बारबरा एडम्स खोजी पत्रकारिता सम्मान ज्ञवालीलाई


सन् २०१६ का लागि बारबरा एडम्स खोजी पत्रकारिता सम्मान कान्तिपुर दैनिकका संवाददाता कृष्ण ज्ञवालीलाई दिइने भएको छ।

चिकित्सा शिक्षामा भएका भ्रष्टाचार र अनियमितताबारे खोजमूलक रिपोर्टहरू प्रकाशित गरेका पत्रकार ज्ञवालीलाई यो सम्मान दिन लागेको बारबरा शान्ति प्रतिष्ठान नेपालले जनाएको छ।

संस्थाद्वारा प्रकाशित विज्ञप्तिअनुसार यो सम्मानका लागि टेलिभिजन, रेडियो, अनलाइन र छापाबाट गरी ३७ जना पत्रकारले आफ्नो रिपोर्टसहित आवेदन गरेका थिए। निर्णायक समितिले तीन चरणको छनौट प्रक्रियापछि पत्रकार ज्ञवालीलाई उक्त सम्मान दिने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।

यो सम्मान बारबरा शान्ति प्रतिष्ठान नेपालको रिलञ्च गर्न आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने छ। सम्मानको राशि १ लाख १ रुपैयाँ छ। उक्त सम्मान त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागसँगको सहकार्यमा सञ्चालित हुँदै आएको छ।

यसअघि नागरिक दैनिकका संवाददाता सुरेन्द्र पौडेलले यो सम्मान पाएका थिए। हरेक वर्ष दिइने यो सम्मान पहिलो संस्करणपछि विनाशकारी भूकम्प र बारबरा एडम्सकै निधनका कारण दुई वर्षको अन्तरालमा दोस्रो संस्करणमा आइपुगेको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.