पर्याप्त सम्पत्ति भएर पनि मत्स्येन्द्रनाथको जात्रा सञ्चालन गर्न खर्च अपर्याप्त

पर्याप्त सम्पत्ति भएर पनि मत्स्येन्द्रनाथको जात्रा सञ्चालन गर्न खर्च अपर्याप्त


रातो मत्स्येन्द्रनाथको नाममा उपत्यकाका धेरै स्थानमा जग्गा भए पनि जात्रा सञ्चालनका लागि आय पर्याप्त छैन।

मत्स्येन्द्रनाथको नाममा भएका जग्गा कमाउने मोहीले बुझाउने कुत वा त्यस बराबरको रकम कम हुँदा जात्रा सञ्चालनका लागि खर्च पर्याप्त नभएको हो। आम्दानीले जम्मा खर्चको ३० देखि ३५ प्रतिशत मात्रै पुग्ने गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रमुख वैकुण्ठ आचार्यले बताए। उनले भने – “जात्रा सञ्चालनका लागि हुने खर्च वर्षेनी बढिरहे पनि कुत भने बढेको छैन।”

भूमिसुधार ऐनअन्तर्गत मोहीले कमाएका जग्गामा लामो धेरै कुत निर्धारण गरिएपनि त्यसयता परिवर्तन हुन नसकेकाले आम्दानी बढाउनका लागि नीतिगत निर्णय हुनुपर्ने कार्यलय प्रमुख आचार्य बताउछन्। भन्छन्– “हामीले व्यवस्थापन गर्न नसकेकै कारण मत्स्येन्द्रनाथको धेरै सम्पत्ति भएर पनि त्यसअनुसार आम्दानी गर्न नसकिएको हो।”

मत्स्येन्द्रनाथको नाममा छम्पी, चापागाउँ, झरुवाराशी, बुङ्मती, खोकना, इमाडोल, लुभू लामाटारलगायतका स्थानमा जग्गा छ । ६०१ रोपनी जग्गा रैतानी (व्यक्तिको नाममा पास) भएको थियो। विसं २०६४ मा सार्वजनिक गुठीको जग्गा रैतानी गर्न नपाउने सरकारको निर्णयपछि भने रैतानी हुन सकेको छैन।

मत्स्येन्द्रनाथको जात्रामा हुने खर्च भने वर्षेनी बढिरहेको छ। यस वर्ष जात्रामा झण्डै रु ६० लाख खर्च भएको थियो। अन्य पर्व तथा पूजामा झण्डै २० लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। अघिल्लो वर्ष बाह्रवर्षे जात्रा सञ्चालन गर्दा  एक करोड ३५ लाख रुपैयाँ खर्च भएको थियो। उनले भने– “केही वर्षदेखिको जात्रा सञ्चालनमा भएको खर्च बढ्दो छ ।”

मत्स्येन्द्रनाथको जात्रा सञ्चालन विभिन्न थरका व्यक्ति सहभागी हुने गरेका छन्।पूजा गर्ने, काठ काट्ने, ल्याउने, रथ र खट बनाउने, रथ तान्नेलगायतका कामका लागि छुट्टाछुट्टै समूहको सहभागिता रहन्छ। यी सबै कामका लागि पहिले ज्यालाबापत जग्गा दिइन्थ्यो तर अहिले कतिपयले जगा विक्री गरिसकेको र कतिपयको जग्गा पनि पर्याप्त नहुँदा कार्यालयले रकममै ज्याला दिएर काम गराइरहेको छ।

ज्योतिष दैवज्ञ कीर्तिमर्दन जोशीले गुठीको जग्गा कमाएका किसान वा पसल कवल चलाएका व्यापारीले भाडा, कुत बुझाउन गाह्रो मान्दा गुठी सञ्चालनका लागि आय पर्याप्त नभएको बताउछन्। मलाई याद हुँदासम्म एक वर्षमा जम्मा एक मोहोर आम्दानी भएको स्मरण गर्दै उनी भन्छन् – “त्यतिबेला त्यही पनि ठूलो रकम हो र जात्रा चलाउन पनि पुग्थ्यो।” विसं २०५२ मा आफूहरुले ३५६ रोपनी जग्गाको लगत दिएका थियौँ अब तालुकदार निकाय गुठी संस्थानले नै कडीकडाउ गरेर कुत उठाउनुपर्छ। रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.