नालामा डुबेकी बालिका भन्छिन्- म पो भाग्यले बाँचें, अरु सबै त कसरी बाँच्लान्

सत्या सापकोटा शुक्रबार स्कुलबाट फर्कंदा आफू खसेको नाली हेर्दै। तस्बिर: अनिश रेग्मी/सेतोपाटी


सत्या सापकोटा शुक्रबार साँझ अरु दिनझैं स्कुलबाट घर फर्किँदै थिइन्।

काठमाडौं–२६, रानीबारीमा अंकल-आन्टीसँग भाडामा बस्ने उनी नक्सालको बृहस्पति विद्या सदनमा ९ कक्षा पढ्छिन्। उनले स्कुल बस चढ्न सामाखुसी चोक जाने-आउने गरेको ६ वर्ष भइसक्यो।

‘त्यो दिन पानी परिरहेको थियो, स्पोर्टस् डे भएकाले मैले हातमा किताब बोकेकी थिइनँ,’ सत्याले आइतबार सेतोपाटीसँग भनिन्, ‘नचिनेको ठाउँ पनि होइन, तर जताततै पानी भरिएकाले कता सडक हो कता नाला भन्ने छुट्याउन सकिनँ। नाला छल्छु भनेर माथिबाट जाँदा खुत्रुक्कै डुबेँ।’

उनी नालामा डुबेपछि सडकको मुनि बिछ्याइएको पाइपभित्र पसिन्। करिब ८ मिटर लामो त्यो पाइप छिचोल्दै फेरि नालामा बग्न थालिन्।

त्यतिबेला बेला कसैले उनलाई नालाबाट निकालेर बाहिर तान्यो। ‘नालामा परेपछि मलाई अब मर्छु भन्ने लागेको थियो, एकछिन बाहिर आएको देखेर सपनाबाट निस्केजस्तो भयो,’ सत्याले भनिन्, ‘चोटपटक लागेको थिएन, ब्याग जुत्ता पनि केही भएको थिएन, वरिपरि मान्छे मात्र जम्मा भएका थिए।’

सबै जनाले उनलाई घेरेपछि उनी आफैं घर जान तयार भइन्। लामो समय त्यही ठाउँमा बस्दै आएकी उनलाई चिनेकी दिदीले कोठासम्म पुर्याइदिइन्।

यता कोठामा उनकी आन्टी सीता सापकोटा सधैं चार बजे घर आइपुग्ने भतिजी ४.३५ भइसक्दा पनि किन आइन भनेर स्कुलमा सोध्न लागेकी थिइन्। ‘जाम परेर ढिला भयो कि भन्ने सोचेर स्कुलमा फोन गर्न क्यालेन्डरमा नम्बर हेर्दै थिएँ, ऊ त पूरै भिजेर आई,’ सीताले भनिन्।

आन्टीले उनलाई नुवाइधुवाई गरिदिइन्। शरीरमा चोटपटक थिएन। डुब्दा पनि पानी नखाएकाले उनी सामान्य थिइन्।

गुल्मी स्थायी घर भएका सत्याका बुवाआमा र भाइ जापान बस्छन्। आमाबुवासँग हरेक दिन फोनमा कुरा भइरहन्छ। त्यो दिन पनि सत्यालाई नुहाउने बेला उताबाट आमाको फोन मिस्ड कल भइसकेको थियो। एकछिनमा उनीहरुले फोनमा कुराकानी गरे। आन्टीले भनिन्, ‘नानी आज एकछिन पानीमा डुबिछन्। अहिले सबै ठीकै छ।’

यता ठमेलमा रेस्टुरेन्ट चलाउने अंकल दीपेन्द्रले पनि भतिजी डुबेको फोनमै सुने र सामान्य रूपमा लिए।

उता जापानमा सत्याका बाबामा घर आउँदा सानो भाइले भनेछ– दिदी चढेको बस त पानीमा डुब्यो रे।

उनले आँत्तिदै फोन गरे। सत्याले आफूलाई सबै ठीकै भएको बताइन्। त्यसको केही समय नबित्दै सामाजिक सञ्जालमा सत्या डुबेको भिडियो भाइरल भयो। त्यो उनका बुवाले पनि हेरेछन्। त्यसपछि त फोनको घन्टी तारन्तार बज्न थाल्यो। डरलाग्दो भिडियो हेरेपछि भर्खरै कुरा गरेकी छोरीले पनि साँचो बोलिन कि भन्ने परेछ। ‘भिडियो कल गरेर ऊ सबै ठीक छ भन्दा पनि विश्वास मान्नुभएन,’ सीताले भनिन्, ‘हामी आफैंले पनि भिडियो हेर्दा आङ सिरिङ भयो।’

सत्यालाई भने सुरुमा आफ्नै भिडियो हेरेर हाँसो उठेछ। ‘पछिपछि सम्झेर डर लाग्न थाल्यो। लकी भएकाले बाँचेछु नत्र त मर्ने रैछु भन्ने सोचेँ,’ उनले भनिन्।

आइतबार दिउँसो सत्या आफू फसेको नाला हेर्न गइन्। चक्रपथ विस्तार भइरहेको त्यो ठाउँमा दुवैतिर बीच सडकमा ठूलो नाला छ। नजिकै जेब्रा क्रस छ। नालाकै छेऊ बस रोकिन्छ। स्कुल बस मात्र होइन, अरु बसले पनि त्यही नालाको छेउमा यात्रु चढाउने र ओराल्ने गर्छन्। पानी जमेको बेला भने नाला र सडक केही देखिँदैन।

निस्केको ठाउँनेर पुगेपछि सत्याले भनिन्, ‘यहीँनेर एक जना निलो जिन्स लगाएको दाइले मलाई तान्नुभएको हो।’

सामाखुसी चोकमा मात्र होइन, काठमाडौंका सडकभरि नै जताततै यस्ता खाल्डाखुल्डी नाला छन्। त्यस्तैमा बगेर एक जना बालिकाको ज्यान गएको उनले हिजो मात्र समाचार सुनिन्। त्यसपछि उनलाई आफू डुबेको घटना सम्झेर झन् डर लाग्यो। ‘कतै राम्रो छैन। यस्ता घटना त दिनदिनै कति भइरहेका हुन्छन्,’ सत्याले भनिन्, ‘म डुबेको पो कसैले भिडियो बनाइदिएको रैछ र सबैले थाहा पाए। भिडियो नभएको भए त म घर आउँथे अनि सकिन्थ्यो।’

सत्यालाई बाटो जताततै नराम्रो बनाउन सरकारको गल्ती हो भन्ने लाग्छ। त्यही गल्तीले साना बालबालिका डुबेर मर्नु परेको उनी बताउँछिन्।

सत्या नालामा परेकै दिन काठमाडौं महानगरपालिकाको नगरसभा थियो। उक्त नगरसभामा मोनोरेलको सम्भाव्यतादेखि स्मार्ट शौलाचयका योजना समेटेर १० अर्ब ७९ करोडको बजेट प्रस्तुत भयो। बजेट पारित नहुँदै सत्या महानगरभित्रकै नालामा परेर संयोगले बाँचेर निस्किएकी थिइन्।

‘मेरो भिडियो हेरेर उहाँहरुले केही कुरा त थाहा पाउनुभयो होला,’ पत्रकार बन्ने लक्ष्य राखेकी सत्याले भनिन्, ‘तर म उहाँहरुलाई भेटेर अनुभव सुनाउन चाहन्छु ताकि उहाँहरुलाई अब यस्तो गल्ती नगर्ने गरी काम गर्ने सोच आवोस्। म पो भाग्यले बाँचे अरु सबै कसरी बाँच्लान् र?’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.