प्रहरीको सुझबुझले मिल्स एरिया डुब्नबाट जोगियो

प्रहरीको सुझबुझले मिल्स एरिया डुब्नबाट जोगियो




जोगबनी बोर्डर नजिकै भारतले निमार्ण गर्न लागेको ४ लेनको बाटो तथा नेपालतर्फ बन्न लागेको ६ लेनको बाटोको अपुरो कामका कारण नेपाल र भारतको बोर्डरमा सटेको गाउँ मिल्स एरिया वर्षाको उच्च जोखिममा परेको छ।

शनिवार राती इलाका प्रहरी कार्यालय, रानीबाट खटिएका प्रहरी जवानले नेपालतर्फ बन्दै गरेको ६ लेन वरपरको कंक्रिट नाला नभत्काएको भए सम्भवत विहानसम्म मिल्स एरिया पुरै डुब्ने थियो।

भारतले गत वर्षदेखि नेपाल–भारत सीमा नजिकै दश गजा वरिपरी ४ लेनको बाटो निमार्ण गर्दैछ। यसका लागि भारतले माटो पुर्ने कार्यलाई तिब्रता दिएको थियो। जसका कारण नेपालतर्फको भाग होचो भएको थियो।

शनिवार साँझ मिल्स एरियातर्फ बग्ने केशलीया र तेग्रा खोलामा एक्कासी पानीको वहाव बढेपछि पहिले भारततर्फ कटान हुने पानी नेपालतर्फे फर्किएको थियो। यसले गर्दा मिल्स एरियाको वडा नम्बर १६ स्थित दक्षिण गेट र दरैया डुबानमा परेको थियो।

नेपालतर्फ कंक्रिटको नाला निमार्ण हुँदा पानी जमेर कतै जान पाएको थिएन्। इलाका प्रहरी कार्यालय रानीका सुरक्षाकर्मीहरुले नाला फोडेर पानीलाई ड्रेनसम्म पुर्याएका थिए।

‘हिजो प्रहरीले नाला फोडेर ड्रेनसम्म पानी नपर्याएको भए सम्भवत हामी आज बोल्ने अवस्थामा हुँदैन्थ्यौं,’ नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता रामवरिका कोइरी भन्छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.