बाबुलाई कलेजो काटेर दिने छोरी


‘ड्याडी …, ड्याडी …’

भास्सिएको र खस्रो स्वरमा सरिताले बारम्बार यति मात्र शब्द बोलेकी थिइन् रे।

बारम्बार बाबुलाई बोलाएपछि सरिताकी माइली दिदीले थुम्थुम्याइन्, ‘ड्याडीको अप्रेसन सफल भयो।’

सरितालाई यी सबै थाहा थिएन। ब्युँझनेबित्तिकै बेहोसमै भनेकी रहिछन्।

केही घन्टापछि उनी होसमा आइन्। आँखा पल्टाएर चारैतिर हेरिन्। आँखैमाथि केही अनुहार झुन्डिएका थिए। र, भनिरहेका थिए, ‘सरिता …, सरिता …।’

सरिताले सबैलाई नियालिन्। वरिपरि थिए, उनलाई दुःखका पाँच वर्षमा हृदयदेखि सहयोग गर्ने अनुहारहरु। दुइटी दिदी, एउटी बहिनी र एउटा प्रेमी।
उनका आँखाले आमालाई पनि खोजिरहेका थिए। आमा भने अर्को अस्पतालमा झन्डै सातादिनदेखि भर्ना भएकी थिइन्।

सरिताले केही घन्टाअघि मात्र आफ्नो कलेजोको टुक्रा काटेर बाबुलाई दिएकी थिइन्। छोरीको कलेजोको टुक्राले बाबु हीराकाजी महर्जनको सास फेर्ने समय लम्बिएको थियो।

सरिताले दोस्रोपटक ब्युँझिदा पनि ‘ड्याडी’ कै नाउँ लिइन्। उनलाई ह्विलचियरमा हालेर बाबु भएठाउँ लगियो। उनले आफ्नो बाबुको अनुहार हेरिन्। मुखभरि, नाकभरि, छातिभरि पाइप नै पाइपले जेलिएका उनका बाबु अझै बेहोस थिए। लमतन्न पसारिएका बाबुलाई एकोहोरो हेरिरिहेकी सरिताको आँखाबाट एक्कासि आँशुका ढिक्का गाला हुँदै खस्न थाले।

उनी सकेसम्म आफूलाई थाम्ने कोसिसमा थिइन्। सकिनन्। घाँटीबाट हिक्का फुस्किहाल्यो।

बोल्न खोजिरहेको तर नसकेको अवस्थामा लामो समय अताल्लिएपछि पहिलो शब्द बोलिन्, ‘ड्याडी …।’

यो पाँच वर्षमा सरिता नरोएको सायदै दिन थिए। तर, पाँच वर्षको बीचमा पहिलोपल्ट खुसीले रोएको दिन त्यही थियो।

उनी त्यस दिन खुसीले रोइन्, खुलेर रोइन्।

करिब पाँच मिनेट उनका दिदी–बहिनी र प्रेमी सरिता र बाबुलाई नियालेर उभिएका थिए। सबैको हात सरिताको काँधमा थियो। रोइहाले फुल्याउन, केही भइहाले सम्हाल्न ठिक्क परेको अवस्थामा।

सरिताले बाबुलाई एकोहोरो हेरिरहिन् मात्र। उनले मनमनै झन्डै ४० जना डाक्टरलाई धन्यवाद दिइन्। तीमध्ये ३१ जना डाक्टरले उनको कलेजो काटेर बाबुको कलेजोमा ‘फिट’ गराएका थिए। यसका लागि पूरै ११ घन्टा लागेको थियो।

करिब पाँच मिनेटपछि सरिताका बाबुको आँखाको ढक्कनी थोरै चलेजस्तो सरिताले देखिन्। केहीबेरमा अलिकति खुल्यो र आँखाको कोस देखियो।
फेरि सरिताको हिक्का छुट्यो। अताल्लिएर चिच्याइन्।

यो पनि खुसीको रुवाई थियो।

हीराकाजी अझै बेहोसमा थिए। भोलिपल्ट बिहान मात्र उनको होस खुल्यो।

होस खुल्नेबित्तिकै नर्सहरुले खबर ल्याइपुर्याए। सरिता बाबुलाई भेट्न हतारिइन्। फेरि ह्विलचियरमा हालेर बाबु भएठाउँ लगियो। छोरीलाई देख्नेबित्तिकै सुतिरहेका बाबुको आँखामा टिल्पिलाएका आँशु आँखाको कोसको बाटो बनाउँदै बगे। उसैगरी, छोरी सरिताको आँखा पनि टिल्पिलायो। दुवै बाबुछोरीले एकअर्कालाई देख्नेबित्तिकै डाँको छाडे। र, बाबुले आफ्नो मातृभाषा नेवारीमा भने, ‘जि याना छँ साप्ये दुःख ने माल, थँउ न निसी एला गुब्लेँ टोनी मखु।’ (मैले गर्दा तिमीले खुबै दुःख पायौ है छोरी, अबदेखि कहिल्यै रक्सी खान्न्न।)

यो २० दिनअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा ५६ वर्षीय हीराकाजी महर्जनको कलेजो प्रत्यारोपण भएपछि सरिताले आफ्नो स्मृतिको आधारमा बयान गरेको दृश्य हो। जुन दृश्य सरिताले सायदै भुल्न सक्लिन्।

यो उनले पाँच वर्षसम्म चरम दुःख पाएपछिको पहिलो ठूलो खुसी हो। उनले आफ्नो कलेजोको टुक्रा काटेर बाबुलाई नदिएको भए डाक्टरको भनाइअनुसार अब उनका बाबुसँग यो संसारमा रहने समय मुस्किलले दुई महिना थियो।

चरम दुःख व्यक्त गर्दा मानिस ‘दुःखको पहाड’ जस्ता शब्द प्रयोग गर्छन्। नदेखिने दुःखको के लम्बाइ/चौडाइ हुँदो हो! तर, नदेखिने दुःख बोक्नुपर्दा संवेदना खप्ने टाउकोमा पहाड खप्टिएझैं हुँदो हो सायद! दुःख अवतरण गर्दा टाउको नै हलुंगो हुँदो हो। अप्रेसनअघि सरिताको टाउको हरेक दिन भारी भइरहन्थ्यो। अब भने निकै हलुंगो महसुस गरेको उनले बताइन्। अब सरिताको बाबुको आयु लम्बिएको छ। दु:खको बोझ भने छोट्टिएर आधा बनेको छ।

‘मैले जतिबेला आफ्नो कलेजो काटेर दिने निर्णय गरेँ, केही पनि सोचेको थिइनँ,’ काठमाडौं लगनटोल घर भई हाल बाबुको स्याहारका लागि भक्तपुर सरेकी सरितालाई उनकै डेरामा भेटेर सुन्दै गर्दा अनुहार उज्यालिएको थियो, ‘अप्रेसन हुने दिन नजिकिँदै गर्दा एउटा डर भने थियो, यदि अप्रेसन सफल भएन भने? ड्याडीको ज्यान अलि बढी खतरामा भए पनि मेरो अप्रेसन पनि उत्तिकै जोखिमपूर्ण थियो। अप्रेसन सकेर होस आएपछि ड्याडीलाई भेट्दा म कम्ति खुसी भएको थिइनँ। किनकि, मेरो कलेजोले ड्याडीको आयु लम्बिएको थियो। एउटा सन्तान हुनुको कर्तव्य पूरा गरेको महसुस भएको थियो। ड्याडी बाँच्नुभयो, आधा बोझ कम भयो। अब ममीको बाँकी छ। ममीलाई पनि बचाउन पाए त पूरै बोझ कम हुन्थ्यो।’

दुःख बाजा बजाएर आउँदैन। सरिताको जीवनमा दुःखैदुःखका जन्ती भने एकसाथ आए।

पाँच वर्षअघि उनकी आमा र बाबु एकैचोटि थला परे। आमाबाबु एकैचोटी थला पर्दा चार छोरीमध्ये जेठीको बिहे भइसकेको थियो। कान्छी छोरी सानै थिइन्। माइली र साइँलीको थाप्लोमा एकैचोटि दुःख खप्टियो। केही समयपछि माइलीको पनि बिहे भयो। त्यसपछि त दुःख जति सबै साइँलीको थाप्लोमा ओइरियो।

करिब पाँच वर्षअघिको कुरा हो, सरिता १२ कक्षा पढ्थिन्। उनकी आमा मञ्जु महर्जनलाई एक्कासि पेट दुख्यो। मधुमेहको औषधि खाइरहेकी मञ्जुलाई अरु खासै रोग थिएनन्। पेट दुखेपछि अस्पताल लगियो। जाँच गराइयो। केही घन्टामै आमा ठिक भइन्। भर्ना नहुँदै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी हुँदै थियो। सरिता र उनकी दिदी औषधि किन्न गएका थिए। औषधी किनेर फर्किंदा आमा बेडमै बेहोस भइसकेकी रहिछन्। चिकित्सकहरु जाँच गर्दै थिए।

ठिक–ठाक भइसकेकी आमालाई त हर्टअट्याक भएछ। रगत जाँच, सिटीस्क्यान लगायत सबै जचाउँदा आमालाई मुटुको समस्या देखियो। त्यति मात्र होइन, उनको त दुवै मिर्गौला फेल भइसकेको रहेछ।

मिर्गौला, मुटु, क्यान्सर लगायत यस्ता रोग हुन्, जसको पूरै निदान पनि छैन, उपचारको प्रक्रिया छिटो पनि छैन। उपचारको लामो प्रक्रिया सुरु भयो। सरिता र उनकी माइली दिदी आमाको हेरविचारमा खटिए। महिनामा २० दिनजस्तो त अस्पतालकै बास हुन्थ्यो।

यता आमाको डायलासिस चल्दै थियो, उता बाबुलाई विस्तारै अनेक लक्षण देखिन थाल्यो। बाबु अत्यधिक मदिरापान गर्थे। रगतको वान्ता गर्न थाले। ज्वरो आयो। पेट सुन्नियो। बेला–बेला निमोनिया हुन थाल्यो। यस्ता विविध लक्षण देखिएपछि हीराकाजीलाई टिचिङ अस्पताल लगियो।

जचाउँदा पत्ता लाग्यो, उनको कलेजो त पूरै बिग्रिइसकेको रहेछ। रोग पत्ता लाग्नै महिनौं लागिसकेको थियो। त्यसमाथि टिचिङ अस्पतालमा बेड पाउने समस्याले उनी झन्झन् गल्दै थिए। हीराकाजी बेहोस भए। यस्तोखाले बेहोस, आँखा हेरिरहेका हुन्थे, तर शरीरको कुनै अंगले राम्रोसँग काम गरेका हुँदैनथे। छोएको पनि चाल नपाउने, बोलेको नसुन्ने। बोलिराखेको मान्छे एक्कासि बोल्नै छाड्थे।

अस्पताल लगियो। उपचार सुरु भयो। डाक्टरले भने, ‘कलेजो फेर्नुपर्छ।’ डाक्टरले कलेजो प्रत्यारोपण गराए मात्र बाँच्ने बताए।

‘कलेजो नै फेर्नुपर्ने?,’ परिवारमा एकपछि अर्को थला पर्दै जाँदा दिनदिनै कमजोर बनिरहेकी सरिता र उनकी दिदीको होस उड्यो। तै पनि सम्हालिएर सोधे, ‘कहाँ, के कति?’

कलेजो प्रत्यारोपण नेपालमा सम्भव थिएन। त्यो प्रविधि नेपाल नभित्रिएको बेलाको कुरा हो यो। कलेजो प्रत्यारोपणका लागि भारत जानुपर्थ्यो। कलेजो दिने मान्छे पनि त चाहियो! खर्च लाग्थ्यो, अनुमानित एकदेखि डेढ करोड। त्यति पैसा कहाँबाट ल्याउनु?

उनीहरु अन्यौलको समय गुजार्न थाले।

यसबीच हीराकाजी चारपटकसम्म बेहोस भए। उनको स्वास्थ्य दिनप्रतिदिन खराब हुँदै थियो। डाक्टरले ठ्याक्कै यति समय भनेर नभने पनि कलेजो प्रत्यारोपण नगरे उनको चाँडै मृत्यु हुनेवाला थियो। सरिताको परिवारसँग उपचार खर्चको अभावमा बाबुको मृत्यु टुलुटुलु हेर्नुको विकल्प थिएन।

‘मेरो दिमागमा त्यतिबेला ड्याडीको मृत्युभन्दा अरु केही आउँथेन,’ सरिताले उतिबेला आफ्नो मनस्थिति सम्झिइन्, ‘ड्याडीको जुनसुकै बेला पनि सास फुस्किन सक्थ्यो। म सोच्थेँ, कोही त आओस् मेरो ड्याडीलाई बचाउन। म एउटा जादुगरको कल्पना गर्थें, जसले एक मेरो ड्याडीलाई छोएको भरमा ठिक पारिदिन्थ्यो।’

यी त फगत काल्पनिक दुनियाँका कुरा हुन्। यथार्थमा त्यसो हुन्थ्यो त, किन चाहिन्थ्यो अस्पताल! सरिताको यो कल्पनाको अर्थ भने पक्कै हुन्थ्यो– सहयोग खोजिरहेको।

तर, आश्वासन दिनेहरुको भीडबाट कोही निस्केन। दुई–चार जनाले हरबखत सहयोग गरे, जसले कुनै आश्वासन दिएको थिएन।

निदान अस्पतालमा सरिताको आमाको डायलासिस हुँदै थियो। आमाको उपचार गराउने क्रममा कलेजो रोग विशेषज्ञ डा. दीपेश गुरुवाचार्यसँग उनको चिनजान थियो। डा. बज्राचार्य सरिताको परिवारमा बज्रिएका सबै दुःखका जानकार थिए।

एकदिन उनले सरितासँग भने, ‘नेपालमा पनि कलेजो प्रत्यारोपण सुरु हुँदैछ। सुरुका तीन जनाको निःशुल्क प्रत्यारोपण हुन्छ। आफ्नो ड्याडीलाई बचाउने यो नै सबैभन्दा राम्रो अवसर हो।’

सरिताले मानवअंग प्रत्यारोपण केन्द्रमा सम्पर्क गरिन्। उनका बाबुको नाम दोस्रो नम्बरमा पर्यो। पहिलो प्रत्यारोपण– एक दिदीले भाइलाई आफ्नो कलेजो दिएकी थिइन्।

निःशुल्क भनिए पनि उपचार खर्च २० देखि २५ लाख लाग्थ्यो। आमाबाबुको उपचारका लागि यति त पहिल्यै खर्च भइसकेको थियो। तै पनि डेढ करोडभन्दा त यति रकम निकै कम हो। उपचारका लागि सरिताले सतुंगलमा रहेको जग्गा बेचिन्।

खर्च त भरथेग भयो, तर कलेजो दिने कसले?

परिवारका सदस्यमध्ये सरिता र उनकी माइली दिदीको मात्र बाबुसँग ब्लड ग्रुप मिल्थ्यो। सरिताकी माइली दिदी बिहेपछि वैदेशिक रोजगारीका लागि कतार पुगिसकेकी थिइन्। सरिताले मन नडुलाई निर्णय गरिन्, ‘ड्याडीलाई मै दिन्छु कलेजो।’

सम्बन्धित चिकित्सकलाई आफ्नो निर्णय सुनाइन्। चिकित्सक सकारात्मक भए।

जब यो कुरा बाबुआमालाई सुनाइन्, कुनै हालतमा मञ्जुरी दिएनन्। बाबुआमालाई एउटै कुराको डर थियो– छोरीको बिहे भएन भने?

अनि, सरिताको यो कथामा जोडिन्छन्, सन्तोष महर्जन।

यतिबेलासम्म सरिता र सन्तोषको प्रेम चल्न थालेको झन्डै ६ वर्ष बितिसकेको थियो। सरिताले आफ्नो बाबुलाई कलेजो दिने निर्णय लिनेबित्तिकै प्रेमीलाई पनि खबर सुनाएकी थिइन्। सन्तोषले सरितालाई तत्कालै स्याब्बासी दिए।

बाबुआमालाई सरिता र सन्तोषको प्रेमसम्बन्ध थाहा भए पनि कलेजो दिएपछि नस्वीकार्ने हो कि भन्ने डर थियो।

सन्तोषले सरिताका बाबुआमालाई भेटेरै भने, कुनै पीर नमान्नुहोला। सरिताले जुन निर्णय लिएकी छन्, त्यसमा मेरो सहयोग हुनेछ।

सरिताका बाबुआमाले झट्टै विश्वास भने गरिहालेनन्। अस्पतालमा रातदिन नभनी खटेका सन्तोषलाई सरिताका बाबुआमाको मन जित्न समय लागेन।

सरिता र सन्तोषले मिलेर कुपण्डोलमा बुटिक पनि खोलेका थिए। उपचारकै निम्ति दुवैले बुटिक बन्द गरे। त्यसपछि सन्तोष पनि पूरै समय सरिताका बाबुआमाको उपचारका लागि खटिए। रात होस् कि दिन, जहाँ जानुपरे पनि हलुका सन्तोषको व्यवहार देखेपछि सरिताका बाबुआमाको मन पग्लियो। अन्ततः बाबुले छोरीको कलेजो लिने बताए।

यो निर्णयले सरिता र सन्तोष निकै खुसी भए। ‘तेरो बिहे हुँदैन’ भनेर कुरा काट्ने त अरु पनि थिए। तर, बाबुआमाको मञ्जुरी पाएपछि ती सबै फिक्का भइहाले।

ब्लड ग्रुप मिले पनि कलेजो दिन मिल्छ भन्ने छैन। करिब चार महिना कलेजो प्रत्यारोपणको प्रक्रिया चल्यो। पूरै समय सन्तोषले सरितालाई साथ दिए।

परिवारका सदस्यबाहेक सन्तोष उपचारका लागि सरितालाई सघाउने नजिकका साथी मात्र थिएनन्, यो पाँच वर्षमा उनको दुःखका आधा हिस्सेदार समेत बने। कयौं दिन सरिताले आफ्नो दुःख सन्तोषसँग बाँडेकी छन्। सँगै रोएकी छन्। सरिताका लागि यो पाँच वर्ष यस्तो समय थियो, उपचारका क्रममा डाक्टरले भनेका कतिपय कुरा अति विश्वासिलो व्यक्तिलाई समेत सुनाउन मिल्दैनथ्यो। आमाको कुरा बाबुलाई सुनाउन नमिल्ने, बाबुको कुरा आमालाई सुनाउन नमिल्ने खालका हुन्थे। कति कुरा उनी दिदीहरुलाई पनि सुनाउँथिनन्। पढ्दै गरेकी बहिनीलाई त उनले थोरै कुरा मात्र बताएकी थिइन्। यी सबै तनाव सरिताको दिमागमा थुप्रिन्थे।

दुःख बाँडे आधा भनिन्छ तर, कति दुःख बाँड्नै नमिल्ने खालका हुन्थे।

यस्तो बेला सन्तोष एक मात्र व्यक्ति थिए, जसलाई सरिताले सबै कुरा सुनाउन सक्थिन्। सन्तोष फुल्याउँथे। दुःख बाँडेपछि सरितालाई दिमाग हलुका भएको महसुस हुन्थ्यो। कहिलेकाहीँ सरिताको अप्रेसनलाई लिएर सन्तोष आफैं डराउँदा सरिताले सम्हाल्थिन्।

‘सन्तोषको ठाउँमा अरु भएको भए मैले ड्याडीलाई कलेजो त दिन्थेँ नै, तर यतिबेला कलेजो दिएर ड्याडीको आयु लम्बिएको खुसी साट्ने मान्छेचाहिँ हुन्थेन होला,’ सरिताले भनिन्, ‘मैले सन्तोषसँग यो पाँच वर्षमा दुःखका कुरा मात्र हैन, खुसी पनि साट्न पाएँ।’

अहिले सरिता बाबुसँगै भक्तपुरस्थित डेरामा आराम गरिरहेकी छन्। तीन महिना आराम गरेपछि उनी पूरै ठिक हुन्छिन्। बाबुको शरीरले नयाँ कलेजोलाई झट्टै नस्वीकार्ने डर पनि उत्तिकै छ। बाबुलाई संक्रमणको उच्च जोखिम पनि उत्तिकै छ। तर पनि उनी खुसी नै छिन्। बाबुलाई आफ्नो कलेजो दिन पाएकोमा।

‘खुसी यो कुरामा पनि छ, मैले लड्न सिकेँ,’ सरिता भन्छिन्, ‘यो पाँच वर्षमा मैले मान्छे चिनेँ। सहयोग गर्छु भन्ने तर दुःख पर्दा तर्किनेहरु देखेँ। सहयोग गर्छु नभन्ने तर रातदिन खटिनेहरु पनि देखेँ। कुनै दिन सोचेको थिएँ, सिए बन्छु। तर, सोचेको पूरा हुनैपर्छ भन्ने रै’नछ। घुम्न मन पराउने केटी थिएँ, अस्पतालमा घेरिएरै समय बित्यो। मलाई यी सबै कुरामा दुःख छैन। गर्न नपाएकोमा दुःख मान्ने हैन, गर्न सकेकोमा गर्व गर्नुपर्ने रहेछ। मैले मेरो सपना गुमाएँ हुँला, तर मैले कल्पनै नगरेको उपलब्धि पाएँ। मैले मेरो ड्याडीलाई कलेजो दिन सकेँ।’

अहिले भक्तपुरस्थित डेरामा सरितालाई भेट्नेको घुइँचो लाग्छ। उनी धेरैको धन्यवादको पात्र भएकी छन्। यसले उनलाई खुसी दिन्छ। कलेजो नफेरेको भए डाक्टरले दिएको समयअनुसार उनका बाबु अब मुस्किलले दुई महिना बाँच्थे। अहिले सरिता र उनका बाबु वल्लो–पल्लो खाटमा बसेर बात मार्छन्। उनका दिदी–बहिनी पनि सँगै छन्।

रगतको नाताभन्दा भावनाको नाता बलियो हुन्छन् भन्ने मान्यता उनको यो कथामा पनि भेटिन्छ। सरिताले टीका लगाउने दाइहरुले यसबीच निकै सहयोग गरे। उनीहरु पनि बेला–बेला भेट्न आइरहन्छन्। यो पाँच वर्षमा उनको दुःखको आधा हिस्सेदार अर्थात् प्रेमी सन्तोष महर्जन पनि उनको साथमै छन्।

मात्र छैनन्, आमा।

पहिले उपचार गर्दा आमालाई साइँली छोरी नभइ हुन्नथ्यो। सरिता एक रात कतै बास बस्न जाँदा पीर मानिहाल्थिन्। अहिले एक साता भयो, दुवै आमाछोरीले एकअर्कासँग भेट्न नपाएको।

बाबु र आमा दुवैको स्वास्थ्यस्थिति नाजुक भएकाले भेट्न त के नजिक रहेर देखादेख गर्न पनि हुन्न। एउटाको कारण अर्कोलाई संक्रमण भइहाल्दो रहेछ। उनकी आमा श्रीमानलाई अस्पतालमा भेट्न आएकी के थिइन्, अस्पताल भर्ना नै गर्नुपरेछ। तर, यो कुरा उनले बाबुलाई सुनाएकी छैनन्।

‘अझ पनि ड्याडी र ममीका कति कुरा एक–अर्कालाई सुनाउन हुन्न,’ सरिता भन्छिन्, ‘औषधिले उहाँहरुको शरीर मात्र गालेको छैन, अलिकति दुःख पनि खप्न नसक्ने गरी मन पनि थिलथिलो भएको छ।’

सरितालाई चिन्ता भेट्न नपाउँदाको होइन, आमाको मिर्गौला फेर्नेमा छ।

‘ममीको मिर्गौला फेरेपछि ड्याडी र ममी सँगै बसेर गफ गरेको देख्न मन छ,’ सरिताले भनिन्।

तस्बिरहरु: नारायण महर्जन/सेतोपाटी

 

यो पनि पढ्नुहोस् ।

मैले पनि बुवालाई आफ्नो कलेजो दिन पाएको भए

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.