रंगेलीमा अतिविपन्न तथा गरिबहरु घरविहिन


विगत दुई दिनदेखि परेको अत्याधिक वर्षाका कारण रंगेली नगरपालिकामा पर्ने रंगेली, दर्वेशा, बबियाबिर्ता, चोप्राह, आमगाछी तथा सुनवर्षी नगरपालिकामा पर्ने टकुवा, अमरदह, डाइनियाँ, हर्चनगडिलगायत मोरङका अतिविपन्न तथा गरिब जनता घरविहिन बन्न पुगेका छन्।

बाढीका कारण रंगेली–विराटनगर सडक खण्डअन्तर्गत भोडुवामा बाटो बगाएको छ। जसका कारण यो सडक खण्डमा सवारीसाधन ठप्प छ। यस्तै, रंगेलीको बक्राह खोलाको पुलको पश्चिम पट्टीको दुई पङ्खासमेत झरेको छ।

बाढीबाट पीडित आफ्नो क्षेत्रका जनतालाई राहत दिन रंगेली नगरपालिकाका नवनियुक्त मेयर दीलिप बगेडियाले आइतबारदेखि नै राहत प्याकेजको घोषणा गरेका छन्। उनले आइतबार नगरपालिकाका सबै वडाअध्यक्षलाई निर्देशन दिँदै बाढीको चपेटामा परेका सर्वसाधारणहरुको घरमा भुजा तथा चाउचाउ बोकेर जान निर्देशन दिएका छन्।

पूर्वमा आएको वर्षाका कारण मोरङको अधिकांश भागका सर्वसाधारण घरविहिन बनेका छन्। शुक्रबारदेखि यो क्षेत्रमा आएको अविरल वर्षाका कारण बिजुलीको पोल झरेको छ। विद्युतआपूर्ती शुक्रबारदेखि नै अवरुद्ध भएको रंगेली विद्युत प्राधिकरणले जनाएको छ।

‘नगरपालिकामा रहेका गरिब तथा विपन्न परिवारका सदस्यहरु भोकै बस्नु नपरोस भनेर खानेकुरा वितरण गर्न निर्देशन दिएको छुँ,’ बगडियाले भने। उनले सबै वडामा क्षतिको तथ्यांक संकलन गरेर क्षतिपूर्तीबापत राहत प्याकेज सार्वजनिक गर्ने जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.