बांगाबगरमा पहिरोः महाकाली राजमार्ग अवरुद्ध


गए राति परेको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

सतबाँझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने डिलाशैनी–६ बांगाबगरमा आज बिहान ५ बजे पहिरो जाँदा यातायात अवरुद्ध बनेको स्थानीय बासिन्दा सुरेश श्रेष्ठले जानकारी दिए।

बांगाबगरमा माथिबाट आएको पहिराका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए । अवरुद्ध सडक खुलाउन डोजर लगाइएको र अपराह्नसम्म सडक पुनः सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

यातायातका साधन पूर्ण रुपमा बन्द हुँदा बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटा दूरीका यातायातका साधन रोकिएको बताइएको छ । सडक अवरुद्ध हुँदा काठमाडौँ, कञ्चनपुर, धनगढी, डडेल्धुरा, दार्चुला र बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् ।

विसं २०६० मा आएको उक्त पहिराको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहँुदा वर्षात्मा प्रत्येक वर्ष उक्त ठाउँमा बेला बेलामा सडक अवरुद्ध हुने गरेको छ । विसं २०६० असारमा आएको पहिराले बांगाबगर–६ का घर पूर्ण रुपमा नष्ट गरेको तथा एक सय ५० रोपनी जमिनलाई बगरमा परिणत गरेको थियो । सोही बेलादेखि प्रत्येक वर्ष आउने पहिराले हाल पनि बांगाबगरवासीलाई चिन्तित बनाएको छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.