पौरखः घ्युकुमारीको झोल बेचेर महिनामै दुई लाख!


कुनै समय निकै उब्जाउशील काठमाडौंमा अहिले फलेका देखिन्छन् त मात्र घर! काठमाडौं अरुमा आश्रित छ तर, स्वस्थ खाना कमै खान पाउँछ। सुविधा छन् तर, तिनै सुविधाले मानिसलाई अल्छी बनाएको छ। र, रोगी पनि। मोटोपन, मधुमेह, उच्च रक्तचाप त काठमाडौंवासीको खानदानी रोगजस्तै भइसक्यो!

कति यी रोगलाई पचाउन बिहान झिसमिसेमै उठेर दौडिन्छन्। कति योग–व्यायाममा स्वास फाल्न पुग्छन्। काठमाडौं अरु ठाउँका तुलनामा ढिलो सुत्छ, ढिलै जाग्छ। तर, ध्यान–योग, मर्निङ वाकका लागि कस्सिनेहरु ‘ब्रम्हमुहुर्त’मै ब्युँझिन्छन्।

ललितपुरस्थित यूएन पार्क झिसमिसेमै जाग्छ। बिहानै पुग्ने हो भने कोही जिउ तन्काइरहेको भेटिन्छ। कोही चिच्याइरहेको सुनिन्छ। स्वाँ–स्वाँ गर्दै दौडिरहेका थिलथिलो शरीर पनि देखिन्छन्। यी सबै रोग रोक्ने र रोग लाग्न नदिने उपक्रम गरिरहेकाहरु हुन्।

यसको गेटैमा भने एक जना युवा छन्, जसको क्रियाकलाप अरु कसैसँग मिल्दैन। उनी आफ्नो होइन, अरुको रोग भगाउन सहयोग गरिदिने मानिस हुन्। उनी जेनेरेटर चलाएर मिक्सरमा घ्युकुमारीको पात पेल्दै प्लास्टिकको गिलासमा हाल्दै बेच्दै गरिरहेका भेटिन्छन्।

उनको नाम– भोजेन्द्र तिमल्सिना।

उनी आइपुग्दा यूएन पार्क पुरा जागिसकेको हुँदैन, अझै आँखा मिचिरहेको हुन्छ। हरेक दिन पाँच बजे उनी मोटरसाइकलको पछाडि करिब १५ किलोको एक झोला घ्युकुमारीको पात बोकेर यहाँ आइपुग्छन्। नजिकैको एउटा घरमा मिक्सर, टेबल, जेनेरेटर र फ्लेक्स राखिएको हुन्छ, त्यहाँबाट झिक्छन् र गेटैमा लगेर पसल थाप्छन्। ७५ सयको जेनेरेटर, २५ सयको मिक्सर अरु खत्र्याङखत्र्याङ सामान दुई हजारको होला। जम्मा १२÷१३ हजारको लगानी मात्र देखिन्छ।

उनले पसल राखेसँगै दौडिने, योग–व्यायाम–प्राणायाम गर्नेहरु आउने क्रम सुरु हुन्छ। कोही निकै असिन–पसिन हुन्छन् त कोही संगीतमा भुलिरहेका। ग्यास्ट्रिक, मधुमेह, उच्च रक्तचाप, पेटको समस्यादेखि विभिन्नखाले रोग भएकाहरुको लाइन लाग्छ। कुनै रोग लाग्न नदिनेहरु पनि लाइनमै भेटिन्छन्।

भोजेन्द्र मिक्सरबाट घ्युकुमारीको बाक्लो लेदो प्लास्टिकको सानो गिलासमा खन्याउँछन्। यो झोललाई यहाँ कसैले घ्युकुमारीको झोल भन्दैन, ‘एलोभेरा जुस’ नै यसको प्रचलित नाम हो। यो झोलको स्वाद थोरै तीतो हुने भएकाले खानेको मागअनुसार भोजेन्द्र त्यसमाथि छुसछुस बिरेनुन पनि चुहाउँछन्।
र, असुल्छन्– बीस रुपैयाँ।

यसरी तीन घन्टाको बीचमा उनले गर्मी महिनामा डेढ सयदेखि साढे दुई सय कपसम्म घ्युकुमारीको झोल बेच्छन्। उता, पेप्सिकोलामा श्रीमतीले कोठाअगाडि यस्तै पसल चलाउँछिन्। तनहुँमा घ्युकुमारीको आफ्नै फार्म छ। त्यसबाट उत्पादन भएको पातले भोजेन्द्र र उनकी श्रीमतीबाहेक अन्य चार जनाको व्यवसाय चल्छ। बाँकी चारलाई उनी पात बेच्छन्। यसरी उनी र उनकी श्रीमती मिलेर महिनामा औषत डेढदेखि दुई लाख कमाई गर्छन्। खटिन्छन् दिनमा सात घन्टा मात्र। लगानी चार लाख पनि परेको छैन।

उनलाई यसरी व्यवसाय गर्ने ‘आइडिया’ खाडी देशले दिएको रहेछ।

एसएलसी पास गरेपछि भोजेन्द्र जागिरको खोजीमा घरबाट तनहुँ सदरमुकाम झरे। सीप सिके काम पाइन्छ भन्ने जानेर ‘कम्प्युटर प्रोग्रामिङ’ सिके। तर, तनहुँमा त्यतिबेला सिक्ने पनि धेरै हुन्थेनन्, काम पनि धेरै पाइन्थेन। पढाईसँगै एकदुई वर्ष

त्यतै हल्लिए। कमाई खासै भएन।

घर जाँदा छिमेकीहरु सोध्थे, ‘कमाई त राम्रै होला नि?’

अर्को सोध्थ्यो, ‘लौ यो त यतै पो रै’छ। फलानाको छोराले घडेरी जोडिसक्यो।’

जता गयो पैसा कमाउनेको मात्रै चर्चा।

अर्कातिर त्यो समय सशस्त्र द्वन्द्वको थियो। बाबुआमालाई डर थियो, ‘छोरालाई माओवादीले सेनामा लग्यो भने?’

अनि, कर गर्न थाले, ‘विदेश जा बाबु।’

उनको मनले पनि भन्यो, ‘ठिकै हो, यता पनि आखिर केही हुने हैन क्यारे!’

यसपछि लागे विदेश।

यता द्वन्द्व भइरहेको देशबाट गएका उनले कतारमा पनि युद्धमा प्रयोग भएका गाडी बनाउने काम गर्नुप¥यो। इराक युद्धमा प्रयोग भएका अत्याधुनिक गाडीहरु कतार आइपुग्दा रहेछन्। काम त सजिलै थियो। पैसा पनि ठिकै। तर, उनी स्वतन्त्र भएर काम गर्न चाहन्थे।

‘स्वतन्त्रताको कुरा गर्ने हो भने त यहाँको भन्दा त्यहाँ बढी स्वतन्त्र थिएँ,’ भोजेन्द्रले भने, ‘तर, विदेशमा जति नै स्वतन्त्र छु भने पनि खुसी भइँदैन। फरक देश हुनेबित्तिकै धेरै कुराले बाँधिहाल्छ। अरुको देशमा मन रमाउन सक्दैन।’

देशले द्वन्द्व पनि बिसायो। तर, उनको मनमा भने ठूलै अन्तरद्वन्द्व चल्न थाल्यो। सधैं अरुको देशमा बसेर कति काम गर्ने? न खाना स्वादिलो, न पानी। न भाषा मिल्छ, न विचार।

देशमा द्वन्द्व सकिनेबित्तिकै परिवर्तनका अनेक सूचकहरु देखिन थाले। भोजेन्द्रको मनमा पनि आशा पलायो। उनले सोचेका थिए, आफूजस्तै देश छोडेर हिँडेकाहरुले बल्ल ढुक्कको सास फेर्दै देशमै केही गर्न पाउने भए।

द्वन्द्व सकिएसँगै छाएका परिवर्तनका अनेक लहरमा योग, प्राकृतिक चिकित्सा, जडिबुटीलगायतको व्यवसाय पनि उनले उतै छँदै सुने। घ्युकुमारीका अनेक फाइदाबारे पनि उनले कतार छँदै सुनेका हुन्। नेपालमा घ्युकुमारीको प्रचुर सम्भावना रहेको पनि उनले जानकारी पाए। त्यसका लागि केही कम्पनीहरुले सहुलीयत दरमा विरुवा वितरण गर्न लागेको पनि उनले सुनेका थिए।

उनको दिमागमा सरसर्ती गाउँमा बाँझिन ठिक्क परेको पाखा बारीको चित्र कोरियो। छोरा–छोरी लाखापाखा लाग्दा ती बारी बाआमाले जसोतसो धानिरहेका थिए। फोनमा कुरा हुँदा बाआमा भन्ने गर्थे, ‘बारीमा त अर्को वर्षदेखि खेती गर्न सकिएलाजस्तो छैन। तिमीहरु आएर गर्छौ भने गर। हामी त सक्दैनौं अब।’

उनले सोचे, ‘त्यही बारीमा घ्युकुमारी खेती गर्छु।’

घ्युकुमारीलाई अरु अन्नजस्तो धेरै स्याहारसुसार पनि चाहिँदैनथ्यो। अनुपातमा फाइदा पनि राम्रो दिने उनले सुनेका थिए। उनी घ्युकुमारी खेती गर्न कतारबाट फर्किए। विदेशबाट फर्किंदा उनको साथमा ऋण तिरिवरी २५ लाखजति रकम थियो। आएपछि बिहे गरे। घ्युकुमारी फार्मका लागि करिब दुई लाख खर्चिए।

घ्युकुमारी लगाएपछि टिप्नका लागि पाँच÷सात महिना कुर्नुपथ्र्यो। त्यो खाली समय के गर्न त भन्ने सोच्दै गर्दा काठमाडौं बस्ने एक साथीले सुझाए, ‘फुटसलमा छ पैसा।’

घरै–घरले ढाकेको काठमाडौंमा खाली जग्गा नहुँदा युवाका लागि खेल्ने ठाउँको अभाव बढ्दो थियो। फुटसल त्यो समयको चर्चित व्यवसाय बनेर उदाउँदै गर्दा भोजेन्द्रले पनि पाँच जनाको पार्टनरसिपमा फुटसल खोले। करिब एक करोड लगानी लागेको फुटसलमा उनले २० लाख खन्याएका थिए।

तर, फुटसलले उनको जीवन गतिशील बनाउन सकेन। उनको फुर्ती हराउँदै गयो।

फुटसल मात्र होइन, उता घ्युकुमारीको बिरुवा बेच्नेले पनि भोजेन्द्रलाई ठगेछ। ‘बिरुवा बेच्दा हामीलाई भनिएको थियो, घ्युकुमारीका पात सबै हामी लिइदिन्छौं,’ भोजेन्द्रले सुनाए, ‘त्यतिबेला बिरुवा बेच्नेको कुरा सुनेर प्रत्येक जिल्लाका तीन/चार जनाले लगानी गरेका थिए। तर, पात बेच्ने बेला बिरुवा बेच्ने कम्पनी नै भागिदियो। आखिर सबैको डुब्यो।’

विदेशबाट के–के न गरौं भन्ने सोचले आएका उनलाई एकपछि अर्को झमेला आइप¥यो। घ्युकुमारी किसानहरु मिलेर उक्त कम्पनीविरुद्ध मुद्दा हाले। उनीहरुको पक्षमा फैसला पनि भयो। कम्पनीले किसानहरुलाई क्षतीपूर्ती दिनुपर्ने अदालतले बतायो। तर, उक्त कम्पनीले फेरि किसानहरुकै विरुद्ध रिट दियो। पहिले आफ्नो पक्षमा फैसला हुनै ७÷८ महिना लागिसकेको थियो। फेरि कसले अर्को झमेला बोकोस्? उल्टो खर्च मात्रै! एक एक गरी सबै किसान लाखापाखा लागे। मुद्दा यत्तिकै सल्टियो।

तर, भोजेन्द्रको मनको पीर भने सल्टिएन। उनलाई घ्युकुमारीको लगानी डुबेकोमा भन्दा देशमा केही गरौं भनेर आएको सोच मर्न लागेकोमा चिन्ता थियो।

उता घर–परिवारले पहिल्यै भनेका थिए, ‘विदेश बसेको मान्छे के खेतिपाती गरेर बस्छस्?’ उनले अनेक सपना देखाएर फकाएका थिए। तर, ती सबै व्यर्थ ठहरिए।
उनको एक मनले सोच्यो, फेरि विदेश नै फर्किउँ कि क्या हो?

अर्को मनले भन्यो, ‘हैन, म जुन उद्देश्यले आएको थिएँ, त्यसैमा अझै काम गर्छु। घ्युकुमारी जुन उद्देश्यले खेती गरिन्छ, त्यो काम पनि आफैं गर्दा कसो होला।’

घ्युकुमारीका अनेक उत्पादन छन्। जुस मात्र होइन, महँगा कस्मेटिक सामान पनि घ्युकुमारीबाट बन्ने उनले पत्ता लगाए। उनका लागि जुस नै उत्तम विकल्प थियो।

तनाव सिर्जनशीलताको स्रोत पनि हो। एकदिन उनले सोचे, ‘काठमाडौंमा ब्लड प्रेसर, सुगरका रोगी धेरै छन्। तिनलाई घ्युकुमारीको झोलले काम गर्छ। मर्निङ वाकमा निस्केकालाई खुवाउन सकियो भने त घ्युकुमारीको लगानी त उठिहाल्यो नि।’

र, उनी एउटा जेनेरेटर, एउटा मिक्सर लिएर उभिए यूएन पार्कको गेटमा। पसलका लागि न भाडा तिर्नुपथ्र्यो, न नगरपालिकाले नै दुःख दिन्थ्यो। बिहान पाँच बजेदेखि साढे आठसम्म बस्थे। सफा गर्थे, फर्किन्थे।

अहिले उनले घ्युकुमारीको फार्म तनहुँमा मात्र होइन, भक्तपुरमा समेत तीन रोपनी जग्गा भाडामा लिएर चलाउन थालेका छन्। भक्तपुरको फार्मले उत्पादन दिन थालेपछि तनहुँको फार्म बन्द गर्ने उनको योजना छ। भक्तपुरमा मात्र हुँदा ढुवानी, गोडमेललगायतको झन्झट व्यहोर्नुपर्दैन। भक्तपुरको जग्गा मलिलो भएकाले एउटै पातबाट धेरै जुस निस्कने पनि उनले बताए। एउटै पात एक किलोसम्म हुने र झन्डै बीस गिलास जुस निस्कने उनको भनाइ छ।

अर्थात्, एउटै पातबाट चार सय।

चार वर्ष भयो, सिजनको बेला उनी यही ठाउँबाट एक्लैले एक लाखभन्दा बढी कमाउँछन्। उता श्रीमतीले पनि ५० हजारजति कमाउँछिन्। पातसमेत बेच्दाको आम्दानी जोड्दा दम्पतीको मासिक कमाई सिजनका बेला झन्डै दुई लाख पुग्ने भोजेन्द्र बताउँछन्। दुवै जना बिहान साढे तीन बजे उठ्छन्। तीतो हटाउन अघिल्लो दिन पानीमा भिजाएको पात निकाल्छन्। श्रीमती कोठाअगाडि नै पसल थाप्छिन्। भोजेन्द्र पेप्सिकोलादेखि शंखपार्क आइपुग्छन्। दिउँसो दुवै जना फुर्सदमा हुन्छन्। कहिलेकाहिँ भक्तपुर फार्ममा गोडमेल गर्न पुग्छन्। साँझपख तनहुँबाट पात आइपुग्छ। केलाएर पानीमा भिजाउन एक जनाले दुई घन्टामै सक्छ। समयको हिसाब गर्दा बिहान पाँच घन्टा र साँझ दुई घन्टा मात्र हो, उनीहरु खटिने।

घ्युकुमारीको फार्म भक्तपुर सारे पनि उनले तनहुँ छोडेका भने छैनन्। एक वर्षअघि नै अनारको बिरुवा रोपिसकेका छन्। अब घ्युकुमारीको साटो अन्य फलफूल रोप्ने उनको योजना छ।

सुरुमा त उनलाई बाटोमा बसेर बेच्न लाज नलागेको पनि होइन। ‘लाज मानेको भए अहिले भोजेन्द्रलाई तपाईंले कहाँ भेट्न पाउनुहुन्थ्यो र?’ भोजेन्द्रले ठट्टा गरे।

अब उनलाई विदेश जानुछैन। ‘अब विदेश त घुम्न मात्र जाने हो,’ उनी भन्छन्, ‘बाइक चलाउनको सौखिन छु। बाइक लिएर पहिले देश घुम्छु अनि विदेश। एकचोटी घुम्नका लागि विदेश त जाने हो।’

शरीरमा उर्जा छउन्जेल यसरी नै जुस बेचेर बस्ने उनको योजना छ। त्यसपछि गाउँ गएर फलफूल खेती गर्ने उनले सुनाए। घ्युकुमारीको साबुन कम्पनी खोल्ने पनि उनको योजना छ। साबुन बनाउन एउटा मेसिन त उनले किनसिकेका रहेछन्।

धेरै युवाका लागि भोजेन्द्र प्रेरणा हुन सक्छन्। उनको अनुभव नै सुझाव बन्न सक्छ।

‘संसारै उल्टो चलोस्, आफूमा आत्मविश्वास छ भने आँटेको काम पुरा हुने रहेछ,’ भोजेन्द्रले आफ्नो अनुभव सुनाए, ‘काम गर्दा थुप्रै चुनौति आउँछन्। त्यस्तोबेला आत्मबल जोगाइराख्न निकै गाह्रो हुन्छ। आफूले गर्न लागेको काम के हो, कति समयसम्म गर्ने, त्यसपछि के गर्ने, कहाँ, के कसरीजस्ता सबै कुरा स्पष्ट छ भने आत्मबल जोगाउन गाह्रो पर्दैन। बिल्कुलै नयाँ काम गर्नुपर्छ भन्ने पनि छैन, पुरानै कामलाई नयाँ ढंगले गर्न सके कम लगानीमै व्यवसाय चलाउन सकिन्छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.