कास्कीको रिभानमा ठूलो पहिरो, १५ घर परिवार विस्थापित

कास्कीको रिभानमा ठूलो पहिरो, १५ घर परिवार विस्थापित




कास्कीको माछापुच्छ्रे  गाउँपालिका रिभानमा मंगलबार राति गएको पहिरोले १५ घर परिवार विस्थापित भएका छन् । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ को हुम्डेका १५ घर परिवार विस्थापित भएका हुन् । पहिरोले १५ घर पूर्ण क्षति भएका छन् ।

बस्तीभन्दा माथीबाट खहरे खोलामा आएको पहिलोले बस्ती नै लगेको हो । खोलामा धमिलो पानी बग्न थालेपछि गाउँले पहिरो जानुअघि नै भागेर ज्यान जोगाउँन सफल भएका हुन् । वर्षासँगै गाउँमार्थीबाट  बग्ने खहरे खोलामा राति ९ बजेतिर ठूलो आवाजमा सुसाउँदै पहिरो आएपछि भागाभाग गरेर ज्यान बचाएको स्थानीय अप्सारा लामिछाने बताईन् ।

पहिरोले रातारात घर बगाएपछि स्थानीय एकै रातमा घरविहीन भएका छन् । ‘दुखजिलो गरेर बनाएको घर बगाएपछि अब कसरी फेरि नयाँ घर बनाउँने भन्ने चिन्ता’ स्थानीय गौमाया बिकले सुनाईन् । पहिरोले घरमा भएका लत्ताकपडा र खाद्यन्न सबै बगाएको र घर बनाउने ठाउँ समेत नरहेको बताईन् ।

पहिरो पीडितहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीले जनही नगर १५  हजार रुपैयाँ वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीले बुधबार नै खाद्यन्न, भाडा र त्रिपाल वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति बामदेव ढुङ्गानाले हस्तान्त्ररण गरे । उनले पहिरो पीडितलाई आवश्यक सबै सहयोग गर्ने र सम्बन्धित निकायको ध्यान केन्द्रीत गर्ने बताए ।

पहिरोले स्थानीय देवीलाल लामिछानेको घर पूर्ण रुपमा क्षति भएको छ । उनको गोठमा रहेको एउटा गाईको मृत्यु भएको छ भने, नर्सरी र पाँच सय कुखुरा रहेको फर्म बगाएको छ । यसैगरी, स्थानीय फोमाया विकको घर पूर्ण क्षति भएको र ४ वटा बाख्रा समेत मरेका छन् । पहिरोले स्थानीय प्रविण लामिछाने, गंगा आचार्य, सन्तुमाया लामिछाने, हिमाल भुषाल, नरबहादुर विक, कमला विक गंगा विकको घरमा क्षति पुगेको छ। यसैगरी, स्थानीय प्रल्हाद लामिछाने, डम्वर विक, खेमकुमारी विक र रेशम लामिछानेको पनि घर क्षति भएको छ । विस्थापित परिवारहरु आफन्तकोमा गएर बस्न बाध्य भएका छन् ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.