पहिरोले झोलुङ्गे पुलमा क्षति, मर्मत नहुँदा स्थानीय जोखीमपूर्ण यात्रा गर्दै


बाग्लुङको तमानखोला गाउँपालिका—१ साविकको बोङगादोभान—खुखांनी जोड्ने झोलुङ्गे पुलमा निरन्तरको वर्षासँगै आएको पहिरोले क्षति पुर्‍याएपछि त्यस क्षेत्रका बासिन्दाहरू जोखीमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

जीर्ण अवस्थामा रहेको पुल पहिरोले क्षति गरेपछि आवतजावत गर्न जोखीम बढेको स्थानीयको भनाइ छ ।  पहिरोले झोलुङ्गे पुलको माथिल्लो लठाहरू छिद्रेको हुनाले जतिबेला पनि दुर्घटना हुनसक्ने स्थानिय खगेन्द्रमान पुनले बताए । क्षति भएको पुल निर्माणका लागि गाउँपालिका परिषदबाट बजेट माग गरेपनि त्यसको सुनुवाई हुन नसकेको उनको गुनासो छ । ‘पुल क्षति भएको झण्डै एक महीना भयो । पटक—पटक गाउँपालिका परिषदमा बजेट माग गरेपनि सुनुवाई भएन ।’ पुनले भने,‘निर्माणमा ढिलाईले दैनिक जोखीम बढेको छ ।

खोलाको कटानले झोलुङ्गेले पुलको जग समेत भासिँदै गएकाले जोखीम बढेको जनाइएको छ । पुल मर्मतका लागि तत्काल ५ लाख आवश्यक पर्ने पुनले बताए । पुल मर्मतका लागि आफूहरुले स्थलगत अध्ययन गरी आवश्यक कामकाज अगाडि बढाउन लागेको तमान खोला गाउँपालिकाका प्रमुख जोगलाल बुढाले बताए । ‘हामी यस क्षेत्रका सबै पुलहरुको अध्ययन गरी आवश्यकता अनुसार मर्मत प्रक्रिया अगाडि बढाउँछौ,’ बुढाले भने ‘एक दुई दिनमा पुल मर्मतका लागि काम अगाडि बढाउने छौँ ।’

६ वर्षअगाडि बनेको पुलदेखि त्यस गाउँपालिकाका दुई वडाका स्थानीयहरू दैनिक घाँस, दाउरा, पशु चौपायाँ आवतजावत गर्ने गरेका छन् । झोलुङ्गे पुलका अधिकांश लठा छिद्रेकाले पनि आवतजावत गर्ने स्थानीयहरुलाई कठिनाइ भएको छ ।

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.