तस्बिरमा हेर्नुहोस् नागपञ्चमी र जनैपूर्णिमा एकै दिन परेपछि


प्रत्येक वर्ष झैं श्रावण शुक्ल पञ्चमीको दिन शुक्रबार नागपञ्चमी पर्व मनाइएको छ । घरको मूलढोकामाथि नागको तस्विर टाँसेर पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइएको हो । घरको मूलढोकामाथि नागको तस्विर टाँस्दा नाग, सर्प र विच्छी लगायत जीवले दुःख नदिने र घरमा लक्ष्मीले बास गर्ने जनविश्वास रहदै आएको छ।

नागपञ्चमीको अवसरमा नागको पूजाआजाका लागि शनिबार बिहानैदेखि पशुपतिको बासुकि मन्दिर, धापाखेलस्थित नागदह, नक्सालको नागपोखरी र कर्कोटक नागको बासस्थान मानिदै आएको टौदहमा उल्लेख्य श्रद्धालु भक्तजनको भीड लागेको छ। नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए पानीको अभाव हुने भएकाले नागलाई खुसी पार्न श्रावण शुक्ल पञ्चमीको दिन पारेर नागको पूजा गर्ने चलन छ।

किंवदन्ती अनुसार किसानले आफ्ना तीन बच्चा मारेकामा रिसले चुर नागिनीलाई किसानकी छोरीले आफ्ना मातापिता र भाइलाई बचाउनका लागि पूजाआजा र प्रार्थना गरेर दुध खान दिएको र प्रसन्न भएर नागिनीले किसानको परिवारलाई जीवनदान दिएको दिनको सम्झनामा श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व मनाउने गरिएको हो ।

त्यसैगरी शुक्रबार नै ऋषितर्पणी तथा रक्षाबन्धन पर्व पनि मनाईएको छ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाईने यो पर्व यसपटक पञ्चमीकै दिन मनाईएको हो । पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन मनाईएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । जनै पूर्णिमाको दिन तागाधारीले गुरू पुरोहितद्धारा मन्त्रिएको जनै फेर्ने गर्छन् । बिहानै नजिकको पवित्र तिर्थस्थल पुगी गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान पश्चात जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी पुरोहितद्धारा विशेष मन्त्रद्धारा मन्त्रिएको नयाँ जनै फर्ने चलन छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । साथै महिलाहरुले मन्त्रीएको डोरो हातको नाडीमा बाँध्ने चलन छ । तराई तिर आजको दिन दिदी बहिनीले दाजुभाईलाई राखी बाध्ने गर्दछन् ।

यो पनि हेर्नुहोस्

तस्बिरमा हेर्नुहोस् जनैपूर्णिमा

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.