स्वयम्भूनाथ मन्दिरलाई प्लाष्टिकमुक्त क्षेत्र बनाउन यसरी लागी परे अानीहरु (तस्वीर सहित)


काठमाडौं महानगरपालिका वडा नं १५, मा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ मन्दिर क्षेत्रलाई अगामि ६ महिना भित्र प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने मुख्य उदेश्यका साथ स्वयम्भूनाथ मन्दिर क्षेत्रको सरसफाई अभियानमा नागर्जुना नगरपालिका–८, रामकोट, डाँडागाउँमा रहेको ढ्रुक अमिताभ माउन्टेन सेतो गुम्बाका आनी (भिक्षुणी)हरु शनिबारबाट जुटेका छन्।

प्लास्टिकजन्य वस्तुहरु र अन्य फोहोर मैलाहरुले स्तुपा क्षेत्र दिन दिनै कुरुप बन्दै गएकाले पर्यावरण संरक्षण गर्न र मन्दिर क्षेत्रलाई स्वच्छ र सफा वातवरणमा राख्नको लागि यो अभियान सञ्चालन गरेको सरसफाई अभियानको संयोजक आनी तेन्जिङले बताईन्।

यसैगरी आनीहरुको टोलीले हरेक महिनाको दोस्रो र अन्तिम शनिबार स्वयम्भूनाथ स्तुपा क्षेत्रको सरसफाई गरिने र ठाँउ-ठाँउ आवश्यकता अनुसार डस्टबिनहरु राख्ने, सन्देश मुलक सूचना पाटीहरु राख्ने जानकारी दिईन्।

साथै स्तुपा क्षेत्रलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सफल बनाउन सरोकारवाला निकाय र अन्य सर्वसाधरणहरुलाई पनि सहयोग गरि दिनु हुन उनले अनुरोध गरेकी छन्। यस सरसफाई अभियानमा १ सय ५० आनी (भिक्षुणी)हरुको सहभागीता रहेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.