वर्षाले इलामका ग्रामीण सडक अवरुद्ध


लगातारको अबिरल वर्षासँगै इलामका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन्।

वर्षाले सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा पहिरो जाँदा सडक अवरूद्ध बनेका हुन्। जिल्लामा खनिएका सयौँ ग्रामीण सडक हिलाम्मे भएपछि यातायात सञ्चालनमा कठिनाई भइ जनजीवन प्रभावित भएको छ।

ग्रामीण सडकमा यातायातका सवारीसाधन चलाउन समस्या भएको र सवारीसाधन बिग्रिएर सडकमै रोकिने गरेकाले हैरान भएको यातायात व्यवसायीले बताएका छन्। जिल्लाका अधिकाश गाउँबाट सदरमुकाम जोड्ने सडक यतिखेर केही दिनदेखिको लगातारको वर्षाले हिलाम्मे बन्नुका साथै यातायात सञ्चालनमा अत्यन्तै कठिन बनेको छ।

नामसालिङ–इलाम, नामसालिङ– फिक्कल, नयाँबजार–इलाम, नयाँबजार–फिक्कल, माबु– माइमझुवा–जमुना– सुलुबुङ– इलाम खण्डका साथै इभाङ–मङ्गलबारे, शान्तिडाँडा– मङ्गलबारे– इलाम सडक खण्डलगायतका अधिकांश ग्रामीण सडक हिलाम्मे भएपछि यातायात सञ्चालन र यात्रु आवातजावतमा समस्या भएको हो।

आकाशबाट परेको पानी सडकमा जमेर सवारीसाधनको आवतजावतका कारण सडक हिलाम्मे हुने गरेको र यहाँबाट सार्वजनिक सवारीसाधन पार गर्न र गाउँमा खाद्यान्न लैजानसमेत कठिन भएको यातायात व्यवसायी पेम्वा शेर्पाले बताए।

वर्षाका कारण सडकको ठाउँठाउँमा ठूल्ठूला खाल्डो परेकाले गाउँमा सञ्चालित एम्बुलेन्स सेवासमेत प्रभावित बनेको छ। ग्रामीण सडक तत्काल मर्मतसम्भार नभएमा सार्वजनिक सवारी साधन बन्दै गर्नुपर्ने अवस्था आउने यातायात व्यवसायी तथा मजदुर बताउँछन्। रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.