पोखरामा बोलबम, शिव मन्दिरहरुमा भक्तजनहरुको भीड


साउनको पहिलो सोमबार,पोखराका केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यबासीनी मन्दिर र अन्य शिव मन्दिरहरुमा शिवको पूजा आराधना र जल चढाउने भक्तजनहको ठूलो मात्रामा भीड लागेको छ । पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिई भक्तजनहरु शिवलिङ्गमा जल चढाउन बिहानैदेखि लाइनमा बसेका हुन् ।

यसका साथै, केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखराले आयोजना गरेको बोलबम शिवपथ जलयात्रामा पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको छ । ‘बोलबमको ध्वनिले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ शुरू गरिएको बोलबम यात्रा गाईघाटबाट शुरू भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोक हुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगेको हो ।

गेरुबस्त्र धारण गरेका र्यालीका सहभागीहरुले भगवान शिवको महिमा सम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरेका छन् । गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रा सहित वैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पणसँगै पूजा गर्ने गर्दछन् । साउनको महीनालाई भगवान शिवको महिमा मानिने हुँदा भक्तजनहरु उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिङ्गमा चढाउने गर्दछन् । यसो गर्दा, मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.