२७ तोला सुन लुट्न बुढानिलकण्ठमा दिउँसै बृद्धाको हत्या


गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दिउँसै उनीमाथि आक्रमण भयो।
साँझ घर पुगेका आफन्तले ढकालको शव देखे । टाउकोमा ह्याम्बरले हानेको अवस्थामा शव थियो ।

तर घटना भएको २२ दिनपछि ढकालको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । नुवाकोट ककनी गाउँपालिका २ घर भइ तारकेश्वरमा बस्दै आएका ३० वर्षका सुदामा लामिछाने कपिलवस्तुबाट पक्राउ परेका हुन् ।

उनीसँगै अन्य ३ जना पनि पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ। महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार चिनजानेकै ब्यक्तिले सुन लुट्न ढकालको हत्या गरेको बताए।

सुदामा ढकालको माइतपक्षका आफन्त हुन्। सुदामा बेला बेलामा ढकाल भएको घरमा गएर घरायसी काम सघाइदिने गर्दथे । ढकालसँग २७ तोला सुन छ भन्ने थाहा पाएको र सुन लुट्नकै लागि सुदामाले हत्याको योजना बुनेको एसएसपी अमात्यले बताए।

‘माइतीपक्षका कुकुर त प्यारो हुन्छ भन्ने उखान छ, यो घटनामा पनि ढकालले माइती पक्षको भाइ भन्दै सुदामालाई धेरै विश्वास गर्थिन,’ एसएसपी अमात्यले भने, ‘धेरै नजिक र सबैकुरा थाहा पाएपछि सुदामाले हत्या गर्ने योजना बनाए।’

सुदामा र ढकालेको चिनजान भने २०७४ साल वैशाख महिनामा भएको हो । सुदामाले ढकालको घरमा करिब १ हप्ता मात्र काम गरी एक हजार लिएर गएका थिए। काम छाडेको करिब २ महिना पछि सुदामा लामिछानेले विदेश जानको लागी पासपोर्ट बनाउन पैसा मागेको एसपी दीपक रेग्मीले बताए।

पार्वती ढकालले आफुसंग पैसा नभएको र छोरी गीता ढकाललाई सोध्नुपर्छ भनेकोले उनी करिब २ घण्टा जति गफ गरेर फर्केका थिए। उनलाई पैसा आवश्यक परेको र गीता ढकालको घरमा सुनका गर गहना लगायतका सरसामानहरु राख्ने स्थान समेत देखेका कारण उनी बालाजु गंगाहल नजिकै रहेको होटलमा बसी साथीसँगै बसी गीता ढकालको घरमा लुटपाट गर्ने योजना बनाएका थिए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.