सर्वेन्द्र खनालको ध्यान, जाम, घुस लिने प्रहरी, ट्याक्सी र मोटरसाइकल चालकमाथि


महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले उपत्यकामा धेरै जाम भएको भन्दै त्यसलाई हटाउन निर्देशन दिएका छन्।

ट्राफिक प्रहरी महाशाखामा ट्राफिक इन्चार्जहरुलाई बोलाएर खनालले जाम हटाउन निर्देशन दिएका हुन्।

‘जाम हुदाँ सर्वसाधारण धेरै समस्यामा परेका छन्, समय खेर गइरहेको छ,’ खनालले भने, ‘सहि ट्राफिक व्यवस्थापन नहुदाँ पनि धेरै जाम भएको मैले पाएको छु । लामो समय जाम नहुने गरी ट्राफिक व्यवस्थापन गर्नुस् ।’

उनले आजैबाट जाम हटाउने काम सुरु गर्न निर्देशन दिएका छन्। ‘कहाँ कहाँ बढी जाम हुन्छ, किन भइरहेको छ, त्यो पत्ता लगाउनुस्, उनले भने।

ट्राफिक प्रहरीले पनि संयमित भएर काम गर्दा केही मात्रामा भएपनि जाम कम हुने उनले बताए। ‘जाम हटाउने काम आजैबाट सुरु भइसकेको छ, ‘ खनालले भने, ‘धेरै जाम हुन नदिन सबै वल प्रयोग गर्नेछु ।’

‘हो, सडकको अवस्था नाजुक छ, खाल्डाखुल्डी धेरै छन्, ट्राफिक लाइट छैन’  खनालले भने, ‘त्यसले गर्दा पनि काम गर्न समस्या भएको छ। सम्बन्धित निकायहरुको समन्वयमा सबै काम चरण चरणमा गर्छु।’

उपत्यकामा जथाभावी पार्किङ गर्ने काम भइरहेको र आजैबाट त्यसलाई पनि व्यवस्थित गर्ने काम सुरु भएको खनालले बताए।

त्यस्तै खनालले पैसा असुल्ने ट्राफिक प्रहरीलाई कारबाही गरिने बताए। ‘कोही ट्राफिक प्रहरी लोभ लालचमा परे, छुटकारा दिइन्न’ उनले भने, ‘कारबाही हुन्छ।’

प्रहरी संगठनको छवि उच्च राख्ने गरी काम गर्न उनले ट्राफिक प्रहरीहरुलाई निर्देशन समेत दिएका छन्।

काठमाडौंमा ट्याक्सी चालकहरुको पनि मनलाग्दी रहेको भन्दै ठगी गर्ने, मिटरमा जान नमान्ने चालकमाथि कारबाही गरिने बताए।

उपत्यकामा ठूलो आवाज निकालेर मोटरसाइकल चलाउने, मोडिफाइ गर्नेहरुमाथि पनि कडा निगरानी राखिने खनालले बताए।

ट्राफिक प्रहरीको विफ्रिङपछि खनाल मंगलबार साँझ निरीक्षणमा निस्केका छन् । थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने र चावहिल क्षेत्रको निरीक्षणमा उनी निस्किएका हुन् ।

ट्राफिक व्यवस्थापनका लागि सडकमा खटेका प्रहरीहरुबाट पनि उनले ट्राफिक व्यवस्थापनमा देखा परेका समस्या र निराकरणका उपाय के हुन सक्छ सोधेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.