्त सडकमा पुग्लान् भन्ने डर अभिभावकलाई हुँदैन। केटाकेटी खेलिरहँदा उनीहरू आफ्नै तालमा निस्फिक्री भुल्न सक्छन्। बूढाबूढी साँझ–बिहानको हावा खाँदै टहलिन्छन्।
सहरको गञ्जागोलबीच शंखमूल आसपासका बासिन्दालाई सुस्ताउने र खुला सास फेर्ने अवसर दिएको यो पार्क हो, शंखमूल योग पार्क। आर्ट अफ लिभिङ नेपालले निर्माण गरेको यो पार्क पाँच महिनाअघि नै उद्घाटन भए पनि पछिल्लो समय चहलपहल बढेको छ। र, यसले विदा बेला केटाकेटी लिएर जाने थलोका रूपमा आफ्नो पहिचान बनाउँदै गएको छ।
‘पार्क उद्घाटन मार्च ६ मै भएको हो, बर्खा सुरु हुनुअघि त हामी यहाँ बिहान–बिहान निःशुल्क योग पनि सिकाउँथ्यौं,’ आर्ट अफ लिभिङ नेपालका प्रोजेक्ट अफिसर उत्तम सुवेदीले सेतोपाटीसँग भने, ‘अचेल पानी पर्ने भएकाले योग बन्द गरेका छौं, दसैं–तिहारपछि फेरि सुरु गर्छौं।’
सुरुका दिनमा योग अभ्यासकै निम्ति बढी प्रयोग हुने यो पार्कमा अचेल स्थानीय सर्वसाधारण त्यसै घुम्न पनि आउन थालेको उनले बताए। सर्वसाधारणको बढ्दो अभिरुचि देखेर बिहान र साँझ दुई/दुई घन्टाका दरले पार्क खोल्ने गरिएको उनले जानकारी दिए।
सुवेदीका अनुसार पार्कमा हुर्किनसकेका धूपीका रुख, फूल र दुबो छन्। दिनभरि खुला छाड्दा ती बोटबिरुवा कसैले बिगार गरिदिने डरले दिउँसो बन्द राख्ने गरेको उनी बताउँछन्।
‘पार्क भनेको कुनै निश्चित समय मात्र खोल्नु ठिक होइन, मान्छेले जुनसुकै बेला पार्कमा गएर निश्चिन्त बस्ने वातावरण हुनुपर्छ, यो कुनै पनि सहरको निम्ति अतिआवश्यक सुविधा हो,’ सुवेदीले भने, ‘यहाँका बोटबिरुवा अहिले कलिलै छन्। दिनभरि खुला छाड्दा ती नष्ट गरिन सक्छन्। यी दुबो र फूलहरू राम्ररी हुर्किएपछि हामी दिनभरि नै पार्क खुला राखिदिन्छौं, मान्छेले जुनसुकै बेला यहाँ आउन पाउने छन्।’
शंखमूल पार्क बनाउन आर्ट अफ लिभिङले दुई करोड रुपैयाँ खर्च गरेको छ। निर्माण पूरा हुञ्जेल थप एक करोड खर्च हुने सुवेदीको अनुमान छ। पार्कलाई सुविधायुक्त बनाउन केटाकेटीहरू खेल्ने ठाउँ, अपांगमैत्री शौचालय, बूढाबूढीका लागि स्वास्थ्य जाँचकेन्द्र लगायतको व्यवस्था पनि गर्ने सुवेदीले जानकारी दिए। उनका अनुसार आर्ट अफ लिभिङले पार्कमा आएर योग वा ध्यान गर्न चाहनेको सुविधाका लागि हलसमेत बनाउन लागेको छ।
शंखमूल योग पार्क १६ रोपनी जग्गामा फैलिएको छ। दुई वर्षअघि आर्ट अफ लिभिङ नेपाल र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबीच यो पार्क बनाउने सम्झौता भएको थियो। निर्माण सुरु भएको वर्षदिनमै पार्क सञ्चालनमा आएको हो।
‘अहिले त यसको लोकप्रियता बढ्दै गएको छ। स्थानीय र टाढाका मानिस पनि आउन थालेका छन्, यो बाटो हुँदै हिँड्नेहरू एकछिन सुस्ताएर जान थालेको देखेका छौं,’ सुवेदीले भने, ‘हामीले जति बढी सुविधा र जति बढी आराम दिन सक्यो, मान्छे त्यति बढी झुम्मिने हो।’ घुम्न आउनेहरूको संख्या वृद्धिसँगै सरसफाइमा सबैले ध्यान दिनुपर्ने उनी बताउँछन्।
‘पार्कको सरसफाइ भनेको हाम्रो मात्र जिम्मेवारी होइन, यहाँ आउनेले पनि त्यस्तो सोच्नु हुँदैन। सबैले पार्क सफा राख्ने जिम्मा आफ्नै हो भन्ठान्नुपर्छ,’ उनले भने।
काठमाडौंमा योजस्तै अन्य थुप्रै पार्कको खाँचो छ। केही बनिरहेका पनि छन्।
शंखमूल पार्कनजिकै बागमतीको अर्को किनारमा गैरआवासीय नेपाली संघले पार्क बनाइरहेको छ। ओम अस्पतालनजिकै धोबिखोला किनारमा टोयोटा कम्पनीले बनाएको छ। बह्मकुमारी लगायत संस्थाले शंखमूलमै अर्को पार्क बनाइरहेका छन्। बल्खुदेखि तल बागमती किनारमा मनमोहन मेमोरियल पार्क बन्दैछ।
बागमती सभ्यता एकीकृत विकास समितिका प्रोजेक्ट म्यानेजर ज्योतिकुमार श्रेष्ठका अनुसार बागमती सफाइसँगै किनारलाई हराभरा बनाउने क्रम बढेको हो। समितिले इच्छुक संस्थाहरूलाई पार्क बनाउन स्वीकृति दिइरहेको उनले बताए।
‘समिति आफैंले गोकर्णदेखि सिनामंगलसम्म विभिन्न ठाउँमा पार्क बनाउने योजना छ,’ उनले भने, ‘पशुपति क्षेत्रलाई छाडेर बाँकी भागमा हामी पनि पार्क बनाउँदै छौं।’ बागमती किनारको युएन पार्क पनि व्यवस्थित बनाइने उनले जनाए।
बागमती विकास समितिबाट पार्क निर्माणमा केही पहल भइरहे पनि यसको मुख्य जिम्मेवारी काठमाडौं महानगरपालिकाकै हो। महानगरले रत्नपार्क, धुम्बाराहीको शंखपार्क र बालाजु उद्यान सञ्चालन गरिरहेको छ। पहिला अव्यवस्थित रत्नपार्कलाई महानगरले दुई वर्षयता मर्मतसम्भार गरेर प्रवेश शुल्कसहित सञ्चालनमा ल्याएको छ। शुल्क तिरेर रत्नपार्कभित्र जानेलाई महानगरले निःशुल्क वाइफाइ उपलब्ध गराउँदै आएको छ। सरसफाइ र व्यवस्थापन सुधारपछि रत्नपार्क जाने क्रम बढेको देखिन्छ।
‘धुम्बाराहीको शंखपार्कमा पनि मास्टर प्लानअनुसार काम भइरहेको छ,’ काठमाडौं महानगरका प्रमुख कार्यकारी अधिकृत धनिराम शर्माले भने, ‘अन्य ठाउँमा पनि पार्क बनाउने महानगरको नीति छ।’
यसअघि तीनकुनेमा महानगरले फाउन्टेनसहित ठूलो पार्क बनाउन लागेको थियो। मुआब्जा लगायत विवाद आएपछि निर्माण रोकिएको शर्माले जानकारी दिए।
यस्ता विवाद चिर्दै पार्क निर्माणलाई तीव्रता दिन र यो सहरलाई ‘कंक्रिट जंगल’ बाट हरियालीमा बदल्न धेरैभन्दा धेरै पार्क बन्न बाँकी छन्। नेताहरूले कुनै समय बाचा गरेजस्तो काठमाडौंलाई सिंगापुर बनाउने हो भने त्यो एक रातमा हुनेवाला छैन। हात बाँधेर बसे त झन् हुँदै हुँदैन। कम्तीमा पार्क निर्माणलाई तीव्रता दिने हो भने प्रकृतिले नै हरियो बनाएको यो सहर थप हरियाली बनाउन सकिन्छ।
अनि कम्तीमा एउटा आधारमा त काठमाडौं पक्कै सिंगापुर हुनेछ।
सबै तस्बिरः नारायण महर्जन