कारखानामा मजदुरी गर्ने झो कसरी बनिन् आठ अर्ब डलरकी मालिक?


उनले माध्यमिक विद्यालय पढ्दा–पढ्दै पढाइ छाडिन्। कारखानामा सामान्य मजदुरी गर्थिन्। जिन्दगीका सामान्यभन्दा सामान्य आवश्यकता पूरा गर्दागर्दै उनका हातखुट्टा पिसिएका थिए।

आज उनी ८ अर्ब अमेरिकी डलर सम्पत्तिकी मालिक छिन्, त्यो पनि आफ्नै बूताले कमाएको। उनको नाउँ संसारकै धनी व्यक्तिहरूको सूची सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय पत्रिका ‘फोर्ब्स ’ मा दर्ज छ।

कारखानाको मजदुरीबाट अर्बपतिमा सूचीकृत उनी हुन्, झो कुङफी।

झो चिनियाँ महिला उद्यमी हुन्, जसले ‘लेन्स टेक्नोलोजी’ स्थापना गरिन्। उनी ‘एप्पल’ र ‘सामसुङ’ जस्ता संसारकै अग्रणी मोबाइल उत्पादक कम्पनीहरूका लागि सिसाको स्क्रिन र खोल उत्पादन गर्छिन्।

फोब्र्सका अनुसार ४७ वर्षीया झो आफ्नै बूतामा उभिएकी संसारकै धनी महिला हुन्। एकदमै सामान्य अवस्थाबाट संघर्ष गर्दै अघि बढेकी झोले कर्पोरेट दुनियाँमा हासिल गरेको उपलब्धिले धेरैलाई प्रभावित पार्ने फोब्र्सले उल्लेख गरेको छ।

झो मध्यचीनको एउटा सानो गाउँमा जन्मे–हुर्केकी हुन्। उनको बाल्यकाल संघर्षमा बितेको थियो। उनले पाँच वर्षकै उमेरमा आफ्नी आमा गुमाएकी थिइन्। त्यही बेला एक औद्योगिक दुर्घटनामा परेर उनका बुवाले आँखाको ज्योति आधा र हातका औंलाहरू पूरा गुमाएका थिए।

यी चिनियाँ उद्यमीका बारेमा संसारका ठूल्ठूला अखबारले फिचर गरेका छन्। अमेरिकी अखबार ‘न्यूयोर्क टाइम्स’ त्यसैमध्ये एक हो।

न्यूयोर्क टाइम्सले गरेको फिचरअनुसार सानैमा आमाको मृत्यु र बाबु दुर्घटनामा परेपछि उनको परिवार आर्थिक संकटमा फसेको थियो। परिवारको हातमुख जोर्न झोले त्यही बेला सुँगुर र हाँस पालेकी थिइन्। यसले घरको आर्थिक समस्यालाई तैबिसेक मात्र गरेन, उनमा व्यावसायिक चेतको पनि विकास भयो।

घरको गर्जो टार्ने संघर्षमा झोले पढाइ–लेखाइमा खासै समय दिन भ्याइनन्। पूर्णकालीन पढाइमा लाग्ने सुविधा उनलाई थिएन। १६ वर्षकै उमेरमा उनले माध्यमिक विद्यालय छाडेर आफूलाई पूर्णकालीन रोजगारमा समर्पित गरिन्। उनले घडीको लेन्स बनाउने कारखानामा काम गर्न थालिन्। उनको दैनिक ज्याला १ अमेरिकी डलर थियो।

उक्त कारखानामा काम गर्दाको अनुभव बाँड्दै झोले न्यूयोर्क टाइम्ससँग भनेकी छन्, ‘त्यहाँ काम गर्ने वातावरण एकदमै नराम्रो थियो। म बिहान ८ देखि राति १२ बजेसम्म र कहिलेकाहीँ त राति २ बजेसम्म काम गर्थें। यसबापत् ओभरटाइम भत्ता वा अरू सुविधा केही थिएन।’

झोले यही अवस्थामा २२ वर्षको उमेरसम्म काम गरिन्। यो छ वर्षमा उनलाई घडीको लेन्सको उत्पादन तरिका, यसको बजार र आपूर्ति व्यवस्थाबारे राम्रो ज्ञान भइसकेको थियो। उनलाई आफैं यो क्षेत्रमा काम गर्न सकिने आत्मविश्वास पलाएको थियो। त्यसपछि ३ हजार डलर खल्तीमा बोकेर जागिर छाडेकी झोले आफ्ना दाजुभाइसँग मिलेर घडीको लेन्स बनाउने वर्कसप खोलिन्।

ती दाजुभाइ उनका व्यावसायिक साझेदारसमेत थिए। उनी तिनीहरूसँगै एउटा सानो अपार्टमेन्टमा बस्थिन्।

छ वर्ष अनुभवका आधारमा घडीको लेन्स बजारबारे राम्रो दक्षता हासिल गरेकी झोलाई यो क्षेत्रमा अघि बढ्न खासै गाह्रो भएन। उनको वर्कसपले उत्पादन गर्ने लेन्सको माग बढ्दै गयो। उनको कम्पनी निरन्तर फस्टाउँदै गयो।

झोको निम्ति जिन्दगीको ‘टर्निङ प्वाइन्ट’ भने यो वर्कसप होइन।

उनको जिन्दगीले त्यतिखेर नयाँ मोड लियो, जब उनले घडीको लेन्स बनाउन छाडेर मोबाइल फोनका स्क्रिन बनाउने निर्णय लिइन्।

निर्णय त गरिन्, तर त्यसमा टिक्न र अघि बढ्न सजिलो थिएन। आफूले लामो समयदेखि जानेको र केही हदसम्म विशेषज्ञता हासिल गरिसकेको काम छाडेर नयाँमा हात हाल्ने निर्णय परिवारका सदस्यले धरि रुचाएका थिएनन्। उनी आफैंलाई पनि चुनौतिको भार थियो। यो झोको दूरदर्शिता नै हो, उनले स्मार्टफोनको पदचाप सुन्न सकिन्।

उनले उक्त निर्णय लिँदा स्मार्टफोनको बजार विस्तार तीव्र गतिमा भइरहेको थियो। स्मार्टफोन उत्पादक कम्पनीहरू आफ्नो वृद्धिको उत्कर्षतर्फ थिए। यही बुझेर झोले घडीको लेन्सबाट स्मार्टफोनको स्क्रिनतर्फ फड्को मार्ने निधो गरेकी थिइन्।

एउटा भनाइ छ, प्रबन्धकहरूको काम त्यतिबेला सुरु हुन्छ, जब उसको खल्तीमा चेक आउँछ। उद्यमीहरूको काम भने त्यतिबेला सुरु हुन्छ, जब उसको दिमागमा सपना खेल्न थाल्छ।

झो प्रबन्धक होइन, उद्यमी थिइन्।

उनको दिमागमा सपना खेल्न थालेको थियो। बदलिँदो बजारको दृश्य उनका आँखाअगाडि छर्लंग थिए। त्यसमा उपलब्ध अवसरहरू उनले देखिसकेकी थिइन्। बाँकी थियो त मात्र त्यो अवसरलाई छोप्ने रनाहा, जुन झोमा रत्तिभर कम थिएन।

स्थापित व्यवसायबाट नयाँ फड्को मार्ने चुनौति मोलेकी झोलाई समयले पनि साथ दियो।

उनले सन् २००३ मा त्यतिबेलाको ठूलो मोबाइल उत्पादक मोटोरोलाको निम्ति स्क्रिन बनाउने काम पाइन्। यो उनको निम्ति र उनको नयाँ कम्पनीको निम्ति महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ थियो।

व्यवसाय र जिन्दगीमा एउटा कुरा समान हुन्छ। यी दुवैमा सफलताले सफलता पछ्याउँछ।

झोको जिन्दगी र व्यवसायमा पनि त्यस्तै भयो। मोटोरोलाको काम पूरा गरेपछि उनको कम्पनीको चर्चा फैलियो। उनको कामको गुणस्तर धेरैले मन पराए। त्यसपछि उनले एचटिसी, नोकिया, सामसुङ हुँदै अन्ततः सन् २००७ मा एप्पल कम्पनीको निम्ति स्मार्टफोनको ‘टचस्क्रिन’ बनाउने जिम्मा पाइन्।

यसले उनको कम्पनीको कारोबार अर्ब डलर नाघ्यो र उनी फोब्र्समा सूचीकृत भइन्।

झोको सफलतामा उनको व्यावसायिक चेतको त हात छ नै, त्यो सँगसँगै उनको मिहिनेत पनि उत्तिकै छ। कुनै बेला कारखाना मजदुरका रूपमा १८–२० घन्टा काम गर्ने झो आज पनि आवश्यक परे त्यति नै काम गर्न पछि पर्दिनन्। उनले एक अन्तर्वार्तामा दिनको १८ घन्टासम्म काम गर्ने स्वीकार गरेकी छन्। त्यस्तो बेला उनको लगभग पूर्ण बसाइ नै अफिसमै हुने गर्छ।

स्मार्टफोनको बढ्दो बजारसँगै उनको ‘लेन्स टेक्नोलोजी’ कम्पनीको आकार हलक्कै बढेको छ। चीनका विभिन्न सात ठाउँमा उनका ३२ वटा कारखाना छन्, जहाँ ७४ हजार जना काम गर्छन्।

न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा झोले परम्परागत चिनियाँ गाउँको गरिब परिवारमा जन्मे–हुर्केर फोब्र्स अर्बपति सूचीमा पर्दासम्मको यात्रा वर्णन गरेकी छन्। र, भनेकी छन्, ‘म जहाँ जन्मेँ, त्यहाँ केटीहरूले पढ्नधरि पाउँथेनन्। उनीहरूलाई घरको काम सकेपछि मात्र स्कुल जाने छुट हुन्थ्यो। उनीहरूको कम उमेरमै बिहे हुन्थ्यो। बिहे गर्नेहरूले पनि केटीहरूलाई घरायसी काममै प्रयोग गर्ने उद्देश्य लिएका हुन्थे। तर, मैले त्यो जिन्दगी स्वीकार गरिनँ।’

‘म दुःखमा हुर्कें, तर दुःखी भइनँ,’ उनले भनेकी छन्, ‘म सधैं केही नयाँ गर्न चाहन्थेँ, यही चाहनाले मलाई उद्यमतिर डोर्यायो। आज जे छु, म सन्तुष्ट छु। मलाई मेरो जिन्दगीदेखि कुनै गुनासो छैन।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.