पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को यही साउन २१ गते हुने निर्वाचनमा प्रमुख राजनीतिक दल निकट व्यवसायीबीच चर्को प्रतिस्पर्धा हुने भएको छ ।
एनएमएको नेतृत्व हत्याउन मुख्य प्रतिस्पर्धीका रुपमा जिम्बा जाङ्बु शेर्पा र सन्तवीर लामाको समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ ।
शेर्पालाई नेपाली काँग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (निट), नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीको समर्थन छ, भने लामालाई नेकपा(एमाले) निकट राष्ट्रिय नेपाल पर्यटन व्यवसायी संगठन र नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी संगठनले साथ दिएको छ । अध्यक्षका आकांक्षी दुवै एनएमएका उपाध्यक्ष हुन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत प्रतिष्ठित संघको नेतृत्व हत्याउन आकांक्षी उम्मेदवारले एक महिनाअघिदेखि नै दौडधुप र प्रचारबाजी तीव्र पारेका छन् । दुवै पक्षका व्यवसायीले दलगत र गुटगत रुपमा भेला, छलफल गरी निर्वाचनमा आफूलाई अब्बल दाबी गरिरहेका छन् ।
पर्यटनलाई राजनीतिमुक्त बनाउनुपर्छ भनेर व्यवसायीलाई ‘अर्ती’ दिने नेताहरु नै अहिले एनएमए निर्वाचनलाई लिएर राजनीतिक रुपमा भेला र छलफलमा जुटिरहेका छन् । ठूला पार्टीका पर्यटन विभाग हेर्ने नेताहरु निर्वाचनमा खुलेर व्यवसायीको भेला र भाषणबाजीमा सक्रिय छन् ।
एक साताअघि उल्लेख्य पर्यटन व्यवसायी भेला भएको एक कार्यक्रममा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले ‘पर्यटनलाई राजनीतिबाट मुक्त गरौँ’ भनेर भाषण गरे तर, दुई दिनअघि अध्यक्षका उम्मेदवार लामाको पक्षमा रणनीति बनाउन राजनीतिक भेलामा सहभागी भए। पर्यटनलाई राजनीतिमुक्त नभई राजनीतिकरण मुक्त गरिनुपर्ने उनको भनाइ थियो ।
थपाजस्तै माओवादी केन्द्रका पर्यटन विभाग हेर्ने नेता लोकेन्द्र विष्टमगरले पनि निर्वाचनको पक्षमा माहोल सिर्जना गर्न व्यवसायी भेला गरे। दुवै नेता सहभागी भई व्यवसायीसँग छलफल भेला गर्दै आएका छन् ।
यता नेपाली काँग्रेस निकट पर्यटन व्यवसायीले पनि प्रत्यक्ष रुपमा राजनीतिक रङ दिएर एनएमए निर्वाचनको प्रचारप्रसार भेला र गुटगत छलफललाई तीव्रता दिएको छ । यद्यपि, ठूला नेता भने छलफलमा सहभागी भएको देखिदैन ।
यसअघिका ट्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टूर एजेन्ट (नाटा), ठमेल पर्यटन विकास परिषद्, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोभ)लगायत निर्वाचनमा पनि तीव्र राजनीतिकरण भएको थियो । अहिले पर्यटन व्यवसायसँग सम्बन्धित ४० भन्दा बढी संस्था सक्रिय छन् ।
संस्थाको व्यावसायिक छवि जोगाउन निर्वाचनमा सर्वसम्मत नेतृत्वका लागि वार्ता र छलफल भए पनि त्यस्तो सहमतिको सम्भावना नदेखिएको एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले बताए।
उनले एनएमएको छवि र गरिमालाई उँचो बनाउन राजनीतिक प्रचारबाजी र विवादभन्दा पनि निश्पक्ष प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए।
व्यवसायीका आ–आफ्नै दाबीः
अध्यक्षका दुवै प्रत्यासीले निर्वाचनमा व्यवसायीको मत आफ्नो पक्षमा आउने दाबी गरेका छन् । प्रत्यासी जिम्बा जाङबु शेर्पाले सबै राजनीतिक पार्टीका साहसिक पर्यटन व्यवसायी लागेकाले आफ्नो समूहले सर्वसम्मत जित्ने बताए। विपक्षी समूह एनएमएलाई कमजोर पार्ने गरी विगतमा लागेकाले उसको पक्षमा मत नजाने शेर्पाको दाबी छ ।
अर्का प्रत्यासी सन्तवीर लामाले आफ्नो समूह व्यावसायिक आरोहीको भएकाले निर्वाचनमा जित पक्का रहेको बताए।
निर्वाचनबाट एनएमएको आठौँ अध्यक्षसहित पदाधिकारी, सदस्य गरी २५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । निर्वाचनका लागि एक हजार ३९ मतदाता रहेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणसँग जोडिएको एनएमएको छवि अन्तर्राष्ट्रिय जगतमा चर्चित छ । एनएमएका हिमाली क्षेत्रमा १३ च्याप्टर छन् ।
नयाँ नेतृत्वका लागि मनोनयनः