दलितलाई पढाउँदा मुद्दा!

दलितलाई पढाउँदा मुद्दा!


अछामकी दुर्गा विक गत साता काठमाडौंमा भेटिइन्। करिब दुई वर्षदेखि सर्वोच्च अदालतमा मुद्दा झेलिरहेकी उनी यसपटक तारिख धान्न आइपुगेकी थिइन्।

तारिख सर्यो। दुर्गाको झमेला झन् तन्कियो।

सर्वोच्चमा दुई वर्ष र पुनरावेदनमा तीन वर्ष गरी दुर्गाले यो मुद्दा खेप्न थालेको पाँच वर्ष बित्न आँट्यो। पुनरावेदनमा त उनले जितेकी थिइन्। तर, विपक्षीले सर्वोच्चमा रिट हाल्यो।

यो मुद्दा कहिले छिनिने हो, दुर्गालाई थाहा छैन। यत्ति विश्वास छ, न्याय उनकै भागमा पर्नेछ।

यो मुद्दा दुर्गाको व्यक्तिगत कारणसँग सम्बन्धित छैन। प्रत्यक्ष रूपमा उनीमाथि मुद्दा लागेको पनि हैन। उनी पनि त्यसलाई आफ्नै मुद्दा ठान्दै ‘लडाइँ’ को नाम दिन्छिन्। यस्तो लडाइँ, जुन विभेदविरुद्ध छ। पुरातन सोचविरुद्ध छ। भ्रष्टाचारविरुद्ध छ।

‘मुद्दा मलाई लागेको हैन,’ दुर्गा भन्छिन्, ‘तर पनि यो मेरै मुद्दा हो। मेरो समानताको लडाइँविरुद्ध परेको मुद्दा।’

अछामको सदरमुकाम मंगलसेनदेखि ३० किलोमिटर पर बेलखेतमा एउटा स्कुल छ, जहाँ सबै दलित विद्यार्थी पढ्छन्। यहाँ विद्यालय व्यवस्थापन समितिका सदस्य पनि सबै दलित छन्। शिक्षकसमेत दलित छन्। दलितकै पहल र दलितकै श्रमदानबाट खुलेको यो स्कुल सम्भवतः नेपालकै पहिलो स्कुल हो, जहाँ विद्यार्थी, व्यवस्थापन समितिदेखि शिक्षक सबै दलित छन्।

र, यो मुद्दा त्यही दलित स्कुलविरुद्धको हो।

दुर्गा नौ दिदी–बहिनीमध्ये सातौं हुन्। उनीपछि दुई बहिनी र एक भाइ जन्मिए। दुर्गाअघि कुनै पनि दिदीहरूले स्कुल जान पाएनन्। कारण थियो, आर्थिक अवस्था र ‘अर्काको घर जाने जात (छोरी) ले पढ्नुपर्दैन’ भन्ने मान्यता।

जब दुर्गापछि एक भाइ जन्मिए, उनका बाबुले उनलाई स्कुल पठाउन थाले। ‘छोरीले पढ्नुपर्छ भन्ने चेत आएर हैन, घरमा अक्षर चिनेको कोही नहुँदा भाइलाई घरमै पढाउनुपर्छ भन्ने लागेर बुवाले मलाई स्कुल पठाउनुभएको थियो,’ दुर्गाले सुनाइन्, ‘भाइ जन्मिनाले मात्र मैले पढ्न पाएँ।’

स्कुलका दिनहरू दुर्गाका लागि सहज थिएनन्। कक्षाभरीमा उनी एक्लो दलित छात्रा थिइन्। हुन त गैरदलित नै भए पनि छात्राको संख्या बढीमा पाँच जना हुन्थ्यो। पाँचै छात्राले एउटै बेन्चमा बस्नुपर्ने बाध्यता थियो। एक्ली दलित छात्रा दुर्गाको भाग जहिल्यै बेन्चको छेउमा पथ्र्यो। बीच र कुनामा बस्ने छात्राहरू ठेलमठेल गर्थे। बेन्चको छेउको धारिलोले उनको पछाडिको भागमा जहिल्यै तिखो र लामो डाम बस्थ्यो। दलित भएकै कारण आफू अन्यायमा परेको थाहा पाउन उनलाई धेरै समय लागेन।

दुर्गा तब खुसी हुन्थिन्, जब कोही एउटा छात्रा गयल हुन्थ्यो।

विभेद कक्षा र बेन्चमा मात्र थिएन, शिक्षकहरूबाट समेत खेप्नुपर्थ्यो। त्यो समय साक्षरता दर बढाउन छात्र–छात्रा दुवैलाई लिटो र छात्राका लागि तेल बाँडिन्थ्यो। गाडी पुग्ने ठाउँसम्म लगेर छाडिएको तेल र पिठो बोक्न शिक्षकहरूले विद्यार्थीलाई खटाउँथे। गैरदलितको भागमा तेल र दलित विद्यार्थीको भागमा पिठोको बोरा पथ्र्यो। दलितले तेल बोक्न त के छुनसमेत पाउँदैनथे।

दुर्गा ६/७ कक्षातिर पढ्थिन्। एकदिन पिठो बोक्न जाँदा उनलाई अचाक्ली रिस उठेछ। शिक्षकहरूबाट समेत विभेद खेप्नुपरेपछि एकदिन पिठो बोकेर हिँडिरहँदा गैरदलित साथीले बोकेको तेलको भाँडो छोइदिइन्।

तेल बोक्नेहरूले उनलाई कुटेछन्।

‘कुटाई खाँदा मलाई साह्रै चित्त दुख्यो,’ दुर्गा भन्छिन्, ‘तर, त्योभन्दा बढी मलाई आँट मिल्यो। म त्यसबेला पहिलोपटक समानताका लागि आफैं लडेको थिएँ। त्यो मेरो पहिलो विद्रोह थियो। त्यो घटनाले मलाई विद्रोह गरिराख्ने प्रेरणा मिल्यो।’

आठ कक्षा पढ्दासम्म उनी गाउँकै सबैभन्दा धेरै पढ्ने महिला भइसकेकी थिइन्। उनको टोलमा त त्यतिसम्म पढेका गैरदलित महिलासमेत थिएनन्। धेरै पढेको महिला भएकाले ‘जिटिजेड’ नामक संस्थाबाट उनले एउटा तालिम लिने अवसर पाइन्। तालिम सकिएपछि गाउँका प्रौढ महिलाहरूलाई पढाउनुपथ्र्यो। उनको कक्षामा गाउँका ठकुरी महिलाहरूको बाहुल्य हुन्थ्यो।

दुर्गाको काम अक्षर चिनाउने मात्र थिएन, सिकाईलाई गराईमा उतार्ने पनि थियो। दुर्गाले बालविवाह, महिलामाथि हुने घरेलु हिंसा, महिला र पुरुषलाई समान कामको समान ज्यालाजस्ता मुद्दामा गाउँभरका महिलालाई लिएर अभियानै चलाइन्। सरसफाइको काममा लगाइन्।

१५/१६ वर्षकी हुँदी हुन्, एक दिन त उनले प्लेकार्डमा यस्तै विषयका नारा लेखेर सबै महिलालाई गाउँ डुलाइन्। महिलालाई ‘घुम्टोभित्रै देखिराखेको समाज’ ले त्यो सहन सकेन।

बेलुकी ठकुरीहरू दुर्गाको घर घेर्न आए। ‘बदिनी’, ‘पार्तिनी’जस्ता अपशब्द प्रयोग गर्दै उनीमाथि जाइलागे। कतिले त लौरोको झटारोसमेत हान्न खोजे। तर, ठकुरी महिलाहरूले रोके।

यो उनको दोस्रो ठूलो विद्रोह थियो।

उनको तेस्रो ठूलो विद्रोह थियो, दलितहरूको सामूहिक मन्दिर प्रवेश। उनले सजिलै यो विद्रोह गरेकी होइनन्।

आठ कक्षासम्म मात्रै पढ्दा पनि गाउँभरीकै सबैभन्दा धेरै पढेकी महिला भएकाले उनले प्रौढ शिक्षाको काम पाएकी थिइन्। प्रौढ शिक्षाको ढाडमा टेकेरै उनी महिला अधिकारको नारा लगाउन सक्ने भइन्।

यी अभियानपछि उनलाई नौ डाँडा पारीसम्मका मान्छेले चिन्न थाले। गाउँमा बन्ने समूहमा महिला सहभागिता अनिवार्य भएपछि दुर्गाको नाम निर्विकल्प हुन थाल्यो। उनी सदरमुकाम मंगलसेनदेखि बेलखेतसम्मको ३० किलोमिटर बाटोको उपभोक्ता समितिको कोषाध्यक्ष बनिन्।

तर, अधिकारशून्य।

यसपछि समितिभित्र उनको द्वन्द्व चर्कियो। ‘अध्यक्षले मनोमानी गर्थे,’ दुर्गाले सुनाइन्, ‘पैसा निकाल्नु परे मलाई केही नभनी खाली चेकमा जबर्जस्ती हस्ताक्षर गराउँथे। जब उनले रकम हिनामिना गरिरहेका छन् भन्ने थाहा भयो, मैले झगडा गर्न थालेँ। गाउँलेलाई सुनाएँ।’

यस्ता विद्रोहले दुर्गा थोरैका आँखामा कसिंगर, धेरैका आँखामा चस्मा बनिन्। तालिम, सेमिनारका सहभागिताले उनलाई चलाख पनि बनाउँदै लगेको थियो। पहिले सडक उपभोक्ता समितिको मात्र कोषाध्यक्ष बनेकी उनलाई गाउँलेले सामाजिक परिचालकमा चुने। त्यसपछि त सडक उपभोक्ता समितिसमेत उनको निर्देशनमा चल्ने भयो। पहिले ‘मनलागी’ गर्ने अध्यक्ष उनीभन्दा ‘जुनियर’ भए।

सामाजिक परिचालक हुँदा उनी विभिन्न पाँचवटा परियोजना हेर्थिन्। मंगलसेन–बेलखेत सडकखण्ड उनकै निरीक्षणमा तयार भएको हो। उनी महिला मञ्च, दलित अधिकार मञ्च लगायत संस्थाकी संयोजकसमेत थिइन्। विभिन्न परियोजना आफ्नै नेतृत्वमा आएपछि उनले महिला र पुरुषको ज्याला बराबरी हुनुपर्ने माग उठाइन्।

मंगलसेन–बेलखेत सडकखण्ड निर्माण हुँदै गर्दा पुरुष र महिलाले उही काम गरे पनि ज्याला भने बराबरी थिएन। लामो घर्षणपछि त्यो लागू पनि भयो। करिब सात वर्ष सामाजिक परिचालक रहँदा उनले महिलाहरूको प्रजननसम्बन्धि समस्या र दलित अधिकारका क्षेत्रमा काम गरिन्। उनी गाविसभरकै सक्रिय महिलामा गनिइन्।

यसैबीच हो, उनले दलितहरूलाई सामूहिक मन्दिर प्रवेश गराएको।

पछि उनी महिला अधिकार मञ्च, अछामकी जिल्ला संयोजकमा चुनिइन्। दलित अधिकारसम्बन्धि विभिन्न संस्थामा पनि उनको संलग्नता रह्यो। यी सबै काम गर्न दुर्गाका लागि सहज समय भने थिएन। कामकाजका लागि जिल्ला सदरमुकाम धाइरहनुपथ्र्यो। सशस्त्र द्वन्द्व चर्किरहेका बेला माओवादी र सेना दुवै पक्षबाट उत्तिकै केरकार खेप्नुपथ्र्यो। माओवादीमा गएका उनकै गाउँका एक जना दाइलाई सेनाले मारेपछि उनलाई माओवादीले सुराकीको आरोपसमेत लगायो।

करिब एक वर्ष उनी सदरमुकाम लुकेर बसिन्। उनी संलग्न संस्थाले जिल्लामै बस्ने व्यवस्था मिलाइदिएको थियो।

दुर्गा परिवर्तन चाहन्थिन्, जुन परिवर्तन गाउँबाहेक अन्त बसेर सम्भव थिएन। फेरि माओवादी पनि उनी र उनीजस्ता हेपिएकाहरूको पक्षमा लडाइँको नारा लिएर जंगल पसेको थियो। सदरमुकाम बस्दा उकुसमुकस भएपछि उनलाई एकदिन झोंक चल्यो, ‘मरे मर्छु, एकचोटि गाउँ जान्छु।’

उनी लुकेर गाउँ पुगिन्। सुटुक्क आफैं माओवादीलाई भेट्न गइन्। त्यतिबेलासम्म माओवादीको अनुसन्धानले गाउँका दाइको मृत्युमा दुर्गाको कुनै हात नरहेको पत्ता लगाइसकेको रहेछ।

त्यसको केही समयमै उनले दलित अधिकारसम्बन्धि काम गर्ने संस्थामा जागिर पाइन्। त्यसका लागि सदरमुकाम नै बस्नुपथ्र्यो।

यति नै बेला गाउँमा एउटा घटना भयो, जसले दुर्गामा ‘दलित पाठशाला’ को सोच आयो।

‘म सदरमुकाममै थिएँ,’ उनले भनिन्, ‘सँगै पढेका मेरो गाउँका एक जना दलित दाइ आफ्नो भतिजको रिजल्ट चित्त नबुझेपछि प्रधान्याधापकलाई भेट्न गएछन्। ती दाइ गाउँभरमै एसएलसी पास गर्ने पहिलो दलित थिए। रिजल्टबारे सोध्दा हेडसरले भनेछन्– तँ कामीको छोरो हामीमाथि शंका गर्ने? केही दिनमै मलाई यो खबर आयो। म गाउँ गएँ। ती शिक्षकले भनेको कुरा सुन्दा मलाई निकै चित्त दुखेको थियो। तर, त्यही घटनाले नयाँ सोच जन्मायो।’

त्यो सोच थियो– गाउँमै छुट्टै स्कुल खोल्ने।

दुर्गाको गाउँमा तीस घर दलित परिवारको थियो। एउटा विद्यालयका लागि आवश्यक विद्यार्थी उनको गाउँबाटै पुग्थ्यो। त्यो राति दुर्गाले गाउँका सबै दलितलाई एक ठाउँमा भेला गराइन्। सल्लाह गरिन्। गाउँमै स्कुल खोल्ने प्रस्ताव राखिन्। सबैले सहमति जनाए। स्कुलको नाम राखियो– नवदुर्गा प्रावि। गाउँलेले उनको सम्मानकै लागि ‘दुर्गा’ जोडेका थिए।

गाउँका सबै दलित मिलेर भवन बनाए। तीन कक्षासम्म पढाइ सुरु भयो। अछामका एक दलित सभासदसँग २५ हजारबाहेक उनले कसैसँग सहयोग लिएनन्। सरकार या अन्य कुनै गैरसरकारी संस्थाको मुख ताकिनन्। बरु सबैको श्रमदानले दुईकोठे भवन ठड्याइन्।

स्कुल त ठडियो, तर विद्यार्थीदेखि स्कुलका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी पनि दलित भएपछि समाजलाई पाच्य भएन। शिक्षकलाई तलब खुवाउने पैसाधरि पाइनन्। यही भेदभावका कारण झंकार बिकले निःशुल्क पढाउन थाले। कतैबाट सहयोग मिलिहाले, नुनतेल खर्चस्वरुप ५/१० हजार पाउँथे।

गाउँमै स्कुल खुलेपछि पहिले विभेदका कारण स्कुल नजाने बालबालिका पनि जान थाले। गाउँको साक्षरता दर उकालो लाग्न थाल्यो।

‘अहिले हाम्रो समयको जस्तो विभेद त छैन,’ दुर्गा भन्छिन्, ‘विभेद हुँदै नभएको होइन। गैरदलित विद्यार्थीसँग सहज तरिकाले बस्न अझै पनि पाउँदैनन्। अझै पनि भाँडाको पानी सारेर खान पाइँदैन। त्यसकारण दलित बालबालिका स्कुल जान मान्दैनथे। गाउँमै स्कुल खुलेपछि त्यो समस्या हरायो।’

यसले त झन् फरक समुदायसँगको अन्तरघुलन घटाउँछ नि?

‘हो, यसमा हामी सचेत थियौं,’ सेतोपाटीको प्रश्नमा दुर्गाको उत्तर यस्तो थियो, ‘कोही एक कक्षामा पढ्ने दलित विद्यार्थीमाथि कसैले विभेद गर्यो भने त्यो उमेरमा ऊसँग लड्ने सामर्थ्य हुँदैन। चार कक्षामा पुग्दासम्म ऊ लड्ने भइसकेको हुन्छ। हाम्रो स्कुलमा पढाउने मात्र हुँदैन, विभेदसँग कसरी लड्ने भन्ने पनि सिकाइन्छ। चार कक्षामा पुग्दा ऊ विभेदसँग लड्न तयार भइसक्छ। हामी गर्वसाथ भन्छौं– नवदुर्गा प्रावि कखग पढाउने स्कुल होइन, विभेदविरुद्धको ‘स्कुलिङ’ पनि हो।’

स्कुल स्थापनाको केही समयपछि दुर्गा सुर्खेत सरुवा भइन्। सुर्खेत हुँदा पनि उनी स्कुलको खर्च जुटाउन सक्रिय हुन्थिन्। त्यतिबेला उनको मुख्य ध्येय स्कुलमा तलबमा एउटा शिक्षक राख्नु थियो। जो, दलित नै होउन्।

‘स्कुलमा दलित विद्यार्थी मात्र भर्ना गर्ने भन्ने होइन,’ दुर्गा भन्छिन्, ‘तर, दलित गाउँको बीचमा स्कुल भएकाले दलित विद्यार्थी मात्र हुन्थे। दलितको मात्र सक्रियतामा स्कुल खुलेकाले शिक्षक पनि दलित नै हुनुपर्छ भन्ने हाम्रो माग थियो। ताकि, कुनै दलित विद्यार्थीले हामीले पहिले गैरदलित शिक्षकबाट भोगेको विभेद भोग्नु नपरोस्। सबै विद्यार्थी दलित भएकाले दलित शिक्षकसँग मात्र विद्यार्थी खुल्न सक्छन् भन्ने हाम्रो मान्यता थियो।’

सुर्खेत छँदै उनले पल्लो गाउँको स्कुल गणपत प्राविको खबर सुनिन्, ‘विद्यार्थी कम भएकाले एउटा राहत कोटा कटौति हुने भयो।’

दुर्गा तुरुन्तै गाउँ हान्निइन्। तुरुन्तै अभिभावकहरूसँग सल्लाह गरिन्। उनको भनाइ थियो, ‘कोटा काट्नुभन्दा जहाँ शिक्षक छैनन्, त्यो कोटा शिक्षक नभएको ठाउँमा सार्न लगाउनुपर्छ। जुनसुकै हालतमा त्यो कोटा हाम्रो स्कुलमा पार्नुपर्छ, ताकि हामी सधैं एउटै समस्याबाट जुधिरहनु नपरोस्।’

विद्यालय व्यवस्थापन समितिले जिल्ला शिक्षा कार्यालयमा उक्त विद्यालयको कोटा नवदुर्गा प्राविमा सार्न निवेदन दियो। जिल्ला शिक्षा कार्यालयले निर्देशन त दियो, तर दलित शिक्षक दिएन। पहिले गणपत प्राविमा पढाउँदै आएका शिक्षकलाई नै नवदुर्गामा सरुवा गर्ने जिल्ला शिक्षा कार्यलयको निर्देशन थियो। तत्कालीन जिल्ला शिक्षा अधिकारीले घुस खाएर गैरदलित शिक्षकलाई राहत कोटा उपलब्ध गराएको भन्दै दुर्गा लगायतले पुनरावेदनमा मुद्दा हाले।

‘सरकार या कुनै संस्थासँग एक रुपैयाँ पनि नलिई दलितकै पसिनाले खुलेको स्कुलमा पढ्ने, पढाउनेदेखि सञ्चालकसम्म सबै दलित भएकाले हाम्रो स्कुललाई धेरैले नमूना स्कुल भन्थे,’ दुर्गा भन्छिन्, ‘यसरी सबै दलितको पसिना परेको स्कुललाई सरकारले सहयोग गर्नुपर्दैन? हामीले त तलब पाउने गरी एउटा दलित शिक्षक चाहिएको भनेका न हौं। अरू के नै मागेका थियौं र? फेरि जो व्यक्ति हाम्रो स्कुलमा शिक्षक भएर आउनेवाला थिए, ती हाम्रो गाउँका पनि थिएनन्। गैरदलित नै भए पनि हाम्रै गाउँको भए मान्न सक्थ्यौं। त्यसैले हामीले मुद्दा हालेका हौं।’

जागिरका कारण दुर्गा तारिख धाइरहन सक्थिनन्। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सबै निरक्षर भएको फाइदा उठाउँदै विपक्षीले फसाउन सक्ने ठानेर दुर्गाले प्रति तारेख पाँच हजार दिएर वकिललाई मुद्दा लड्न लगाइन्। करिब तीन वर्षपछि पुनरावेदनले जिल्ला शिक्षा अधिकारीले भ्रष्टाचार गरेको फैसला गर्यो।

‘उनले आफ्नो जागिर जोगाउन सर्वोच्चमा हामीलाई उल्टै मुद्दा हाले,’ दुर्गा भन्छिन्, ‘विश्वास छ, न्याय हाम्रै भागमा पर्नेछ।’

दुर्गा तारिख धाएको धायै छिन्। तर, उनी यसलाई दुःख मान्दिनन्। ‘समानताको संघर्षमा यत्तिकोलाई के दुःख मान्नु? यो त हामीले निरन्तर गरिरहनुपर्ने काम हो,’ दुर्गा भन्छिन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.