बाग्लुङ कालिका मन्दिरमा वार्षिक १ करोडभन्दा बढी भेटी संकलन

तीन रोपनी व्यक्तिगत जग्गा निःशुल्क गुठीलाई दान


बाग्लुङ जिल्लाको प्रसिद्ध ऐतिहासिक बाग्लुङ कालिका भगवती मन्दिरमा वार्षिक १ करोडभन्दा बढी भेटी संकलन भएको छ । आ.व ०७३/०७४ मा १ करोड  १५ लाख ३९ हजार ८ सय ९१ रुपैयाँ भेटी संकलन भएको हो ।

मन्दिरको आम्दानी र खर्चलाई पारदर्शी र व्यवस्थित बनाउनका लागि कालिका गुठीले आफैँ संकलन गर्दै आएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । आ.व २०७३/०७४ को साउन १ गतेदेखि असार मसान्तसम्मको अवधिमा ५९ लाख ८८ हजार ६ सय ३७ रुपैयाँ भेटी मात्र संकलन भएको हो । गुठीले भक्तजन एवं दर्शनार्थीहरुबाट चढाएकोे दान तथा भेटी दान बक्समा संकलन गरी प्रत्येक दिन बेलुका सुरक्षाकर्मी, मालपोत प्रतिनिधी, कार्यरत कर्मचारी तथा गुठी समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितीमा संकलन गर्ने गर्दछ ।

मन्दिरमा बोका, कुखुरा, राँगोबाट मात्र १४ लाख ५० हजार ५ सय २४ संकलन भएको छ । गत आ.व.मा मन्दिरबाट ८ हजार ८ सय ७५ जोडी परेवा विक्री भएका थिए । जसबाट मन्दिरमा ३५ लाख ५० हजार २ सय संकलन भएको थियो । परेवाको प्रति जोडी रु ४ सयमा विक्री हुँदै आएको छ । मन्दिरमा चढ्ने अक्षेता विक्रीबाट २ लाख १८ हजार ३ सय रुपैयाँ,३ सय ६३ जना भक्तजन एवं दर्शनार्थीहरुबाट गुठीको रसिद लिएर ७५ हजार १ सय २० चढाएका थिए । सोही अवधिमा १ लाख ५० हजार ९ सय ६० रुपैयाँ विविध कार्यबाट प्राप्त भएको थियो । कालिका मन्दिर व्यवस्थापनका लागि जम्मा रु २६ लाख ७६ हजार ९ सय ५२ रुपैयां ८४ पैसा खर्च भएको छ । ‘ठेकेदार मार्फत भेटी संकलन हुँदा ५० देखि ७० लाख मात्र हुने गथ्र्यो । स्वच्छ र पारदर्शिता कायम गर्नका लागि गुठी आफैँले भेटी संकलन गर्न थालिएको अघिल्लो वर्षको तुलनामा २५ लाख ३४ हजार १ सय १७ रुपैयाँ बढी संकलन भएको हो ।

त्यस्तै कालिका भगवती मन्दिरका लागि बाग्लुङ नगरपालिका—९ की हाल बानपा—२ मा व्यवसाय गरी बस्ने रुपा थापाले ३ रोपनी आफ्नो निजी जग्गा मन्दिरलाई निःशुल्क प्रदान गरेकी छन् । पर्वत कुस्मा नगरपालिका—१ मा रहेको छ लाख रुपैयाँ बढी मूल्य पर्ने जग्गा बाग्लुङ कालिका मन्दिरलाई दान स्वरुप हस्तान्तरण गरेकी छिन् । थापाले आफूले जग्गा भोग चलन नगर्ने भएपछि आफ्नो नाममा रहेको जग्गाको लालपूर्जा बाग्लुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिलाई नामसारी गरी हस्तान्तरण गरेको बताईन् । ६ लाख भन्दा बढी पर्ने तीन रोपनी खेत मन्दिरका नाममा बकस दान दिएकी उनलाई केही समय अगाडि कालिका भगवती गुठीले सम्मान गरेको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.