पौरखः ३६ वर्षदेखि सडकमा चिया बेच्दै

पौरखः ३६ वर्षदेखि सडकमा चिया बेच्दै

तस्बिर: अनिश रेग्मी/सेतोपाटी




कोही मान्छे यस्ता हुन्छन्, जो सपना पूरा नभएसम्म लडिरहन्छन्।

कोही मान्छे यस्ता हुन्छन्– जिन्दगी चलाउने पूरै जिम्मा समयलाई छाडिदिन्छन्।

हामीले न्युरोड गेटमा दोस्रो प्रकृतिको मान्छे भेट्यौं, ६४ वर्षीया दिजुला थापामगर।

यो ३६ वर्षदेखि एकै ठाउँमा चिया बेच्नेको कथा हो।

न्युरोड गेटबाट देब्रे मोडिँदा जति लोसो हिँडे पनि सय पाइलामै पुगिन्छ उनको चिया पसल। नेपाल वायुसेवा निगम भवनको ठ्याक्कै पछाडि। उहिले उनले पसल राख्दा निगमको भवन एक तला थियो। अहिले अर्को तला थपिएको छ। दिजुला त्यही दुईतले भवनको ढाडमा आड लागेर चिया बेच्छिन्। बिहान ५ देखि बेलुकी ८ बजेसम्म।

हालैको एक साँझ दिजुलाले बनाएको चिया पिउँदै, गफिँदै हामीले उनको जिन्दगीको कथा खोतलेका थियौं।

त्यो दिन उनका छोरा र देवरकी छोरी पसलमै थिए। छोरा दिनभर थोकमा सामान बेच्छन्। साँझ आफैं फुटपाथमा दोकान थाप्छन्। दिजुलाका दुई छोरीको बिहे भएको धेरै वर्ष बितिसक्यो। नाति–नातिना पनि भइसके।

यतिका वर्षमा त्यो चिया पसलले कति कमायो उनले हिसाब गरेकी छैनन्। भुइँचालोले घर लगेपछि ललितपुरमा नयाँ घर ठड्याइन्। त्यसमा छोरा, श्रीमान र उनको संयुक्त कमाइ परेको छ। बसोबास भने न्यूरोडमै भाडाको घरमा छ। उनी न्यूरोड क्षेत्रमा बस्न थालेकै ५५ वर्ष बितिसक्यो। यही एउटा घरमा १८ वर्ष बिताइसकिन्।

दिजुला काभ्रे, बनेपाकी हुन्। सात/आठ वर्षको छँदा न्युरोड, संकटामा आइन्। उनका बाबु पहिले नेपाली सेनाका जागिरे थिए। अवकाश पाएपछि नेपाल बैंकमा गार्ड बने। बाबुसँगै बस्ने दिजुला स्कुल जान भनेपछि झन्झट मान्थिन्। बाबु भन्थे, ‘स्कुल गएर दुईचार अक्षर जाने पछि कसैले छक्याउन सक्दैन। अक्षर भनेको आँखा हो, यसले देख्न सिकाउँछ।’

सानी दिजुलालाई त्यतिबेला यसको के अर्थ! उनी आफ्नो आँखाले जति देख्थिन्, त्यसैमा सन्तुष्ट थिइन्।

उनको बिहे पनि सैनिक परिवारमै भयो। काकादेखि मामासम्म सबै सेनाका जागिरे थिए। दिजुलाका बाबु र उनको श्रीमानका माइलो काका एउटै पल्टनमा रहेछन्। उनको बिहेको तारतम्य यहीँबाट जुरेको हो। दिजुलाका बाबुले हुनेवाला ज्वाईंलाई देखेकासम्म थिएनन्। ब्याजीको प्रस्ताव उनले नकार्न सकेनन्। अिन त, साथी सम्धी भए।

संकटा मन्दिरमै हो बिहे भएको, जहाँ नजिकै उनको चिया पसल छ।

‘बिहेको तीन दिनअघि मात्र मलाई बाबाले भन्नुभएको थियो– छोरी पर्सि तेरो बिहे गर्ने दिन। त्यही दिन यस्सो झुलुक्क श्रीमानलाई देखेको थिएँ। अहिलेजस्तो केटा–केटीले एकअर्कालाई मन पराएर बिहे गर्ने चलन थिएन। बिहेअघि श्रीमानलाई कस्तो रुपमा देखेको पनि याद छैन,’ चियाको तातो बाफसँगै दिजुलाको धमिलो स्मृति उडिरहेका थिए।

‘बाबाले भनेको केटासँग बिहे गर्नुको विकल्प पनि थिएन,’ उनले भनिन्, ‘हाम्रो त बिहेको फोटोसमेत छैन बाबु।

आडैमा बसेर हाम्रो गफ सुनिरहेकी दिजुलाकी देवरकी छोरीले आफूलाई रोक्न सकिनन्। हाँस्दै ठूलीआमालाई जिस्क्याइन्, ‘आमा त गहना, नयाँ लुगा लाउन पाएपछि मख्खै हुनुभयो होला नि!’

दिजुला डेक्चीमा भकभक उम्लिरहेको चिया डाडुले चलाउँदै फु… फु… गरिरहेकी थिइन्। उनी छोरीतिर मुन्टो बटार्दै झर्किइन्, ‘नयाँ लुगा, गहनामा रमाउने खालको भा’की भए ३६ वर्षदेखि एउटै ठाउँमा चिया बेचेर बस्थेँ?’

खाली भाँडोमा प्याकेटको चिसो दूध खन्याउँदै दिजुलाले कथा बढाइन्।

बिहेको केही दिनमै श्रीमान नेपालगञ्ज पुगेछन्। दिजुला यता एक्लै परिन्। साथी बन्यो, पछ्यौरा।

उनले हातले बुनेका महँगा पछ्यौराका भुवा टिप्ने काम पाइन्। ती सामान उनले छुन मात्र पाए, आङ ढाक्न कहिल्यै पाइनन्। एउटा पछ्यौराको भुवा टिपेको ज्याला ६/७ रुपैयाँ थियो। बिहेपछिका केही वर्ष उनले यही काम गरिन्। यसले उनको एक्लोपन हटाउँथ्यो, आम्दानी पनि हुन्थ्यो।

‘बाबाले अक्षर चिन्नुपर्छ छोरी भनेको त्यतिबेला याद आयो,’ दिजुला सम्झन्छिन्, ‘अक्षर चिनेको भए राम्रै ठाउँमा जागिर पाइन्थ्यो होला। तर, अहिले केही गुनासो छैन।’

बिहेको दुई/तीन वर्षमा छोरा जन्मिए। तै उनले काम छाडिनन्। घरमा जहान थपिएपछि खर्च बढ्यो। विकल्प खोज्दै जाँदा कोठानजिकै चिया बेच्ने सोच उब्जियो। स्टोभ, गिलास लगायत सामान किनिन्। दूध, चियापत्ती त उधारोमा पाइहाल्थे। दिउँसो व्यापार गर्यो, बेलुका तिर्यो।

उनको धमिलो सम्झनाअनुसार दूध र मट्टीतेलको मूल्य बराबरीजस्तै पर्थ्यो। दुई रुपैयाँ एक सुका हो कि जस्तो लाग्छ। जहाँसम्म चियापत्तीको कुरा छ, सुरुदेखि अहिलेसम्म एउटै चियापत्ती चलाउँछिन्। उनीकहाँ आउने ग्राहक भन्छन्, ‘दिजुला दिदीकहाँ चियाको स्वाद कहिल्यै फेरिएन।’

‘मैले सुरुमा चलाउँदा साढे ६ रुपैयाँ थियोजस्तो लाग्छ,’ दिजुलाले चियापत्तीको भाउ सम्झिइन्, ‘अहिले असी रुपैयाँ पर्छ। त्यही नामको चियापत्ती हो, पहिलेभन्दा हलुका छ।’

दूधमा पनि उनको यस्तै गुनासो छ।

‘पहिलेको बोत्तलबाट खन्याउँदा त घत्… घत्… गर्थ्यो। अहिले त त्यार्र। पहिले उति दूधले ६ गिलाससम्म बाक्लो चिया बनाउन सकिन्थ्यो, अहिले ४ कप बनाउँदा पनि पातलो भयो भन्छन् मान्छेहरु।’

त्यसो त उनीकहाँ चियाको दाम पनि कहाँको कहाँ पुगिसक्यो। पहिले एक मोहर प्रतिगिलासमा बेच्थिन्, अहिले बीस रुपैयाँ लिन्छिन्।

अरु सबै चिजले लय बदले पनि दिजुलाको जिन्दगीले लय फेरेको छैन।

जिन्दगीमा दु:खी कहिल्यै भइनन्, सुख पाएको पनि हेक्का छैन। यत्ति हो, कसैको एक वचन सुनेको उदाहरण छैन। फुटपाथमा पसल राखेको भनेर महानगरपालिकाले ‘हेपेको’ छैन। वायुसेवा निगमको भवनले ‘मेरो ढाड बिझायो’ भनेको छैन। उनी यत्तिमै खुसी छिन्।

कुनै बेला उनकै छेउमा उभिएर कराउँदै सामान बेच्नेहरु सटरभित्र कुर्सीमा छन्। उनले भने कहिल्यै योजनै बनाइनन्।

‘बिहानदेखि व्यापार गर्छु, बेलुका सामान थन्क्याउँछु, दूध, चियापत्ती, चिनी, मट्टीतेलको उधारो तिर्छु,’ सन्तोषी दिजुला अनुमानको हिसाब गर्छिन्, ‘पाँच/छ सय जति बच्छ कि। हिसाब किन गर्नुपर्यो र? यहीँ कमाएर छोराछोरी पढाएँ, नातिनातिना पढ्दैछन्। एक छाक खान पाइन भनेर कसैसँग माग्नुपरेन। यही नै हो मेरो सन्तुष्टि।’

दिजुलाको चिया पसलमा राम्रा कुर्सी छैनन्। ग्राहकहरु निगमको भवनमा आड लागेर चिया पिउँछन्। चुरोटको धुवाँ उडाउँछन्। दिजुलाको नाकमा भने स्टोभको कालो धुवाँ छिर्छ। ३६ वर्षदेखि चिया बेच्दा पनि उनलाई ग्यास चुह्लो किन्ने सोच आएन। झन्झट लाग्छ रे! कुरा खोतल्दै जाँदा थाहा भयो– झन्झट हैन, बल नपुग्ने रहेछ।

‘ग्यास चुह्लो राख्ने हो भने सिलिन्डर कसले बोकिदेओस्?’ उनी भन्छिन्।

यी पौरखी आज पनि उत्तिकै तन्दरुस्त छिन्। दिनको १२/१३ घन्टा एकैठाउँ बस्दा ढाड दुख्नेबाहेक कुनै रोग नभएको उनी बताउँछिन्।

‘गरिबलाई रोग लाग्दैन भन्ने थाहा छैन बाबु तपैंलाई?’ दिजुला भन्दै थिइन्, ‘रोगलाई त कामले नै पेलिहाल्छ नि। गरिबहरुलाई धुवाँले नि छेक्दैन, धुलोले नि रोक्दैन। जति सुख खोज्यो त्यति रोग लाग्छ।’

पुराना साथी-आफन्तले जिन्दगीप्रति गुनासो गरेको सुन्दा पनि उनलाई दिक्क लाग्छ।

‘मलाई कसैसँग केही गुनासो छैन,’ भन्छिन्, ‘कसैसँग केही आस नराखेर पनि होला। मेरो नाति देख्नुभयो भने तपैं दंग पर्नुहुन्छ। भेट्यो कि ग्वाम्लाङ्ङ अँगालो हाल्दै भन्छ– मेरो आमालाई दस करोड माया गर्छु। त्यो नाति देख्दा खुसी भनेकै सन्तान रहेछन् जस्तो लाग्छ। मान्छेहरु मन्दिर गएर मूर्तिमा टाउको ठोकेर फर्किन्छन्, घर फर्केर डाँको छाडेर रुन्छन्। घरमा शान्ति छ भने मन्दिर धाइरहनुपर्दैन। घरमा जे पाक्यो, त्यही खाने, खुरुखुरु आफ्नो काम मात्र गरिरहने, अरुको चासो नगर्ने हो भने केही दुःख हुँदैन।’

दिजुलाको ललितपुरमा पक्की घर छ। व्यस्त सडकसँगै जोडिएको घरमा सटर पनि छ। यो फुटपाथभन्दा आफ्नै घरको सटर नै फराकिलो हो भन्ने उनलाई थाहा छ। तर, उनलाई सटरभन्दा यही सडक प्यारो छ।

‘अहिले धेरै त सोचेको छैन,’ दिजुला भन्छिन्, ‘८०/८२ वर्षसम्म यही ठाउँमा चिया बेचेर बस्न सक्छु कि भन्ने लाग्छ।’

नाप्न मिल्दो हो त उच्चतम विन्दुमा पुग्थ्यो होला दिजुलाको आत्मविश्वास!

दिजुलाले सोचेको उमेरसम्म चिया बेच्न सकिन् भने उनको पसलले ‘स्वर्ण जयन्ती’ मनाउनेछ!

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.