बैंकिङ कसुरमा  राष्ट्रिय वाणिज्य बैंकका दुई कर्मचारी पक्राउ 


बैंकिङ कसुर गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिवास नगरपालिका ८ का ४८ वर्षिय जगदिश काफ्ले र काभ्रे धुलिखेल नगरपालिका ११ का ३५ वर्षिया अम्बिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिपक पोखरेलले बताए।

पक्राउ परेका दुवै जना राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका बरिष्ठ सहायक हुन्।

महोत्तरीको साढा २ घर भई हाल नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय विराटनगरमा कार्यरत ईन्जिनियर श्रीप्रकाश नारायण सिंहको नाममा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखामा रहेको बचत हिसाव नम्बर ८०३९४ को नक्कली तीन वटा चेक प्रयोग गरेर विभिन्न बैंकबाट ४० लाख रूपैया निकाली उनीहरुले रकम हिनामिना गरेको प्रहरीले जनाएको छ।
बदनयितपूर्वक मोटो रकम निकाल्न खोजेको भन्दै उनीहरुविरुद्ध ईन्जिनियर श्रीप्रकाश नारायण सिंहले जिल्ला प्रहरी कार्यालय प्रहरी महोत्तरीमा जाहेरी दिएका थिए। जाहेरीलगतै उनीहरूलाई  बर्दिवासस्थित बैंकबाट प्रहरीले नियन्त्रणमा लिई  जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएर अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक पोखरेलले सेतोपाटीलाई बताए।

प्रारम्भिक बयानमा दुवैले आफूसहित अन्य पाँच जना कर्मचारी पनि यस कार्यमा संलग्न भएको बताए। उनीहरूकै सहयोगमा  नक्कली चेकबाट राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाबाट २० लाख रूपैया, सर्लाही जिल्लाको राष्ट्रिय वाणिज्य बैंक लालबन्दी  शाखाबाट ५ लाख रुपैयाँ र सिराहा जिल्लाको राष्ट्रिय वाणिज्य बैंक  मिर्चैया शाखाबाट १५ लाख रुपैयाँ  निकालेको बयान प्रहरीलाई दिएका छन्।

त्यति धेरै रकम अनियमित रूपमा झिकेको बारे थप अनुसन्धान भइरहेको  प्रहरी नायव उपरीक्षक पोखरेलले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.