एक सातामै सडक भत्किएपछि छानबिन गर्दै सडक विभाग

एक सातामै सडक भत्किएपछि छानबिन गर्दै सडक विभाग




कीर्तिपुरको मुख्य प्रवेशद्वारको रुपमा रहेको नयाँ बाटो तीनकुने सडक निर्माण सम्पन्न भएको एकहप्तामै पिँच भत्किएपछि सडक विभागले प्राविधिक अध्ययन थालेको छ।

भौगर्भिक तथा अन्य प्राकृतिक कारण वा निर्माण व्यवसायीको लापरबाहीको कारणले भत्किएको हो भनेर निष्कर्षमा पुग्न भौगर्भिक अध्ययन थालिएको विभागका इन्जिनियर अरुणकुमार कर्णले जानकारी दिए।

पिँचको थिकनेस, विटुमिन समिश्रणको अवस्था कस्तो छ भनेर प्रायेगशालामा परीक्षण गरिने कर्णले बताए। उनका अनुसार हाल विभागले उक्त सडक खण्डको पाँच ठाउँमा ड्रिल गरेर माटो, पानीको अवस्थाबारे अध्ययन गरिरहेको छ।

१५ देखि २० सेन्टिमिटर मुनीसम्मको आधारभुत लेयरको प्रि डेनसिटी हेरेर त्यस्तो अवस्था किन र कसरी आयो भनेर पत्ता लगाइने कर्णले जानकारी दिए।

तर विभागका अधिकारीहरुले भने जमिन मुनीबाट पानी आएर पिँच भत्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन्।

एक हजार तीन सय मिटर लामो यो सडक करिब एकवर्षसम्म सवारी आवतजावत बन्द गरेर, ९ करोड ३२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको थियो। तर उक्त सडक पिँच सम्पन्न भएर सवारी चलेको रातिबाट नै ठाउँठाउँमा भत्किएको थियो।

त्यसको केही समयपछि सडकखण्डमा अधिकांस स्थानमा पिँच भत्किएको छ। स्थानीयले भने निर्माण व्यवसायीले कमसल सामग्रीको प्रयोग गरेको सडक विभागले अनुगमन नगरेकोले यस्तो अवस्था आएको आरोप लगाएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.