स्थानीयले गर्ने भनेको काष्ठमण्डप पुनर्निर्माण महानगर अघि सरेपछि विवादमा

तस्बिर: नारायण महर्जन/सेतोपाटी


भुइँचालो गएको दुई वर्ष नाघिसक्दा पनि गति लिन नसकेको काष्ठमण्डप पुनर्निर्माण स्थानीय तहको निर्वाचनपछि थप बल्झिएको छ।

स्थानीय बासिन्दा सहभागी अभियानबाटै पुनर्निर्माण गर्ने समझदारी भए पनि काठमाडौं महानगरपालिकामा नयाँ नेतृत्व आएपछि अड्चन सुरु भएको हो। मेयरदेखि वडाध्यक्षसम्मले आफ्नै नेतृत्वमा पुनर्निर्माण गर्ने इच्छा देखाएपछि पछिल्लो समय अभियान रोकिएको छ।

महानगरले यससँग जोडिएको बजेटको लोभमा आफ्नो काममा भाँजो हाल्न खोजेको काष्ठमण्डप पुनर्निर्माणका अभियन्ताहरू आरोप लगाउँछन्।

महानगरपालिकाले भने जननिर्वाचित प्रतिनिधिहरूले आफ्नै नेतृत्वमा पुनर्निर्माण गर्न चाहेको र अभियानको काम–कारबाही पनि पारदर्शी नभएको बताएको छ।

काष्ठमण्डप पुनर्निर्माण अभियान, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच २०७४ वैशाख २९ गते भएको समझदारीमा भुइँचालोले भत्किएको यो सम्पदा बनाउने जिम्मा स्थानीय अभियानकै थियो।

यही समझदारीअनुरुप काम सुरु गर्दा महानगरले ‘बजेटको लोभमा विभिन्न कारण देखाउँदै भाँजो हालेको’ काष्ठमण्डप पुनर्निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले बताए।

उनका अनुसार काष्ठमण्डपको जग संरक्षण गर्न जस्ताको छाना भएको बाँसको टहरो बनाउन थालिएको थियो। महानगरले हस्तक्षेप गरी अभियानसँग रहेको काष्ठमण्डप परिसरको साँचो खोसेर लग्नुका साथै टहरा बनाउने काम बीचमै रोकेको उनले बताए।

काष्ठमण्डप सम्पदा निर्माण भएयता २०७२ सालको भुइँचालोले पहिलोपटक यसको जग उदांगो पारेको हो। यसको जगमा नौखण्डको मण्डप छ। नेवार परम्पराअनुसार तिहारमा म्हः पूजा मनाउँदा जस्तो मण्डप बनाइन्छ, यसको आकार लगभग उस्तै छ। काष्ठमण्डपको नामै यही मण्डपका आधारमा राखिएको हो। काष्ठमण्डप स्थापना भएयता नौवटै खण्डको मण्डप पहिलोपटक देखिएको संस्कृतिविदहरू बताउँछन्।

भुइँचालोले क्षतिग्रस्त सम्पदाको यति महत्वपूर्ण जग नै बर्खाले नष्ट गर्ने खतरा बढेपछि प्राधिकरण, पुरातत्व र महानगरलाई समस्या समाधान गर्न पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको अध्यक्ष श्रेष्ठको गुनासो छ।

‘वर्षा याम सुरु भएकाले काष्ठमण्डपको जगमा पानी पसेर थप क्षति हुन नपाओस् भनी हामीले सबै पक्षको ध्यानाकर्षण गराउँदै आएका थियौं। महानगरले नै टहरा बनाएर पानी पस्नबाट जोगाओस् भनी डिजाइन बनाएर दिएका थियौं,’ उनले बिहीबार सेतोपाटीसँग भने, ‘महानगरपालिकाले भने खासै महत्व दिएन। पुरातत्व र पुनर्निर्माण प्राधिकरणले पनि गम्भीरतापूर्वक लिएनन्।’

काष्ठमण्डपको जग संरक्षणका लागि टहरा निर्माण असार १० गतेअघि नै सक्ने उद्देश्य थियो। महानगरकै हस्तक्षेपले अवरुद्ध भएको उनको भनाइ छ।

‘महानगरले हस्तक्षेप गरेपछि अहिलेसम्म टहरा बन्न सकेको छैन। पानी पसेर चौध सय वर्ष पुरानो जग बिगार्यो भने अपूरणीय क्षति हुनेछ,’ अध्यक्ष श्रेष्ठले भने।

फाइल तस्बिर: नारायण महर्जन/सेतोपाटी

नेपाल मण्डल सभ्यताको सबैभन्दा प्राचीन नमूना काष्ठमण्डप मरु सतः पुनर्निर्माणसँग जोडिएको करोडौं बजेटकै लोभमा महानगर प्रतिनिधिहरू जनसहभागिताप्रति अनिच्छुक रहेको उनको आरोप छ।

उनका अनुसार जनसहभागितामा काम गर्दा बाह्य संरचनाका लागि ९–१० करोड रुपैयाँ लाग्ने देखिएको छ। उत्खनन् गरिएका पुराना काठ प्रयोग गर्ने हो भने ६–७ करोडमै सकिन्छ। यसको सरकारी अनुमानित लागत भने १९ करोड हो।

अभियन्ताहरूको यस्तो तर्क र कार्यशैलीप्रति काठमाडौं महानगरपालिका सहमत छैन।

महानगरका प्रमुख कार्यकारी ईश्वरराज पौडेलले काष्ठमण्डप पुनर्निर्माण आफैंले गर्न खोज्नुका चार कारण खुलाए।

पहिलो, पुनर्निर्माण अभियान सुरु भएको स्थानीय निर्वाचनअघि हो। त्यतिबेला अभियानले आर्थिक संकलन गर्ने, पुरातत्वले सामग्री उपलब्ध गराउने, महानगरले प्राविधिक सहयोग गर्ने र पुनर्निर्माण प्राधिकरणले समन्वय गर्ने समझदारी भएको थियो।

चुनावपछि भने महानगर र वडास्तरमा नयाँ नेतृत्व आयो। मेयरदेखि वडाध्यक्षसम्मले काष्ठमण्डपजस्तो प्राचीन सम्पदा पुनर्निर्माणको दायित्व र नेतृत्व स्थानीय सरकार आफैंले लिनुपर्ने तर्क गरे।

‘मेयरसहितको नयाँ नेतृत्वले हामी बनाउँछौं भन्ने धारणा राख्नुभएको छ,’ पौडेलले सेतोपाटीसँग भने, ‘स्थानीय अभियन्ताहरू भने नेतृत्व हामी लिन्छौं, महानगर पछि आओस् भन्ने चाहनुहुन्छ। संसारको कुनै ठाउँमा कुनै संस्था वा अभियानको पछाडि सरकार हिँड्दैन। सरकारले चाहेर जिम्मा दियो भने अलग कुरा हो, नभए यति ठूलो जिम्मेवारीको नेतृत्व सरकारले नै लिने हो। स्थानीय स्तरको विज्ञ आवश्यक देख्यो भने उनीहरूबाट सहयोग खोज्ने हो। पूरै नेतृत्व उनीहरूलाई सुम्पेर सरकार त्यसलाई पछ्याउँदै हिँड्ने होइन।’

दोस्रो, स्थानीय सहभागिताको यो अभियानले आफैंमा पारदर्शी काम गर्न नसकेको महानगरका प्रमुख कार्यकारी पौडेलको भनाइ छ। खासगरी आर्थिक संकलनमा अभियानको काम पारदर्शी नदेखिएको उनले बताए।

‘उहाँहरूले स्वदेशमा मात्र पैसा उठाउने कुरा गर्नुभएको थियो, अहिले देश–विदेशबाट उठाउन थाल्नुभएको छ,’ उनले भने, ‘त्यसरी उठाएको पैसाको विश्वसनीय खातापाता छैन। यसले थिति होइन, बेथिति ल्याउला भन्ने डर भयो।’

तेस्रो, काष्ठमण्डप पुनर्निर्माण अभियान आफैं पनि निर्विवादित रहन नसकेको महानगरका प्रमुख कार्यकारी बताउँछन्। एउटा अभियानले काम गरिरहँदा अर्को समूहले त्यही कामको जिम्मा लिन खोजेको पौडेलले बताए।

‘यसले स्थानीय स्तरमै अभियानप्रति विश्वास र एकता छैन भन्ने देखाउँछ,’ उनले भने, ‘अभियानका नाममा एउटै कामका लागि दुई–दुईवटा समूह अघि सरेपछि महानगरले कसलाई जिम्मा दिने?’

अभियानका अध्यक्ष श्रेष्ठ भने स्थानीय स्तरबाट पनि यति ठूलो पुनर्निर्माण हुनसक्छ भनी नपत्याएको महानगर धमाधाम काम भइरहेको देखेपछि रोक्न अघि सरेको जिकिर गर्छन्।

‘महानगरपालिकाले पत्याएकै थिएन, तर हामीसँग जुनसुकै अवस्थामा जस्तोसुकै काम गर्न तम्तयार स्वयंसेवीहरू टन्नै छन्। उनीहरूकै बलमा हामीले सक्रियतापूर्वक काम थाल्यौं। अहिले फटाफट काम भएपछि यसलाई कसरी रोक्ने भनेर लागेका छन्,’ उनले भने।

काठमाडौं महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माण अभियानबीच उत्पन्न यो किचलो पुनर्निर्माण प्राधिकरणसम्म पुगेको छ। आपसी विवादले पुनर्निर्माण एक डेग अघि बढ्न नसकेपछि प्राधिकरणले बुधबार बैठक डाकेको थियो। कुनै निर्णय भने भएको छैन।

विश्व सम्पदा सूचीमा रहेको काष्ठमण्डप संरचना १२ औं शताब्दीमा बनेको इतिहासकारहरूको भनाइ छ। ऐतिहासिक अभिलेखमा त्योभन्दा पुरानो तिथिमिति फेला परेको छैन। संस्कृतिविद् यज्ञमान पति बज्राचार्यको किताबले भने यो सम्पदा आठौं शताब्दीमा बनेको कथा भन्छ। पुरातत्व विभाग र बेलायतका डर्हाम तथा स्टर्लिङ विश्वविद्यालयको अनुसन्धानले आठौं शताब्दी आसपासमै बनेको निष्कर्ष निकालेको छ।

काठमाडौं खाल्डोको प्राचीन सभ्यता झल्काउने अरू थुप्रै तथ्य उक्त अनुसन्धानबाट उजागर भएका छन्।

पुरातत्वविदहरूले काष्ठमण्डप उत्खनन क्रममा जमिनको सतहभन्दा पाँच मिटर तलसम्म खनेका थिए। उनीहरूले त्यतिबेलासम्म जमिन खन्दै गए, जबसम्म प्राकृतिक अवस्थाकै माटो फेला परेन। माटोको स्वरुप र त्यसमा रहेको बालुवाको कणको अवस्था परीक्षण गर्दा यहाँ कम्तीमा इसापूर्व दोस्रो शताब्दीमै मानव बस्ती बसिसकेको तथ्य फेला परेको छ। यो भनेको आजभन्दा २ हजार २ सय वर्ष पुरानो घटना हो।

यिनै तथ्यका आधारमा काष्ठमण्डप (मरु सतः) लाई संसारकै अद्वितीय भवन मात्र हैन, काठमाडौं खाल्डोमा विकसित नेवार सभ्यताको अनुपम उदाहरण मानिन्छ। योसँग काठमाडौंको जीवनचर्या गाँसिएकाले अभियन्ताहरू यसलाई भौतिक संरचनाभन्दा जीवन्त सम्पदा मान्छन्। उनीहरूले समझदारीपत्र हस्ताक्षरपछि जीवित देवी कुमारीसामु काष्ठमण्डप पुनर्निर्माण गर्ने संकल्प गरेका थिए।

‘हामीले कुमारी देवीलाई साक्षी राखेर काष्ठमण्डप पुनर्निर्माणमा अरू कसैको हस्तक्षेप हुन नदिने संकल्प लिएका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘जस्तोसुकै बाधा आए पनि स्थानीय सम्पदा नमर्ने गरी यसको पुनर्निर्माण गर्नु नै हाम्रो उद्देश्य हो। र, हामी यसमा दृढ छौं।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.